सूचनाको शक्ति - The Power Of Information

        

‘२०७९’ निर्वाचनको वर्ष: चुनिए ३७ हजार ४६ नेता

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह गरी तीनै तहमा वर्ष २०७९ मा निर्वाचन सम्पन्न हुँदा मुलुकमा ३७ हजार ४६ जना जनताका नेता चुनिएका छन् ।

नेपालको निर्वाचन इतिहासमा २०५६ सालपछि एकै चरणमा निर्वाचन भएको यो नै पहिलो वर्ष मानिएको छ । वर्ष २०७९ मा निर्वाचनमार्फत वडा सदस्यदेखि, पालिका तहका नेतृत्व हुँदै प्रदेश र प्रतिनिधिसभा सदस्यसम्म चुनिएका छन् ।

यस्तै, मुलुकले वर्ष २०७९ मा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमार्फत दुवै पदमा नयाँ अनुहार पाएको छ । निर्वाचनमार्फत नेपालको राजनीतिक इतिहासमा वर्ष २०७९ ले ऐतिहासिक वर्षका रूपमा दर्ज हुने अवसरसमेत पाएको हो ।

गाउँगाउँमा सिंहदरबारको नारासहित संघीय संरचनामा अघि बढिरहेको मुलुकमा घरआँगनबाटै सेवा लिन आफ्ना नेता आफैं छान्ने दोस्रो विशेष वर्षका रूपमा वर्ष २०७९ रह्यो ।

३० वैशाखबाट स्थानीय तहको निर्वाचन हुँदै आरम्भ भएको मुलुकको चुनावी यात्रा ३ चैतमा उपराष्ट्रपतिको निर्वाचनसँगै सकिएको हो । स्थानीय तहको निर्वाचन ३० वैशाखमा सम्पन्न हुँदा स्थानीय तहका ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तहमा ३० वैशाखमा नेतृत्व चयन भएको थियो ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार ०७:२४