नयाँ वर्ष २०८०को पहिलो विहानीमा पनि मेरो मन भतभती पोलिरह्यो । गएको वर्ष २०७९ मा मेरो देशको माटो दोषी ठहरिएको घटनाले त्यसै त्यसै बेचैन भैरहेको थिएँ । नयाँ वर्ष शुरु हुँदा पनि त्यही घाउ उचाटिएर मन भरङ्ग हुन थाल्यो । त्यसमाथि पेशा निवृत्त भैसकेको र परिवारको सहारा खोजिरहेको अवस्थामा कमाएर खान दिने, दुख विमारमा हेरचाह गर्ने सारथी सम्झिएको छोराछोरी र बुहारीले अब हामी नेपाल बस्दैनौं, विदेश जान्छौं भनेर कचकच गरिरहेका थिए । नेपालमा भएको जग्गा जमिन बेचेर भएपनि खर्च जुटाइदेओ भनेर हामी माथि थामिनसक्नु बोझ बनिरहेका थिए ।
यस्तै पिरलोमा परिरहेको बेला नयाँ वर्षको पहिलो विहानी आयो । मन सम्हाल्नै गाह्रो भयो । तर सम्हालिन त परेकै थियो । अनि आफ्नो पुरानै बानी अनुसार, एउटा किताब निकालेर पढ्न बसेँ । पढ्दा–पढ्दै मध्यान्हतिर रणबहादुर शाहको (सन् १७५५–१८०६) जीवनीतिर रम्न पुगेँ । उनको जीवनीमा अनेकन कहाली लाग्दा प्रसँगहरू भेटिए । तर त्यस्तै प्रसंगहरू मध्येको एउटा प्रसंगले म भित्र असीम जागरण, उत्साह र प्रेरणा उत्पन्न गरिदियो । अब म माटोलाई दोषी देख्ने न्यायाधीश वकिल, ठेकेदार, सरकारी इन्जिनियर, माटो विशेषज्ञ, प्रतिवेदनकर्ता र मेरा छोरा, बुहारी र छोरी समेतलाई सातो खाने गरि हप्काउन र तर्साउनका लागि मानसिक रुपमा सक्षम र सबल भैसकेको थिएँ ।
मलाई यसरी आत्मप्रेरणा दिने प्रसंग रणबहादुर शाहको जीवनीमा परेको रहेछ, जसले यो देशको माटो विरुद्ध बिराउने वा बिज्याइँ गर्ने र माटोलाई तिरस्कार गरी दोषी देख्नेलाई र माटोविरुद्ध विष वमन गर्नेलाई घुच्चुकमा हानेर एकै मुक्कामा थला पारिदिने शक्तिशाली प्रश्न दियो, माटोको विरुद्ध बिज्याइँ गरेर विराएर र विष वमन गरेर कसरी मुख देखाउन सक्छस्, ए बज्जे । पहिले ऐतिहासिक कथा सुनाउँछु, अनि माटो विरुद्ध बिज्याइँ गर्ने र विष वमन गर्नेको फेहरिस्त बताउँछु । रणबहादुर शाहको प्रसंग बाटै शुरु गरौं । नेपाल दरबारका महारानीहरू र भारदारहरूबीच किचलो परेर रणबहादुर शाहलाई जबरजस्ती स्वेच्छाले गद्दी त्याग गर्न लगाइयो । उनी जोगीको भेष धारण गरि स्वामी महाराज बनाइएर बनारसतिर धपाइए ।
