सूचनाको शक्ति - The Power Of Information

        

इदको खरिदारी : नेपालगन्ज सुनसान, सीमापारि चहलपहल

मुस्लिम समुदायको इद नजिकिएसँगै सीमापारि बजारमा चहलपहल बढेको छ । नेपालगन्ज बजारमा खासै चहलपहल सुरु भएको छैन । नेपालगन्ज सुनसानजस्तै छ । सीमापारि रुपैडिहा बजारमा भने किनमेल गर्ने नेपालीको अत्यधिक घुइँचो लाग्ने गरेको छ ।

दशैँ र तिहारजस्तै इदका लागि पनि अधिकांश नेपाली उपभोक्ता सीमापारि गएर किनमेल गरिरहेको पाइएको छ । भारत रुपैडिहाका व्यवसायी ओमकार वैश्यले अन्य दिनको तुलनामा अहिले दोब्बरभन्दा बढी बिक्री बढेको बताए ।

उनले नेपालगन्जबाट मात्र नभई कोहलपुर, राँझा, खजुरा, बर्दियाको बासगढी, भुरीगाउँ र दाङ तथा सुर्खेतबाट खरिदारीका लागि नेपाली आइरहेको बताए । नेपालगन्जका फिरदौसजहाँ खानले नेपालगन्जभन्दा सामान धेरै सस्तोमा पाइने भएकाले रुपैडिहा आएको बताइन् ।

दशैं, तिहार, इद जस्ता चाडपर्वमा मात्रै होइन, नेपाली उपभोक्ता किनमेलका लागि सधैं रुपैडिहा जाने गर्छन् । रुपैडिहाका पसलमा नेपाली ग्राहकको खुट्टा राख्ने ठाउँ हुँदैन । यहाँका व्यापारी भने झिँगा धपाएर बस्नुपर्छ ।

चाडपर्वका समयमा किनमेल गर्न भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को लाग्छ । यो समस्या अहिलेको होइन । नेपाली उपभोक्तालाई यहाँका व्यापारीले नेपालगन्जमै रोक्न सकेको देखिँदैन । यहाँका व्यापारीसँग उपभोक्तालाई रोक्ने कुनै योजनासमेत छैन ।

नेपालगन्जमा भन्दा रुपैडिहामा सस्तोमा सामान पाइने भएपछि नेपाली उपभोक्ता भारतीय बजारप्रति आकर्षित हुने गर्छन् । उद्योग वाणिज्य सङ्घको निर्वाचनका बेला उपभोक्तामैत्री अभियान चलाउने भन्दै चर्को नारा लगाउने व्यापारीहरु निर्वाचनपछि सेलाउँछन् ।

उपभोक्ताहरुका अनुसार खाद्यान्नदेखि लत्ता कपडासम्म सस्तोमा पाइने भएपछि किनमेलका लागि भारतीय बजार नेपाली उपभोक्ताको भीड लाग्ने गर्छ । नेपालगन्जका व्यापारीहरुले पसलै पिच्छे फरक फरक दरमा सामान बेचेर विश्वास गुमाएको उपभोक्ताहरुको बुझाई छ ।

घरायसी सामान खरीदका लागि भारतीय बजार रुपैडिहा जाँदै गरेका बाँके बैजनाथ गाउँपालिका–४ बानियाभारका सन्देश राना भन्छन्, ‘यहाँ एउटै सामानको दर फरक फरक हुन्छ । ग्राहकलाई राम्रो व्यवहार पनि हुँदैन । त्यसैले म सधैं रुपैडिहा जाने गर्छु ।’

सीमापारि भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको बाक्लो उपस्थितिले नेपालगन्जका व्यापारीलाई वर्षौंदेखि पिरोल्दै आएको छ । सरकारी निकायको उदासीनताका कारण नेपालगन्जमा नेपाली उपभोक्ताको आकर्षण बढ्न सकेको देखिँदैन ।

नेपालगन्जका व्यापारीमा उपभोक्ता आकर्षण गर्ने व्यावहारिकताभन्दा पनि वस्तु तथा सेवा लाद्ने गलत प्रवृत्ति छ । चाडपर्वमात्र होइन, अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहामै निर्भर रहने गरेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार ०९:५८