एसीसी प्रिमियर कप क्रिकेटमा सोमबार नेपालले साउदी अरबियाको सामना गर्नेछ ।
यो खेल बिहान ९ बजे मुलपानी मैदानमा सुरु हुनेछ ।
जारी प्रतियोगितामा लगातार दुई खेल जितेको नेपाल तेस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले मलेसियालाई हराएको थियो भने दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो । यो खेल जितेको अवस्थामा नेपालको सेमिफाइनलमा स्थान पक्का हुनेछ ।
साउदी पनि नेपाललाई हराएर सेमिफाइनल सम्भावना बलियो बनाउने योजनामा छ । पहिलो खेलमा मलेसियासँग पराजित साउदीले दोस्रो खेलमा कतारलाई पराजित गरेको थियो ।
सोमबार नै टियु क्रिकेट मैदान किर्तीपुरमा बिहान नौ बजे हुने खेलमा हङकङले बहराइनको सामना गर्नेछ ।
प्रतियोगिताको तेस्रो खेल खेल्न लागेको हङकङ आफ्नो अपराजित यात्रा कायम राख्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गर्न चाहन्छ ।
बहराइन पनि तेस्रो खेलमा दोस्रो जित निकालेर सेमिफाइनल सम्भावना कायमै राख्न चाहन्छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