सूचनाको शक्ति - The Power Of Information

        

ठूला ठेकेदारलाई उन्मुक्ति, सांसदलाई भएन कारबाही


ठाकुरसिंह थारु । बाँके । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा स्थानीय प्रशासनले काम नगर्ने केही ठेकेदारलाई पक्राउ गरिरहेका बेला ठूला निर्माण कम्पनीका मालिकले भने उन्मुक्ति पाएका छन् । ठेक्का लिएको डेढ वर्षसम्म ५ प्रतिशत काम नगर्ने ठेकेदार पनि हालसम्म कारबाहीमा परेका छैनन् । बाँकेको नौबास्तामा खुला कारागार निर्माण र मुलुककै गौरव मानिएको सिक्टा सिँचाइ आयोजनाको डुडवा नहर ठेक्का पाएका कोस्टलरपप्पु जेभी कारबाहीको दायराबाहिर छन् ।
उक्त निर्माण कम्पनीका ठेकेदार हरिनारायणप्रसाद रौनियार पर्सा क्षेत्र नम्बर ३ बाट निर्वा्चित सांसद एवं संघीय समाजवादी फोरमका केन्द्रीय सदस्यसमेत हुन् । उनले नौबास्तामा खुला कारागार निर्माणका लागि भ्याटबाहेक ३९ करोड रुपैयाँमा ठेक्का लिएका थिए । त्यस्तै डुडवा नहर निर्माणका लागि ९८ करोड ८१ लाखमा ठेक्का सकार गरे । तर, कारागार निर्माणका लागि ठेक्का लिएको १७ महिनासम्म ५ प्रतिशत पनि काम भएको छैन । सहरी विकास तथा भवन डिभिजन कार्यालयले उक्त ठेक्का दिएको हो ।
ठेकेदारले बैंक ग्यारेन्टी राखे बराबरको २० प्रतिशत अर्थात् ७ करोड रुपैयाँ काम सुरु गर्न पहिलो किस्ता बुझिसकेका छन् । डिभिजन कार्यालयका इन्जिनियर होमनाथ भुसालले १७ महिनामा निकै कम प्रतिशत काम भएको बताए । ‘कामको प्रगति बढाउन पटक–पटक पत्राचार गरिरहेका छौं । तर, गति लिएको छैन,’ उनले भने, ‘कहिले सिमेन्ट नभएको कहिले के नभएको भन्दै ठेकेदारले ढिलाइ गरिरहेका छन् ।’ ठेक्काको अवधि अझै १७ महिना बाँकी रहेका कारण कारबाही गर्न समस्या भइरहेको उनले बताए ।
स्थानीय प्रशासनले काम नगर्ने ठेकेदारको सूची तयार गरिरहँदा पप्पुले भने काम भइरहेजस्तो देखाउन चार जना कामदार खटाएका छन् । ‘दुईरचार जनाले त्यत्रो संरचना बन्नै सक्दैन । ठेकेदारले कुनै उपकरण नै राखेको देखिएको छैन,’ भुसाल भन्छन्, ‘यो गतिले काम हुने हो भने तोकिएको समयभित्र सकिँदैन ।’ पाँच प्रतिशत पनि काम नगरेको उक्त कम्पनीले हालै ६० लाख बराबरको काम भएको बिल डिभिजन कार्यालयमा पेस गरेको छ । त्यस्तै सिक्टाको डुडवा नहर प्रणाली निर्माणको ठेक्का दिएको २८ महिनामा पाँच प्रतिशत मात्रै काम भएको छ ।
लक्ष्यअनुसार काम नभएको भन्दै आयोजनाका कर्मचारीले पटक–पटक चेतावनी दिँदै आएका छन् । ठेकेदारले भने बेवास्ता गर्दै आएका छन् । आयोजनाले ०७४ पुस ३० गते सिँचाइ विभागलाई पत्राचार गरी काम नगर्नेलाई के गर्ने भनेर सुझाव मागेको थियो । विभागले त्यसबारे कुनै प्रतिक्रिया नजनाउँदा ठेकेदार कम्पनीलाई बल पुगेको छ । सिक्टा सिँचाइका इन्जिनियर प्रकाश कार्कीले लक्ष्यअनुसार काम नभएको स्वीकारे । उनले अझै पनि निर्माणको समय केही बाँकी रहेकाले कारबाही गर्न समस्या भएको बताए । ‘हामीले आयोजनाको प्रगति हेरिरहेका छौं । तर, लक्ष्यअनुसारको हुन सकेको छैन,’ उनले भने ।
उनका अनुसार यही गतिले काम हुने हो भने निर्माण सक्नुपर्ने अवधिसम्म १० प्रतिशत पनि पूरा हुन समस्या देखिएको छ । निर्माण कम्पनीको काम पनि नगर्ने र समयावधि भने सक्ने रणनीतिले डुडवाको नहर निर्माण पूरा हुन अझै थप दुई वर्ष लाग्ने अवस्था देखिएको छ । उक्त निर्माण कम्पनीले ३२.२ किलोमिटर नहर निर्माण तथा सिक्टाको मूल नहरलाई डुडवा शाखा नहरसँग जोड्ने संरचना निर्माणलगायत काम गर्न ९८ करोड ८१ लाखमा १९ डिसेम्बर २०१८ सम्म काम सक्ने गरी ठेक्का लिएको थियो । उक्त संरचना निर्माणपछि त्यस क्षेत्रको १६ हजार हेक्टर जमिन सिञ्चित हुने विश्वास गरिएको छ ।
०७३ जेठदेखि निर्माण सुरु गरी ०७५ पुुस ४ सम्म सक्ने सम्झौता थियो तर निर्माण पूरा गर्ने अवधिको करिब ७५ प्रतिशत समय सकिए पनि ५ प्रतिशत मात्रै काम गरेर रोकेका कारण आयोजनाको काम अपलत्र छ । निर्माण कम्पनीले समयमै काम नगरेका कारण मूल नहर निर्माण भए पनि त्यस क्षेत्रका जनता सिँचाइ सुविधाबाट वञ्चित छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले समयमै काम नगर्ने दुई ठेकेदारलाई पक्राउ गरिसकेको र अन्यको सूची तयार गरिएको बताए । निर्माण कम्पनीका सुनित रौनियारलाई पटक–पटक फोन सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् । –कान्तिपुरबाट

प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार ०४:२३