नेपालगन्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्जको न्युरोडस्थित एक होटलबाट ४ दशमलव ९२७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँके स्रोतले जनाएको छ ।
पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रास्लेट, मंगलसूत्र, बाला, ढुङ्ग्री, औँठी लगायतका सुनका गहना प्रहरीले गएराति बरामद गरेको हो । गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा ती दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस विषयमा विस्तृत जानकारी दिन बाँके प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं