रेडियोको आविष्कार भएपछि बेलायती सम्राट जर्ज पाँचौँले पहिलो पटक सन् १९३२ मा जनतालाई त्यसको प्रसारणबाट क्रिसमस सन्देश दिएका थिए । आधुनिक विज्ञानको एक चमत्कारका माध्यमबाट क्रिसमसको दिन बेलायती साम्राज्यभरका आफ्ना सबै देशवासीसँग कुरा गर्न सक्षम भएकोमा उनले खुसी प्रकट गरेका थिए । ‘त्यसैले हामी यसलाई सँगै मनाउने गरौं र यसलाई सधैंँ कदर गरौंँ । मेरो सम्पूर्ण हृदयले, म तपाईंहरू प्रत्येकलाई शान्ति, खुसी र अनन्त प्रकाशको क्रिसमसको कामना गर्दछु,’ उनले भनेका थिए ।
बेलायती राजाको कुनै सन्देश पञ्चायतकालमा स्नातक तहको अनिवार्य अङ्ग्रेजी पाठ्यक्रममा पनि राखिएको थियो । सायद त्यसलाई उच्चस्तरको अङ्ग्रेजी मानिएको थियो । नेपालमा पनि राजाहरुले बेलाबेला रेडियो नेपालमा देशवासीका नाममा सन्देश दिन्थे, पछि टिभी पनि उपयोगमा आयो । धेरैजसो नयाँ वर्षमा त्यस्तो सन्देश रेडियो नेपालबाट प्रत्यक्ष प्रसारण हुन्थ्यो । राजा वीरेन्द्रले दिने त्यस दिनको सन्देशको अर्थ पञ्च र बहुदलवादीले आआफ्नै ढङ्गले लगाउँथे । त्यो सन्देश साहित्यकारहरूका लागि पनि विशेष हुन्थ्यो ।
किनभने, त्यसैमा तत्कालीन नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो जन्मोत्सवमा मनाउन आयोजना गर्ने ‘राष्ट्रिय कविता महोत्सव’ (असार १४) का लागि कविताको शीर्षक पनि दिइएको हुन्थ्यो । उक्त महोत्सवमा लेख्नका लागि देशविदेशका कविहरू प्रतिस्पर्धा गर्थे । २०४६ सालको आन्दोलनपछि भने राजाले शीर्षक दिने प्रचलन हट्यो । वीरेन्द्रले धेरै लामो समयपछि २०३६ साल जेठ १० गते जनमतसङ्ग्रहको घोषणा पनि रेडियो नेपालबाटै गरेका थिए । फागुन ७ गते भने सैनिक मञ्चमा राजा उपस्थित भए पनि विरलै मन्तव्य दिन्थे ।
२०४६ सालमा फागुन ७ गते भने पोखरामा राजाले ठूलै सन्देश दिने अपेक्षा गरिएको थियो । वामपन्थी बुद्धिजीवी गोविन्द लोहनीले यस पङ्क्तिकारसँगको भेटमा राजाले त्यस दिन देशमा ठूलै राजनीतिक परिवर्तन झल्कने मन्तव्य आफ्नो कोटको गोजीबाट झिकेर पढ्नै लाग्दा एडिसीले अर्काे कागज ल्याएर दिएकाले आफ्नो मन्तव्य पढ्न पाएनन् । ०४६–०४७ सालको संयुक्त जनान्दोलनले बहुदलीय व्यवस्था पुनःस्थापित गर्याे । यो पनि रेडियो नेपालबाटै नेपाली जनताले थाहा पाए ।
बहुदलीय व्यवस्थापूर्व राजाले दिने सन्देश होस् वा त्यसपछि प्रधानमन्त्री वा राष्ट्रपतिहरूले दिने सन्देश–तिनमा मुलतः आफूले गर्नुपर्ने कर्तव्यबारे केही उल्लेख नहुने अनि अरूले पालना गर्ने कर्तव्यमा मात्र जोड दिने गरिन्थ्यो । अहिलेका सन्देशमा पनि तिनमा केही फरकपन भए जस्तो लाग्दैन । यसपालि नयाँ राष्ट्रपति रामचन्द्र पौडेलले दिएको सन्देशमा भने अघिल्ला राष्ट्रपतिको सक्रियतालाई मजासँग प्रहार गरिएको छ । जो कसैको पनि स्थापित विधि विपरीतको सक्रियता तथा कुनै निहित स्वार्थ प्राप्तिको आतुरताले बामे सर्दै अघि बढेको लोकतान्त्रिक परिपाटी मजबुत नहुने राष्ट्रपतिको आसय थियो ।
राष्ट्रपतिले जनप्रतिनिधिबाट निर्मित विधि र पद्धतिअनुसार नै संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था चल्नुपर्ने प्रतिवद्धता आफ्नो सन्देशमार्फत जनाएका छन् । शीतल निवासले अनावश्यक सक्रियता नबढाउने तथा विधि र पद्धतिअनुसार चल्ने प्रतिवद्धता जनाउँदै पौडेलले मुलुकमा स्थिरता र सुशासनका लागि वकालत गरे पनि त्यसको सङ्केत भने रत्तिभर देखिँदैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले चार महिना बित्दा पनि पूर्णता पाउन नसक्नु र सिंहदरबार आफैँ फोहरमा रमाउनाले देशको भविष्य र वातावरणबारे सहजै अनुमान लगाउन सकिन्छ ।