यही मौका छोपेर ईष्ट ईण्डिया कम्पनीका अंग्रेज साहेबहरूले नेपाल खाल्डोमा व्यापार कोठी (रेजिडेन्सी) खोल्न नेपाल दरबारमा दबाव र पहुँच बढाए । पृथ्वीनारायण शाहको देहवसानपछि उनका जेठा छोरा प्रतापसिँह शाह गद्दीमा बसेका थिए, तर उनी राजकाजभन्दा पनि तन्त्रलम्पट हुने उद्यम गरिरहेका थिए । भूतप्रेत, मसान, बीर जगाउने तन्त्र साधक तान्त्रिकहरूको कब्जामा परेर तान्त्रिक हुने धुनमा थिए । दरबारको हालीमुहाली यिनकी जेठी महारानीको हातमा थियो । देवर बहादुर शाह (खास नाम फत्तेबहादुर शाह) पनि बेतियातिर निर्वासित रहेको बेला नेपाल दरबार र ईष्ट ईण्डिया कम्पनीबीच काठमाडौंमा व्यापार कोठी खोल्न सहमति भएको थियो । तर दरबारमा चौतरिया र भारदारहरूबीच किचलो थामिएको थिएन ।
महारानीले आफ्नो बल थप्न बहादुर शाहलाई स्वदेश फिर्ता बोलाएकी थिइन् । बहादुर शाह नेपाल फर्किएपछि उनी नेपाल विस्तारको अभियानमा होमिए । तिब्बतसँगको झमेला हतियार र युद्धकै बलमा सुल्झाउन भनि उनले तिब्बत हानिदिए । नेपालले दिगर्चा–ल्हासामा समेत लुटपाट मच्चाएर तिब्बत लगभग कब्जा गरिदियो । तर तिब्बतले नेपाललाई खलिता बुझाउनु पर्ने गरी सम्झौता भयो । तिब्बतले एकपटक खलिता पनि बुझायो । तर दोस्रो खलिता बुझाउन आएन तिब्बतको अर्घेल्याइँलाई तह लगाउन बहादुर शाहले फेरि तिब्बतमा चढाई गरे । यसपटक नेपाली सेना तिब्बतको भित्री भागसम्म पुग्यो । तर तिब्बतले गुहार मागेकोले चिनियाँ सेना नेपाली सेनासँग भिड्न आयो ।
नेपाली सेनालाई दपेटेर नुवाकोटको बेत्रावतीसम्म आइपुग्यो । नेपाललाई नसोचेको आपत आइलाग्यो । चिनियाँ सेनालाई त्यहाँबाट हटाउनै पर्ने भो । तर आफ्नो बुताले भ्याउने थिएन । त्यसैले चीनको बादशाहलाई खलिता बुझाउने र उनको आज्ञापालना गर्ने भनि सम्झौता गरेर चिनियाँ सेनालाई फिर्ता पठाइयो । यस युद्धमा नेपाललाई केही फाइदा भएन उल्टो धेरै घाटा मात्र भयो । सरकारी ढुकुटी पनि टाट पल्टियो र चीनको अधिनमा पनि बस्नुपर्ने भयो । यस मामिलालाई लिएर बहादुर शाहलाई फेरि निर्वासन गरि बेतिया पठाइयो । स्थिति केही साम्य भएपछि ईष्ट ईण्डिया कम्पनीले नेपालमा व्यापारको कोठी खोल्ने काम अघि बढाउन नेपाल दरबारलाई दबाव दिन थाल्यो ।
नेपाल दरबारको ढुकुटी टाट पल्टेको समय थियो । अंग्रेजको व्यापार कोठी खोल्न कीर्तिपुरमा जमिन पनि ठीक पारिसकेको थियो । त्यही बहानामा सरकारी ढुकुटीबाट मो.रु १८ हजार झिकियो । यसबेला रणबहादुर शाह स्वामी महाराज बनेर बनारसमा बसिरहेका थिए । उनले पनि वेपरवाह खर्च गरिरहेका थिए । नेपाल दरवारले उनको व्यवस्थापनको लागि भारी रकम खर्च गर्नु परिरहेको थियो । यही संकटपूर्ण अवस्थामा नेपाल दरबारले महारानी सुवर्णप्रभा र चौतरिया शेरबहादुर शाह (रणबहादुर शाहका सौतेनी भाई) समेतको निर्णयमा सरकारी ढुकुटीबाट अठार हजार झिकेर खर्च गरेका थिए । यो खर्चको हिसाब ठीक दुरुस्त थिएन । तत्कालीन दरबारका ढुकुटीका माकुल काजी त्रिभुवन प्रधान थिए ।
