सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

तीन प्रदेशमा वर्षाको सम्भावना, कहाँ कति गर्मी ?

देशभरको तापक्रम क्रमशः बढ्दो क्रममा छ । केही स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार तीन वटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको छ । साथै देशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आइतबार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ भने देशभरको तापक्रम क्रमशः बढ्दो क्रममा रहेकाले गर्मी पनि ह्वात्तै बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको छ । मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणमा हाल १२ स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा बढी छ । महाशाखाले २० स्थानको विवरण सार्वजनिक गरेको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार जनकपुरको अधिकतम तापक्रम सबैभन्दा बढी ३९.५ डिग्री सेल्सियस छ । नेपालगन्जको ३९, धनगढी र विराटनगरको समान ३८.३, सिमराको ३८.२, दिपायलको ३७.३, भैरहवाको ३७.२, धरानको ३७, वीरेन्द्रनगरको ३५.६, घोराहीको ३३.३, धनकुटाको अधिकतम तापक्रम ३०.८ डिग्री सेल्सियस छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको अधिकतम तापक्रम ३०.३ डिग्री सेल्सियस रहेको छ । यो शनिबार दिउँसो मापन गरी सार्वजनिक गरिएको विवरण हो । मौसम पूर्वानुमान महाशाखाले हरेक दिन बिहान न्यूनतम र दिउँसो अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतवार ०६:४१