सूचनाको शक्ति - The Power Of Information

        

आज विश्व औलो दिवस

तराईबाट पहाड र हिमाल चढ्दै औलो, निवारण चुनौतीपूर्ण

‘फाल्सिफारम’ र ‘भाइभेक्स’ औलो धेरै देखिने गरेको छ । फाल्सिफारम बढी घातक मानिन्छ ।

‘शून्य औलो अबको थालनी : नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् ।

नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धता अनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने अतिमहत्वकांक्षी लक्ष्य लिएको छ । सो लक्ष्य अनुसार औलो निवारण गर्न नेपालसँग मात्र तीन वर्षको समयसीमा बाँकी छ । यसमा पनि स्थानीय औलोका बिरामी र औलोबाट हुने मृत्युलाई शून्यमा झार्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्ष्य निर्धारण गरेको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, एनटीडी तथा किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहाल औलो रोग निवारण गर्न आयातित औलो चुनौतीका रूपमा रहेको बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय औलोको जोखिम तराईमा मात्र होइन, पहाड र हिमाली क्षेत्रमा समेत देखिएको छ । यसमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा बारम्बार औलोका बिरामी भेटिएका छन् ।’

उनका अनुसार आयातित औलो निवारण नै नेपालका लागि मुख्य चुनौती हो । यसबाहेक पनि औलोको परीक्षण नहुनु, भारतसँगको खुला सीमा र भौगोलिक विकटता औलो निवारणका चुनौती हुन् । उनले भने, ‘चुनौतीका बाबजुद यस वर्षदेखि लगातार तीन वर्ष स्थानीय औलोका बिरामीको संख्या शून्यमा झार्न लागिपरेका छौँ ।’

नेपालमा विगत १०० वर्षदेखि औलोको समस्या देखिँदै आएको जनाइएको छ । यस रोगका बिरामीमा पक्षघात र मष्तिस्काघातको जोखिम हुने गर्दछ । शाखा प्रमुख डा. दाहालका अनुसार सन् २०२२ मा औलोका ५१२ बिरामी भेटिएका थिए । तीमध्ये ४७६ बिरामी अन्य देशबाट औलो संक्रमित भएर आएका र बाँकी ३६ स्थानीय बिरामी रहेका थिए ।

सन् २०१५ सम्म हजारभन्दा माथि औलोबाट प्रभावित भएका थिए । सन् २०१६ मा औलोबाट तीनजनाको मृत्यु भएको थियो । सन् २०२१ सम्म एकजनाको मृत्यु भयो । औलोको धेरै बिरामी सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा भेटिँदै आएको शाखाको तथ्यांकमा उल्लेख छ । चिकित्सकका अनुसार औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो ।

औलो संक्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुन भन्छन्, ‘औलो सामान्य र कडा लक्षणसहितका हुन सक्छन् । औलो संक्रमण भएको सातदेखि ३० दिनसम्म औलोको लक्षण देखिन सक्छ ।’

उनका अनुसार सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने, वान्ता हुने लक्षण देखिन्छ । लक्षण देखिएका व्यक्तिले तत्काल स्वास्थ्य परीक्षण गराउन उनको सुझाव छ । उनका अनुसार ‘फाल्सिफारम’ र ‘भाइभेक्स’ औलो धेरै देखिने गरेको छ । फाल्सिफारम बढी घातक मानिन्छ । उनका अनुसार औलोका कारण गम्भीर स्वास्थ्य समस्या र बिरामीको मृत्युको जोखिमसमेत हुन्छ ।

डा. पुन भन्छन्, ‘औलो संक्रमितलाई जाडो, गर्मी र पसिना आउने तीन चरण देखिन्छ । औलो कडा हुँदै गएमा जन्डिस देखापर्छ, कलेजो सुनिन्ने, मिर्गौला र श्वासप्रश्वासमा समस्या देखिएर मृत्युसम्मको जोखिम हुन्छ ।’ फाल्सिफारमका लागि औलोविरुद्ध औषधिको प्रयोगबाट औलोको उपचार गरिन्छ । गर्मी र वर्षायाममा लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको सुझाव छ ।

स्रोत : रासस
प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार ०८:११