सूचनाको शक्ति - The Power Of Information

        

डिआइजी बढुवामा अन्याय, प्रहरी महानिरीक्षकलाई धक्का

डिआइजी बढुवाले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर विवादमा तानिएका छन् । बढुवामा छुटेका एसएसपीले सामाजिक सञ्जालमै प्रश्न उठाएपछि बढुवा विवादमा परेको हो । एसएसपी चक्रबहादुर सिंहले शुक्रबार राष्ट्रपतिबाट विभूषण ग्रहण गर्दै पदकको कदर हुन नसकेको गुनासो गरेका छन् ।

डिआइजी बढुवामा सबैभन्दा ठूलो अन्याय उनै सिंहमाथि भएको चर्चा प्रहरीमा छ । बढुवा नहुँदा उनले आगामी सातादेखि अनिवार्य अवकाश पाउनेछन् । कार्यक्षमतामा कमजोर र केही विवादास्पद अधिकृतहरु समेत बढुवा सिफारिस हुँदा इमान्दार छवी भएका सिंह छुटेपछि महानिरीक्षक कुँवर पनि विवादमा परेका हुन् ।

सो बढुवा सिफारिसविरुद्ध एसएसपीहरु चक्रबहादुर सिंह र अनुराग द्वीवेदीले उजुरी समेत दिएका छन् । जसकारण बढुवा विवादमा परेको छ । राष्ट्रपति कार्यालय लगायतको दबाब झेल्न नसक्दा केही अधिकारीमाथि अन्याय भएको हो । प्रहरीमा इमान्दार भन्दा नेताका कारिन्दाहरु नै हावी हुने यो बढुवाले पनि पुष्टि भएको छ ।

बढुवामा अझै ठूलो घम्साघम्सी एसएसपीमा छ । एसएसपीका १६ पदमा दोब्बर एसपीहरु प्रतिस्पर्धामा छन् । वरियताको पहिलो नम्बरमा विमल बस्नेत छन् । उनी भ्रष्टाचार कान्डमा निलम्बित भई कारबाहीमा परेकाले बढुवा हुने कम सम्भावना छ । उनीपछि विश्व अधिकारी छन्, जो असईबाट पछि इन्सपेक्टरमा नाम निकालेका अधिकारी हुन् ।

त्यसपछि सानुराम भट्टराई, ओम अधिकारी, विश्वमणी पोखरेल, शेखर खनाल, अवि नारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दिनेशराज मैनाली, कृष्णबहादुर पल्ली मगर, भूपेन्द्र बहादुर खत्री, गंगा पन्त, गोपालचन्द्र भट्टराई, रविकुमार पौडेल, बेलबहादुर पान्डे, दीप शमशेर जबरा, नवीनराज राई, तारादेवी थापा, आभूषण तिमल्सिना, प्रबिण पोखरेल, प्रज्वल महर्जन, बसन्त रजौरे लगायत छन् । एसपी बढुवामा पछि पारिएका भूपेन्द्र खत्री, बेल पान्डे, बसन्त रजौरे यसपटक अगाडि लैजानुपर्ने दबाब आइजिपीलाई छ ।

यसअघि अघिल्लो नम्बरमा बढुवा भएकाहरु पनि राजनीतिक रुपमा बलिया छन् । कार्यक्षमतामा कमजोर रहेका केही अधिकृतहरु माओवादी नेताको दैलो धाइरहेका छन् । जसकारण एसएसपी बढुवा निकै पेचिलो हुने देखिएको छ । पाँच वर्षपछि प्रहरीमा यही ब्याचबाट नेतृत्व चयन हुने भएकाले अहिलेदेखि नै बढुवामा घम्साघम्सी सुरु भएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १४:४१