प्रधानमन्त्री राष्ट्रले आफूलाई दिएको कार्यकारी प्रमुखको भूमिकाप्रति आभार प्रकट गर्दैमा रमाइरहेका छन् भने, निर्देशनको तहलाई कार्यान्वयनमा लैजान परम्परागत अवरोध आइरहेको पनि स्विकारिरहेका छन् । सभामुख देवराज घिमिरेले अघिल्लो वर्ष आर्थिक र पूर्वाधार क्षेत्रमा पर्याप्त विकास हुन नसकेको स्वीकार्दै जनताको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने अभियानलाई तीव्रता दिन आह्वान गरेका छन् । कामु प्रधानन्यायाधीश भएको यतिका समय बित्दा पनि अझै ‘कन्फर्म’ हुन नसकेका हरिकृष्ण कार्की न्यायालय सुधारका प्रयासलाई सार्थक र परिमाणमुखी बनाउने कामना त गर्छन् ।
तर, अदालतमा मौलाएको राजनीति विकृति, विसंगतिप्रति आँखा चिम्लन्छन् । उनी अहिले बारलाई अगाडि सारेर पूर्ण प्रधानन्यायाधीश हुने दाउमा छन् । देशमा राजनीतिसँगसँगै बिग्रिएको र त्यसलाई बिगार्न आफैँ उद्दत भएको न्यायालयको कर्तुत छर्लङ्ग छ । यसले आफूलाई सक्षम, सुदृढ र भरोसायोग्य बनाउने सपना दिवास्वप्न मात्र हो भन्ने स्पष्ट नै छ । भ्रष्टाचार र विचौलियाबाट चलेको आरोप लागेको न्यायालयका एक न्यायमूर्ति पत्नी बलात्कारका मुद्दामा हालै पक्राउ पर्नु त सामान्य नै देखियो ।
यसै मेसोमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समावेशी लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोडेर तिनको समृद्धिलाई केन्द्रमा राख्दै सुशासन र सहज सेवा प्रवाहमा जोड दिन सम्पूर्ण राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिमा आग्रह गरिन् । समृद्धिको नारापछि अब सुशासनतिर जोड दिनाको कारण यही छ कि मुलुक चरम भ्रष्टाचारमय छ, बेथितियुक्त छ र लथालिङ्ग अवस्थामा छ । तथापि, नेताहरू आफूसँग भएको सम्पत्ति विवरण लुकाउँछन्, अर्काले खाएको मात्र देख्छन् । आफू भव्य महलमा बसेर सादा जीवनको अर्ती र उपदेश दिन्छन् ।
नेताहरूले दिएको नयाँ वर्षको सन्देशमा आआफ्नो राजनीतिक दललाई सुधार्ने, आत्मालोचना गर्ने कुरा नआउनु आश्चर्यको कुरा छ । राजनीतिक दल र तिनका नेताको अक्षमता, निरीहता र इमान्दारीविहीनताले नै मुलुक र देशवासीले अहिले भोग्नुपरेको हो । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको जनताको समृद्धिको चाहनालाई पूरा गर्न पार्टी क्रियाशील रहेको प्रतिबद्धता र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउनेलाई निस्तेज बनाउन गरिएको आग्रह मात्रैले जनता ढुक्क हुने अवस्था छैन ।
मुलुकको धमिलो पानीबाट उत्साहित भएर राजतन्त्र पुनःस्थापना गर्न हिँडेको पार्टी राप्रपाको अभियान जारी छ । यसै सेरोफेरोमा पूर्वराजा ज्ञानेन्द्रले पनि वर्तमान बेथितिका विषयमा असन्तुष्टि जाहेर गरेका छन् । नयाँ वर्षको सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले ‘सबैखाले गल्ती सच्याउनेतिर लागौं । थाहा पाई थाहा पाई देशलाई बर्बादीतर्फ नधकलौं’ भनेका छन् । भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जस्तो आफूलाई सन्यासी भनाएर राजनीतिलाई सफा गर्न हिँडेको जिकिर गर्ने नारायणकाजी श्रेष्ठको कार्यकालको परीक्षण हुन बाँकी नै छ । सुराकी भत्ता अन्त्य गरे पनि प्रहरीहरूको सरुवा र बढुवामा उनका अनुचरको दृष्टिकोण केही समयभित्रै उजागर भइहाल्ने छ ।
विवाह नभएको, छोराछोरी नभएको, देशबाट पाउन जति सबै पाइसकेको, अब कसका लागि के कमाउनु छ र भनी जिकिर गर्नेहरूले कम्बल ओढेर घिउ खाएको त हामी सबैले देखेकै छौँ । कतै यस्तै ढोंगी नेता त होइन यिनी ? एकातिर जोगी हुन राजनीति गरेको होर भन्ने प्रचण्ड अर्कातिर शक्ति, सत्तामा रहने, सम्पत्ति जोड्ने र खाने अनेक दाउ खोज्ने कसले नबुझेको छ र ? नागरिकताविहीन भएर चुनाव लड्ने, नागरिकताविहीनताकै अवस्थाको राहदानी उपयोग गरेर स्वदेश विदेश आउजाउ गर्ने, सांसदहरूलाई मन्त्री बनाउन ‘कोर टिम’ खडा गर्दै हिँड्ने रवि लामिछानेको के कुरा गर्नु ? त्यो पार्टी पानीको फोका जस्तै हो ।
श्याम रिमाल । काठमाडौं