सूचनाको शक्ति - The Power Of Information

        

नौ महिनाभित्र नेपालगन्ज–दिल्ली सिधा हवाई उडान


बाँके । नेपालगन्ज पश्चिम नेपालको ट्रान्जिट हो । मध्य तथा सुदूरपश्चिम क्षेत्रमा हुने आर्थिक गतिविधिहरु नेपालगन्मै केन्द्रीत भएर हुने गर्छन् । सडक तथा हवाई यातायात लगायत अन्य सबै प्रकारका गतिविधिहरुको केन्द्रविन्दु नेपालगन्ज नै हो । योसँगै बुद्ध एयरले गरेको पछिल्लो निर्णयले नेपालगन्जसँगै पश्चिम नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ ।
आन्तरिक उडानमा पहिलो स्थानमा रहँदै आएको बुद्ध एयरले नेपालगन्जदेखि भारतको राजधानी नयाँदिल्ली उडान सञ्चालन गर्ने भएसँगै यहाँका व्यापारी र उद्योगीहरुमा उत्साह थपिएको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत नेपालगन्जमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै बुद्ध एयरले सोमबार नेपालगन्ज–दिल्ली–नेपालगन्ज उडानका लागि नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिइसकेको जानकारी दिए ।
प्रवन्ध निर्देशक बस्नेतले भने, ‘अबको ८ देखि नौ महिनाभित्र बुद्धले नेपालगन्जदेखि दिल्लीसम्म सिधा उडान गर्ने हाम्रो दावी हो ।’ बुद्धको दिल्ली उडानले थप पर्यटक भित्रिने र नेपालगन्जसँगै पश्चिम नेपालकै अर्थतन्त्र टेवा पुग्नेमा भन्दै यहाँको उद्योगी व्यवसायी आशावादी देखिएका छन् । ‘भारतीय पक्षबाट कन्फर्म भएको छ,’ प्रवन्ध निर्देशक बस्नेतले भने, ‘अबको बाँकी हवाई रुटको काम सरकारको हो ।’ निजी क्षेत्रमा सर्वाधिक कारोबार गर्ने बुद्धको यो निर्णयले पश्चिम नेपालकै अर्थतन्त्रमा टेवा पुग्ने विश्वास गरिएको छ ।
बस्नेतका अनुसार बुद्ध एयरले दैनिक ३ वटा उडान बिहान, दिउँसो र बेलुका गरि नेपालगन्ज–दिल्ली उडान गर्नेछ । दैनिक २ सय सिट र बार्षिक ७० हजार यात्रुले एकतर्फी यात्रा गर्ने लक्ष्य लिइएको बुद्धको विमानले नेपालगन्जदेखि दिल्ली १ घन्टाको समयावधिमा उडान गर्ने प्रवन्ध निर्देशक बस्नेतको दाबी छ । बुद्धले नेपालगन्ज दिल्ली उडान सुरु गरेपछि मध्य तथा सुदूरपश्चिममा टेवा पुग्ने उद्योगी व्यवसायीको विश्वास छ ।
नेपालगन्ज दिल्ली उडान गर्ने बुद्ध एयरको निर्णयलाई नेपालगन्जका उद्योगी व्यवसायीले पनि स्वागत गरेका छन् । सोमवार गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधिसभा सदस्य सञ्जय गौतमले बुद्ध एयरले गरेको निर्णयले पश्चिम क्षेत्रको बिकासमा निकै ठुलो भूमिका खेल्ने बताए । नेपालगन्ज दिल्ली उडान सहज बनाउनका लागि आफुले पनि प्रतिनिधिसभामा कुरा उठाउन कुनै कन्जुस्याई नगर्ने उनले बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्सेर राणाले बुद्ध एयरको यो निर्णयको स्वागत गर्दै नेपालगन्ज विमानस्थलको निर्माण कार्यमा नेपालगन्ज उपमहानगरपालिकाले भरपुर सहयोग गर्ने प्रतिवद्धता जनाए । बुद्धको दिल्ली उडानले थप पर्यटक भित्रिने र त्यहाँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेतले बताए । बुद्धले दिल्ली उडान थालेपछि अहिले उडानमा रहेका एटीआर–५००–७२ विमान उडाउने भनेको छ ।


प्रवन्ध निर्देशक बस्नेतले भने, ‘अबको ८ देखि नौ महिनाभित्र बुद्धले नेपालगन्जदेखि दिल्लीसम्म सिधा उडान गर्ने हाम्रो दावी हो । भारतीय पक्षबाट कन्फर्म भएको छ । अबको बाँकी हवाई रुटको काम सरकारको हो ।’

