सूचनाको शक्ति - The Power Of Information

        

अब कतारबाटै पुनः श्रम स्वीकृति

कतारस्थित नेपाली दूतावासले पुनः श्रम स्वीकृति प्रदान गर्ने भएको छ । दोहास्थित नेपाली दूतावासले वैशाख १२ गतेदेखि पुनः श्रम स्वीकृतिको प्रक्रिया सुचारु हुने भएको छ ।

नेपाल सरकार (सम्माननीय प्रधानमन्त्रीस्तर)को निर्णयबमोजिम गन्तव्य मुलुकमा रहेको नेपाली कुटनीतिक नियोगबाट श्रम स्वीकृति प्रदान गर्न लागिएको हो । पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभागको वेबसाइटमा आवेदन दिन सकिनेछ ।

हाललाई दूतावासको उपलब्ध जनशक्तिको आधारमा बढीमा दैनिक ५० आवेदन रुजु गरिने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभागको वेबसाइटमा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र भन्नेमा लग इन गर्नुपर्ने हुन्छ ।

लग इन भइसकेपछि पासपोर्ट नम्बर र पासवर्ड प्रयोग गरेर वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रवेश गर्नुपर्ने हुन्छ र श्रम स्वीकृतिका लागि आवेदनमा क्लिक गरी प्रक्रिया अगाडि बढाई आवेदन दिनुपर्ने हुन्छ ।

पासवर्ड बिर्सिएको खण्डमा राजदूतावासको [email protected] मा इमेल गरी आफ्नो पासपोर्ट नम्बरसहित रिसेटका लागि अनुरोध गर्न सकिनेछ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा गइसकेपछि माग भए बमोजिमको सम्पूर्ण कागजपत्र राखेर अन्तिममा श्रम स्वीकृतिका लागि आवेदन ठाउँ कतार छनौट गरी आवेदन दिनुपर्ने हुन्छ ।

प्रक्रिया पुरा गर्नका लागि राहदानी, कतारी आइडी, करार सम्झौता पत्र, पुरानो श्रम स्वीकृति, कतार आएको मिति स्पष्ट देखिने कागजात अपलोड गर्नुपर्ने हुन्छ । श्रम स्वीकृतिका लागि तिर्नु पर्ने कल्याणकारी कोष, जीवन बीमा र सामाजिक सुरक्षा कोषको रकम विद्युतीय भुक्तानी प्रणाली कनेक्ट आईपीएस, ई सेवा र खल्तीबाट तिर्न सकिनेछ । श्रम स्वीकृतिका सम्बन्धी कार्यका लागि दूतावासमा उपस्थित भने हुन नपर्ने जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १०:३४