उनी चौतरिया शेरबहादुर शाहका आफ्नै मामा थिए । यिनकी दिदी मयजूलाई नेवारकी छोरी भएपनि रुपवती भएकी हुनाले प्रतापसिंह शाहले जर्वजस्ती दरबार भित्राएर रानी बनाएका थिए । जो मयजू महारानी भनेर चिनिन्थिन् । यिनै मयजू महारानीको बलमा त्रिभुवन प्रधान नेपाल दरबारको ढुकुटीको माकुल काजी बन्न पाएका थिए । रणबहादुर शाह यिनीसँग डराउँथे पनि र रिसाउँथे पनि । उनलाई गद्दी त्याग गरी जोगी बनाउन बल गर्ने र बनारसतिर धपाउनमा त्रिभुवन प्रधानको पनि भूमिका छ भन्ने शंका रणबहादुरलाई थियो । समयचक्र घुम्दै जाँदा रणबहादुरको बनारस निर्वासन समाप्त भयो । उनी जवरजस्ती नेपाल फर्किए र शासनभार लिन सफल भए ।
अब उनी दरबारबाट शेरबहादुर शाह र त्रिभुवन प्रधानलाई हटाउन चाहन्थे । यही योजना बमोजिम दरबारको ढुकुटीबाट झिकिएको अठार हजार रकमको खोजी भयो । त्रिभुवन प्रधान पक्राउ परे । उनलाई केरकार गर्दा सो रकम झिकिएको हो, तर बेमनासिव खर्च भएको छैन, कीर्तिपुरमा अंग्रेजको कोठी बनाउँदा खर्च भएको हो । यसमा महारानी र शेरबहादुर शाहको पनि सहमति थियो भनि बयान दिएछन । महारानी राजराजेश्वरी हेलम्बुतिर निर्वासित भैसकेकी थिइन् । त्रिभुवन प्रधान र शेरबहादुर शाह शंकाको घेरामा थिए । त्रिभुवन प्रधान पक्राउ परिसकेको थिए, तर शेरबहादुर शाह अझै फन्दामा परिसकेका थिएनन् । यही कुरो टुंगो लगाउन त्रिभुवन प्रधानकै घर (रणमुक्तेश्वर)मा दरबार शुरु भो ।
त्रिभुवन प्रधानलाई अगाडि उभ्याएर राजा रणबहादुर शाहले आफ्ना सौतेनी भाई शेरबहादुर शाहलाई केरकार गर्न शुरु गरे । रणबहादुरले शेरबहादुरलाई हेर्दै रिसाएर प्रश्न गरे, ए शेरे, ढुकुटीको त्यत्रो धन झिकेर खर्च गर्न तँ पनि लागेको थिइस् हैन त ? लौ भन, ढुकुटी फोरेर कुन बैरीसँग युद्ध गरिस् ? देशको माटो कति बढाइस् ? फिरङ्गीलाई नेपालमा कोठी खोलिदिन नेपालको धन खर्च किन गरिस् ? किन ? लौ भन्, तैले माटोविरुद्ध बिज्याइँ गरिस् कि गरिनस् ? शेरबहादुरले बिन्ती गरेछन्, मैले जानिन्, बिराएँ, माफी पाउँ । रणबहादुरले भनेछन्, हेर शेरे मेरो धन मासेको भए त म माफी पनि दिन्थेँ होला । तर तैँले माटोको ढुकुटी मासेर नकाम गरिस् ! के खाएर माटोको विरुद्ध बिज्याइँ गरिस्, ए बज्जे ? तैँले कसरी, कुन मुखले माफी माग्छस्, ए बज्जे ?
यति भनिसकेर उनले निर्णय सुनाएछन्, माटोलाई दोष दिने, माटोको विरुद्ध बोल्ने र माटोको ढुकुटी फोरेर बिज्याइँ गर्ने जति सबै नराधम हुन् । मातृद्रोही हुन् । तिनलाई यो माटोमा उभिने हक छैन । तदनुसार राजाज्ञाको पालना भयो । २०८० साल बैशाख १ गतेको बिहान, रणबहादुर शाहले उहिले गरेको यही प्रश्न र निर्णयले मलाई मुख खोलेर त्यही प्रश्न दोहोर्याउन अतुल प्रेरणा दियो । मभित्र असीम आत्मबल भरिदियो । मलाई आफु अझै ज्यूँदै छु जस्तो लाग्यो । जसरी नव वर्षमा म असीम आत्मबलले भरिएको छु र म चाहन्छु, माटोको माया गर्ने हामी सबै नेपालीहरूमा यस नववर्षले यस्तै आत्मबल भरिदेओस्, र, हामी सबैले समवेत स्वरमा प्रश्न गर्न सकौं, माटोको बिरुद्ध के खाएर बिज्याइँ गरिस, ऐ बज्जे ?
के खाएर माटोलाई दोषी ठहर्याइस, ए बज्जे ? मलाई नव वर्षले अत्यन्त उत्साह भरिदिएको छ । त्यसैले म सोध्छु, के खाएर सिक्टाको माटोलाई दोषी देखाइस्, ऐ बज्जे ? तँ नराधम, मातृद्रोही होस कि होईनस् ? लौ भन, यो माटोमा उभिने तेरो हक छ र ? मधेशको जमिन नेपालको अभिन्न अंग होइन, त्यहाँ नेपालको हक कायम छैन भनेर कसरी बोल्न सकिस्, ए बज्जे ? ए नराधम, तँ मातृद्रोही होस् कि होईनस् । यो माटोमा उभिने तेरो अधिकार छ र ? कसरी मुख देखाउन सक्छस्, ऐ बज्जे ? लिपुलेक–लिम्पियाधुरामा जनगणना गराउने काम कसरी पन्छाउन सकिस्, ऐ बज्जे । तँ मातृद्रोही होइनस् र ? नेपाली राष्ट्रिय परिचयपत्र, नेपाली नागरिकता, नेपाली पासपोर्ट र नेपालीको व्यक्तिगत जैविक सूचना बायोमेट्रिक समेतमा परेका जानकारीहरू रुजु गर्न विदेशी संस्थालाई जिम्मा दिने धुत्र्याइँ कसरी गर्न सकिस्, ऐ बज्जे ।
तँ भातृद्रोही होइनस् र ? नेपालमा बसेर उन्नति, प्रगति सम्भव छैन, नेपाल खत्तम भैसक्यो भनि ठूल्ठुलो स्वरमा विदेशमा बसेर किन कुर्लन्छस्, ऐ बज्जे ? नेपालमा उखडा ल्याउन चाहने तँ मातृद्रोही होईनस् र ? कोशी सम्झौता, गण्डकी सम्झौता, महाकाली सम्झौता, र कालापानी सम्झौता कसरी गर्न सकिस्, ऐ बज्जे ? यो माटोमा उभिने तेरो हक छ र ? अरुण, कर्णाली जस्ता प्रचुर विद्युत उत्पादन गर्ने थलो अर्थात् सेतो सुनखानी विदेशीलाई हस्तान्तरण गर्न कसरी सकिस् – ऐ बज्जे ? तैँले माटोको विरुद्ध बिराएको छैनस् र ? कसरी मुख देखाउन सक्छस् ? अब पश्चिमबाट सूर्य उदाउँछ, महाकालीबाट खरबौं आम्दानी आउँछ भनेर कसरी छल्न सकिस्, ऐ बज्जे ? आज टनकपुरको आफ्नै भूमिमा पाईला राख्न विदेशीको अनुमति लिन पर्ने अवस्था कसरी ल्याइदिइस्, ऐ बज्जे । तँ मातृद्रोही होइनस् र ?
सरकारी ढुकुटी (राजस्व)को रकम मासेर विकास निमार्णका काम जति अलपत्र पारेर कसरी भाषण गर्दै कुर्लिन सक्छस्, ऐ नराधम ? देशका भरभराउँदा १७ हजार जनशक्तिलाई मृत्युको मुखमा धकेलेर, तिनको मृत शरीरलाई आड बनाएर कसरी शासनसत्तामा बस्न सकेको छस् ऐ, जनद्रोही । तँ भातृद्रोही होइनस् र ? देशमा जातीय द्धन्द्ध चर्काएर, आपसी भाइचारा हरण गरि राष्ट्रलाई कमजोर, निरीह र बिदेशीको ईशारामा नचाउने कुकृत्य कसरी मच्चाउन सकिस्, ऐ बज्जे । तँ मातृघाती होइनस् र ? यो माटोमा उभिने तेरो हक छ र ? बाप बैरी, भाई बैरी, गुट बैरी, जात बैरी, सम्प्रदाय बैरी तथा नश्ल बैरी साधना गर्ने खेललाई कसरी राजनीति गरेको भनेर परिभाषित गर्न सकिस्, ऐ बज्जे ?
आफ्नै खुट्टामा बञ्चरो हान्ने खेलमा परिरहेको थाहा पाउन सक्दैनस्, नराधम । ए नराधम तैंले माटोको बिरुद्ध धेरै बिज्याइँ गरिसकिस् । माटोको विरुद्ध धेरै नकाम गरिसकिस् । माटोलाई दोषी देखाएर महापाप गरिसकिस् । माटोलाई उपेक्षा गरिस्, घृणा गरिस् । यो माटोमा उभिने तेरो हक छ र ? यसमा बिराएँ भनेर माफी मागेर पुग्दैन, तैँले माफी पाउँदैनस्, नयाँ वर्ष २०८० ले यहि सन्देश लिएर आएको छ । नयाँ वर्ष २०८० को जय मनाऔं । र, प्रश्न गरौं, के खाएर माटोको बिरुद्ध बिज्याइँ गरिस्, ऐ बज्जे ? के खाएर माटोलाई दोषी देखिस्, ऐ बज्जे ? के खाएर माटोको विरुद्ध बोल्दैछस्, ऐ बज्जे ? तँ मातृद्रोही होइनस् र ? अन्तमाः नेपालमा भविष्य पनि छैन, अवसर पनि छैन भनेर विदेश जान चाहने मेरा आफन्तहरूलाई यति भन्छु, नेपालमा जति सुरक्षित भविष्य नेपालीका लागि अन्त कतै छैन ।
यहाँ यतिधेरै अवसर छ, जहाँ हात हाले पनि प्रतिस्पर्धा अत्यन्त न्युन छ । यहाँ धेरै र अति राम्रो काम गरिरहन पनि पर्दैन । नराम्रो काम नगरी थोरै मात्र राम्रो काम गर्दा पनि रातारात नाम कमाउन सकिन्छ । यहाँ जजसले नाम र प्रशंसा कमाएका छन्, तिनलाई राम्ररी जाँच्नुहोस् त ! तिनले न त धेरै परिश्रम गरेका छन्, न नै अहो ! भन्नुपर्ने अति उत्तम काम नै गरेका छन् । यहाँ माटोप्रति बिज्याइँ मात्र नगरे पनि आदर सम्मान पाइन्छ । तर बिदेशमा लाखौं लाख ईमान्दार र प्रतिभाशाली मानिसहरू आफ्नो पहिचान बनाउनकै लागि जीवन भर कडा परिश्रम गर्दछन्, तर पनि आफ्नो पहिचान बनाउन सक्ने थोरै मात्र हुन्छन् । अझ पनि तपाईहरू नेपालमा अवसर नै छैन भनेर भन्नुहुन्छ भने त तपाईले माटोको उपेक्षा गरिरहनु भएको छ । तपाईलाई धक फुकाएर सोध्न मिल्छ, माटोको उपेक्षा किन गरिरहेको छस्, ऐ बज्जे ?
हस्त गुरुङ । काठमाडौं