सूचनाको शक्ति - The Power Of Information

        

बाँकेकाे जानकी गाउँपालिकामा छात्रा विद्यालय स्थापना

जानकी गाउँपालिकाले पहिलोपटक छात्राहरूका लागि छुट्टै विद्यालय निर्माण गरेको छ । वडा नम्बर ३ मानपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई छात्रा विद्यालयका रूपमा निर्माण गरेको हो ।

उक्त विद्यालयको नामसमेत परिवर्तन भएको छ। नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय बनाइएको छ। पालिकाका छात्राहरूलाई विद्यालयको मूल प्रवाहमा ल्याउन छुट्टै छात्रा विद्यालय निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए ।

जानकीमा शतप्रतिशत छात्रा विद्यालयको पहुँचमा छैनन् । विद्यालयभन्दा बाहिर रहेका छात्राहरूलाई आकर्षित गर्न यसले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

जानकीको हिउँदे अधिवेशनबाट नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय बनाउने निर्णय भएको थियो ।

गत शैक्षिक सत्रमा यस विद्यालयमा २ सय ८१ जना विद्यार्थी थिए। जसमध्ये धेरै प्रतिशत छात्रा छन्। यहाँ पढ्ने छात्र भने अब भर्ना हुन पाउनेछैनन् ।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : १० बैशाख २०८०, आइतवार ०७:५३