सूचनाको शक्ति - The Power Of Information

        

झापामा जंगली हात्तीले कुल्चिँदा वृद्धको मृत्यु

जंगली हात्तीको आक्रमणमा परी झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलाका एक वृद्धको मृत्यु भएको छ । डिभिजन वन कार्यालय (झापा)का प्रमुख मेघराज राईका अनुसार आज बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेको हो ।

बारीमा पाक्न लागेको मकैबाली खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईलाई हात्तीले आक्रमण गरेको प्रमुख राईले जानकारी दिए । डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको जनाउँदै उनले थप विवरण आउन बाँकी रहेको बताए ।

जिल्लाको पूर्वी क्षेत्र बाहुनडाँगी हुँदै भारतबाट समेत जंगली हात्तीको हुल नेपाल प्रवेश गरिरहेको छ भने दर्जन संख्यामा रैथाने हात्ती स्थानीय जंगलमा बस्ने गरेका छन् । हुलबाट एक्लिएको जंगली हात्तीले मान्छेलाई आक्रमण गर्ने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार १२:३७