हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार सामान्य घटेको छ ।
दिनभर तलमाथि भइरहेको शेयर बजार बन्द हुने बेलामा दुई दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ३१ दशमलव ६८ विन्दुमा झरेको छ ।
आज होटल, बीमा र बैंक समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । आज दुई सय ६५ वटा कम्पनीका ३० लाख ५६ हजार कित्ता शेयर ९७ करोड ४५ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ८९ लाख र एनआईसी एसिया बैंकको तीन करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै एसियन हाइड्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशतले र सगरमाथा जलविद्युत् कम्पनीको शेयर साढे छ प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेको दिन आज आदर्श लघुवित्त, मोलुङ खोला हाइड्रोपावर र कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