सूचनाको शक्ति - The Power Of Information

        

चितवन २ मा जितनारायणले गरे मतदान, रवि र रामप्रसादले भोट हाल्न नपाउने

चितवन क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचनको मतदान जारी छ । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गरेका छन् ।

तर रास्वपाका उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने त्यहाँ मतदान गर्न पाउने छैनन् ।

रविको मतदाता नामावली काठमाडौंमा रहेकाले र एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा रहेकाले उनले उपनिर्वाचनमा भोट हाल्न नपाउने भएका हुन् ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेपछि त्यहाँ उपनिर्वाचन गरिएको हो ।

किरियापुत्री, ज्येष्ठ नागरिक लगायत पनि उत्साहपूर्ण ढंगले मतदानमा सहभागी भइरहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भरतपुरको नारायणी माविमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले मतदान गरेका छन् । यसैगरी पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष विष्णु छिमेकीले आमाको किरिया बसेकै अवस्थामा भरतपुर १२ स्थित मोहन माविबाट मतदान गरेका छन् ।

उपनिर्वाचनको संवेदनशीलतालाई मध्यनजर गरी पश्चिमतर्फबाट चितवन आउने सवारी साधनलाई नवलपुरको गैंडाकोटमा नै रोकिएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतवार ०९:०२