२२ हजार ५ सयसम्म अधिकतम उडान तौल (एमटीओडब्लु) भएका यस्ता ५ वटा विमान यस कम्पनीसँग छन् । बुद्धका प्राविधिकहरुले यो विमानबाट नेपालगन्जदेखि दिल्ली १ घन्टा हाराहारी उडान समय हुने भनेका छन् । अहिले नेपालगन्ज अन्तर्राष्ट्रिय हवाई रुटसँग जोडिएको छैन । बुद्धले प्राधिकरणमा आवेदन दिएपछि पर्यटन मन्त्रालयले हवाई रुट खोल्न पहल गर्नुपर्ने हुन्छ । भारतसँग जोडिएका केही रुट चाँडै सञ्चालनमा ल्याइनेबारे प्रधानमन्त्री केपी ओलीले पनि गत आइतबार संसदमा बोलेका छन् ।
प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार प्राधिकरणले यसै महिनाको अन्तिममा भारतको नागरिक उड्डयन महानिर्देशनालयका प्राविधिकहरुसँग हवाई रुटबारे वार्ता गर्ने तयारी गरिरहेको छ । यसमा प्राधिकरणको हवाई ट्राफिक व्यवस्थापन विभागका प्राविधिकहरु रहनेछन् । सिन्धुपाल्चोकको तातोपानी नाका भूकम्पपछि अवरुद्ध भएपछि तिब्बतको मानसरोबार जाने भारतीय तीर्थयात्रीको रुट काठमाडौंबाट नेपालगन्जतर्फ सरेको थियो ।
अहिले नेपालगन्जपारिको भारतीय बजार लखनउबाट वार्षिक ३० हजार हाराहारी तीर्थयात्री हुम्ला सिमिकोट हुँदै मानसरोबर जान थालेपछि नेपालगन्ज तीर्थयात्रीका लागि हब बनेको छ । जेठदेखि ५ महिना मानसरोबर जाने तिर्थयात्रीहरु नेपालगन्ज नाकाबाट पस्छन् । यस्मा अधिकांश भारतीय नागरिक छन् । नेपालले भारततर्फका एकतर्फी रुटलाई दुईतर्फी बनाउन पहल गर्दै आएको छ । गतवर्ष पुस ५ गते पर्यटन मन्त्रालयका सहसचिवको नेतृत्वमा ८ सदस्यीय नेपाली टोली रुटका लागि वार्ता गर्न दिल्ली गएको थियो ।
तर, उक्त छलफलमा भारतीय अधिकारीहरुले जेट एयरको विमानमा आउने हवाई मार्शललाई राति बास बस्नु परे काठमाडौंमा बास दिनुपर्ने शर्त राखेपछि वार्ता निष्कर्षमा पुगेको थिएन । यसपटक नेपाल भम्रणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हवाई रुटबारे पनि बोलेपछी बुद्धलगायत एयरलाइन्सलाई नेपालबाट क्षेत्रीय उडान भर्न सजिलो हुनेछ । तर, चिनियाँ लगानीमा नेपालमा स्थापना भएको हिमालय एयरलाइन्सलाई भने भारतले तीन वर्ष बित्न लाग्दा पनि उड्ने अनुमति दिएको छैन ।
सरकारी स्रोतका अनुसार, हिमालय एयरलाइन्सले लगानीको स्रोत प्रस्ट्याउन नसकेपछि भारतले यो एयरलाइन्सलाई दिल्ली उड्ने अनुमति अहिलेसम्म नदिएको हो । नेपाल सरकारले सन् २००९ मा भारतसँग गरेको दुईपक्षीय हवाई सम्झौताअनुसार, वार्षिक १५ लाख ६० हजार सिटको सम्झौता छ । दुवै मुलुकले दिल्ली, मुम्बई, बैंग्लोर, चेन्नाई, हैदरवाद र कलकत्तामा सातामा ३० हजार सिट यात्रु उडान पाउँछन् । यी मुख्य सहरबाहेक भारतले देहेरादुन, बागडौरा, गोरखपुरलगायत २१ वटा पर्यटकीय सहरका लागि भने सिट संख्या असीमित गरेको छ ।
भारतसहित ३८ मुलुकसँग सीधा हवाई सम्पर्कका लागि सम्झौता गरेको नेपालले अहिले नेपालबाट दिल्ली जानुपरे विमानहरु महेन्द्रनगरबाट निस्किने लिमा ६२६ रुट हुँदै दिल्लीतर्फ लाग्छन् । अहिले नेपालगन्जबाट बाहिर निस्किने र भित्र पस्ने हवाई रुट छैन । यदि बुद्धले दिल्ली उडान थाले महेन्द्रनगरमाथिको आकाशबाट बनाइएको लिमा ६२६ रुट नै भित्र प्रवेश गर्न प्रयोग गर्नुपर्ने हुन्छ । अहिले यो बाटो एकतर्फी छ ।
यो रुटजस्तै भैहरवाको आकासबाट हुँदै लखनउका लागि निस्किने ब्राभो ३४५, जनकपुरबाट कलकत्ता निस्किने रोमियो ३२५ र विराटनगरबाट ढाकातर्फ जाने रोमियो ३४४ रुट छन् । यी रुट एकतर्फी मात्रै हुन् । यी रुटबाट नेपालभित्र पस्न पाइँदैन । अहिले नेपालभित्र विमान प्रवेश गर्ने मुख्य रुटमा दिल्ली र दिल्ली पश्चिमका मुलुकबाट नेपाल आउने हवाई रुट गल्फ ५९८ हो भने ढाकालगायत पूर्वी मुलुकहरुबाट गल्फ ४५३ रुट हो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार ११:१०