सूचनाको शक्ति - The Power Of Information

        

करिब ६० हजार बालबालिका अझै विद्यालय क्षेत्र बाहिर


काठमाडौं । यस वर्ष सरकारले निकै तामझामका साथ विद्यार्थी भर्ना अभियान सञ्चालन गरे पनि अझै करिब ६० हजार बालबालिका अझै विद्यालय क्षेत्र बाहिर छन् । सबैभन्दा बढी प्रदेश नम्बर २ का बालबालिका विद्यालयको पहुँचमा आउन सफल भएका छन् ।
शिक्षा मन्त्रालयका अनुसार प्रदेश २ मा १ लाख ८ हजार ६४ जना बालबालिका विद्यालय भर्ना भएका छन् । सरकारले यस वर्ष एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व भन्ने नारासहित अभियान चलाएको थियो । यस वर्ष विद्यालय बाहिर रहेका ५ देखि १२ वर्ष उमेर समूहका ३ लाख १३ हजार २८९ मध्ये २ लाख ५३ हजार ५५६ बालबालिका विद्यालयमा भर्ना भएका छन् ।
विद्यालयबाहिर रहेका बालबालिकाहरुलाई दोस्रो चरणमा विद्यालय भर्ना अभियान सञ्चालन गरी विद्यालयमा प्रवेश गराउने शिक्षा मन्त्रालयको योजना छ । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलका अनुसार आधारभूत तहमा सबैभन्दा बढी बालबालिका विद्यालय बाहिर भएका १३ जिल्लामा सर्लाही, पर्सा, बारा, कपिलवस्तु, मोरङ, सुनसरी, रुपन्देही, सप्तरी, सिरहा, महोत्तरी र बाँके छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार १०:४६