सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

पहाडमा बर्षा, तराईमा हावाहुरी

दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । अपरान्हपछि देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका विभिन्न भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी र मधेस प्रदेशमा भने आज बिहान वर्षाको सम्भावना छैन ।

‘आज बिहान वर्षा नभए पनि कोसी र मधेस प्रदेशमा अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना छ,’ मौसमविद् गोविन्दकुमार झाले भने, ‘पश्चिमबाट पूर्वतर्फ मौसमी प्रणाली सरिरहेकाले अपराह्नपछि मधेस र कोसी प्रदेशमा पनि वर्षा हुनेछ ।’

काठमाडौं उपत्यकामा बिहानैबाट वर्षा भइरहे पनि केही समयपछि रोकिने तर पुनः वर्षा हुने सम्भावना छ । ‘केही समय वर्षा रोकिए पनि काठमााडौंमा साँझसम्म नै वर्षाको सम्भावना छ । केही समय रोकिने र केही समयमा वर्षा हुने क्रम चलिरहनेछ,’ मौसमविद् झाले भने ।

राती भने लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आजको तुलनामा भोलि मौसम केही खुल्ने मौसमविद् झाको भनाइ छ । उनले भने, ‘आजभन्दा भोलि मौसम केही खुल्नेछ । भोलिभन्दा बुधबार मौसम सफा हुने देखिन्छ । तर, प्रि–मनसुनको सिजन भएकाले तत्काल अर्को प्रणाली विकास भएर मौसममा पुनः बदलाव पनि आउन सक्छ ।’

अहिले भारतको मध्य प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणाली बनिरहेको छ । जसका कारण नेपालमा मौसममा बदली र वर्षा भइरहेको मौसमविद् झाको भनाइ छ । उनका अनुसार हिमाली तथा उच्च पहाडी क्षेत्रमा आज हिमपातको पनि सम्भावना रहेको छ ।

पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको र अपरान्हपछि तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखााले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ०७:१७