‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख तथा खालिस्तान समर्थक अमृतपाल सिंह पक्राउ परेका छन् । पञ्जाब पुलिसले आफ्नो ट्विटर ह्यान्डलमार्फत मार्च १८ देखि फरार रहेका सिंहलाई पञ्जाबाको मोगाबाट पक्राउ गरिएको जानकारी दिएको छ ।
प्रहरीले गत चैत १८ गतेदेखि अमृतपाल सिंहको खोजी गरिरहेको थियो । नेपालस्थित भारतीय दूतावासले उनी नेपालमा लुकेर बसेको दावी गरेको थियो । तर, नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो भने संघीय संसदमा समेत कुरा उठेको थियो ।
अमृतपाल सिंहविरुद्ध एनएसएसहित १६ मुद्दा दर्ता गरिएको छ । उनी र उनका सहयोगीविरुद्ध समाजमा दुस्मनी फैलाउने, ज्यान मार्ने उद्योग, प्रहरीमाथि हातपात र सरकारी कर्मचारीको काममा अवरोध गरेको आरोप लागेको छ ।
फरार हुँदा अमृतपाल सिंहको भेषमा कथित रूपमा धेरै शहरहरूमा घुम्ने तस्विर र भिडियोहरू मिडियामार्फत बाहिर आएका थिए । पञ्जाब प्रहरीले ट्वीट गरेर यसको जानकारी दिएको हो । सुरुमा प्रहरीले अमृतपाल सिंहले मोगा पुलिससँग आत्मसर्मपण गरेको जनाए पनि पछि भने गिरफ्तार गरिएको जनाएको थियो ।
पक्राउ परेका उनलाई अमृतसर हुँदै असमको डिब्रुगढ जेलमा पठाइएको छ । ‘अमृत पाल सिंह पञ्जाबको मोगाबाट गिरफ्तारमा परेका छन्, यसका साथै पञ्जाव पुलिस यो अपिल गर्दछ कि कुनै पनि तरिकाको अफवाह नफैलाईयोस्,’ पञ्जाब प्रहरीले भनेको छ । भारतीय सुरक्षा अधिकारीले नेपालमा लुकेर बसेको जनाउँदै सिमा क्षेत्रमा खानतलासी बढाए पनि उनी भने अन्ततः पञ्जाबमा नै पक्राउ परेका हुन् ।
सत्यपाटी संवाददाता । काठमाडौं