सूचनाको शक्ति - The Power Of Information

        

नेपाली फिल्म ‘सय कडा दश’मा बर्मेली सोनियाको डेब्यु

काठमाडौं । फिल्म ‘सय कडा दश’ बाट डेब्यु गर्दै गरेकी नव अभिनेत्री हुन् सोनिया राई । राई भन्नासाथ नेपालको पूर्वी पहाडी जिल्लातिर बाट आएकी रहेछिन् भन्ने लाग्ला । तर, उनी बर्मामा जन्मिएकी हुन् । सोनिया नेपाली नभई नेपाली मूलकी बर्मेली हुन् ।
बर्माको सुन्दर सहर म्याउँम्याउँको याक्यजिसकोमा गोखार्ली सेनाको परिवारमा जन्मिएकी हुन् उनी । हाल थाइल्यान्ड बस्दै आएकी सोनिया यतिबेला फिल्म ‘सय कडा दश’को छायांकनका लागि नेपालमा ब्यस्त छिन् ।
‘प्रेम गीत’का दुई सिक्वेलबाट निर्देशकका रुपमा सफल दरिएका रामशरण पाठकले सोनियालाई थाइल्यान्डदेखि नेपाली फिल्मी क्षेत्रमा प्रवेश गराएका हुन् । पाठकको निर्देशनमा बनिरहेको फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्न पाउँदा खुसी लागेको बताउँछिन् सोनिया ।
बर्मा र थाइल्याडको रहनसहन, पढाइ र उतैको वातावरणमा हुर्किएकी सोनिया नेपाली र नेपालप्रति मोहित छिन् । उनले नेपाली फिल्ममा अभिनय गर्न पाउनु गर्वको कुरा भएको बताइन् । आफ्नो अभिनयमा बनिरहेको फिल्मप्रति पनि उनी आशावादी छिन् । भन्छिन्, ‘फिल्मप्रति म निकै आशावादी छु, मिहिनेत गरेर काम गरिरहेका छौं, पक्कै सफल हुन्छौं ।’
बर्मा र थाइल्यान्डमा नेपाली समुदायकै विविध कार्यक्रममा स्टेजमा प्रस्तुति दिँदै आएकी सोनियाले त्यसबाट पाएको वाहवाही र सफलतासँगै अभिनयको सपना देख्न थालेकी थिइन् । अन्नतः उनका लागि ‘सय कडा दश’ त्यही सपना पूरा गर्ने माध्यम बनेर आइपुगेको छ । आफू कति सफल हुने र नेपाली फिल्ममा भविष्य कस्तो बन्नेछ भन्ने आधार यही फिल्मको रिलिजपछि तय हुने उनले ठानेकी छिन् ।
बर्मा र थाइल्यान्डमा रहँदा अभिनयका अफरहरुलाई नकार्दै आएकी आफूले निर्देशक रामशरण पाठक र थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीले राखेको प्रस्तावलाई भने ‘नाइ’ भन्न नसकेको बताउँछिन् । नेपाली समाज, समाजभित्रका विकृति र विविध विषय समेटिएको फिल्मको स्क्रिप्ट सुनेर आबद्ध भएको बताउने सोनिया फिल्ममा आफूले निर्वाह गर्न पाएको भूमिका बाट पनि मख्ख छिन् ।
अन्य अभिनेत्रीसँग दाँजिन नचाहने सोनिया जुनसुकै काम गरे पनि मिहिनेतका साथ गर्ने बताउँछिन् । आगामि दिनमा पनि नेपाली फिल्मका लागि अफर आएमा, फिल्मको कथा चित्त बुझेमा र परिवारिक समर्थन मिलेमा नेपाली चलचित्र यात्रामा आफूलाई निरन्तर हिँडाउन कोसिस गर्ने उनको योजना छ । त्यसो त, पुनः रामशरण पाठककै टिमले अफर गरेमा कुनै बाहना नगरी अभियन गर्ने बताउँछिन् उनी ।
भाषिक र सांस्कृतिक रुपमा एकै भए पनि नेपाल र नेपालीसँग घुलमिल नगरेकी सोनियाले फिल्म सुटिङका क्रममा धेरै कुरा सिकेको बताइन् । भनिन्, ‘यहाँ सबैले बोलेजस्तो नेपाली बोल्न थोरै समस्या परेको छ । तर, सिक्दै गएकी छु । सुटिङका क्रममा धेरै कुरा सिक्ने मौका मिलेको छ । सबै सहयोगी हुनुहुन्छ । तपाईंहरु जस्तै बोल्न सकुँ, यसको अभ्यासमा छु, पक्कै पनि सकिहाल्छु नि होइन र ?’
सोनिया थाइल्यान्डबाट फिल्ममा अभिनयका लागि एक्लै आएकी होइनन्, आमा लिलावती पनि उनीसँगै छिन् । हुर्किएका छोरीचेलीलाई एक्लै छोड्न हुन्न, बिहे नहुन्जेलसम्म अविभावकको साथ र सहयोग चाहिन्छ भन्ने सोचकै कारण सोनियाको कामलाई हौसला दिन र साथी बन्न आमा लिलावती पनि नेपालमा सँगै बसेकी छिन् । सोनिया पनि आमाको माया र साथले आफूमा अझ धेरै काम गर्ने हौसला मिलेको बताउँछिन् ।
‘सय कडा दश’को सुटिङ सकिएपछि पुनः थाइल्यान्ड नै फर्किने बताउँदै सेनियाले भनिन्, ‘थाइल्यान्डमा काम पनि गरिरहेकी छु । अब फिल्मी करियरलाई अघि बढाउन कुनै व्यवसायमा संलग्न हुने योजना छ । अरुको काम गरेर अभिनयको करियर अघि बढाउन गाह्रो हुने देखिरहेकी छु, त्यसैले थाइल्यान्डमै केही व्यवसाय गर्ने योजना छ ।’
जीवनसाथी र विवाहको विषयमा त्यति नखुलेकी सोनियाले ‘नेपालमै बिहे सम्भव छ ?’ भन्ने प्रश्नबारे भनिन्, ‘भनेर कहाँ हुन्छ, भाग्यको कुरा । नेपालमै पनि हुन सक्छ । अरुतिर पनि हुन सक्छ । तर, अहिले करियर बनाउने समय भएर होला त्यतातिर सोचेकै छैन ।’

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार ०४:४०