सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

पश्चिम तराईमा हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । कोसी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोसी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आज दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

अपराह्नपछि पश्चिम तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ । कोसी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । विभागका अनुसार बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

विभागले आज राति कोसी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देशका केही भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको र तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले यसको जोखिमबाट बच्न आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार ०६:४७