सूचनाको शक्ति - The Power Of Information

        

ढाकाको भाग्यमा डढेलो, विन्दवासिनीको चम्कियो भाग्य

मेडिकल ब्यवसायी दुर्गा प्रसाईसँगको दुई करोड घुस प्रकरणले ढाकाकुमार श्रेष्ठको भाग्यमा डढेलो लाग्दा रास्वपाकै नेतृ विन्दवासिनी विन्दवासिनी कंशाकारको भाग्य चम्किएको छ । रास्वपाले श्रेष्ठलाई फिर्ता वोलाएर उनको ठाउँमा कंशाकारलाई सांसद बनाउने भएको छ ।

केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठको सांसद पद खारेज गर्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि कंशाकारलाई सांसद बनाउने भएको हो । बैठकपछि अयोजित पत्रकार सम्मेलनमा लामिछानेले श्रेष्ठले आफ्नो अडियो भएको स्वीकार नगरेपनि पार्टीले छानबिन गर्दा श्रेष्ठकै अडियो प्रमाणित भएको बताए ।

त्यसअघि बैठकबाट बाहिरिदै ढाकाकुमार श्रेष्ठले केही महिना पहिलेको अडियो अहिले ल्याएर प्रचार गर्नु पार्टीमाथि प्रहार भएको बताएका थिए । श्रेष्ठले आफू पार्टीको सदस्यबाट पनि बाहिरिएको र न्यायिक प्रक्रियामा गइसकेको उल्लेख गरे । केहिदिन अघि श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएको थियो ।

त्यही विषयलाई टुङ्गोमा पुर्याउन वुधवार वसेको वैठकले श्रेष्ठको ठाउँमा विन्दवासिनीलाई सांसदको रुपमा सिफारिस गरेको हो । १० वर्षअघि एसिड आक्रमणमा परेकी उनी समानुपातिकतर्फ जनजाती महिलाको सूचीमा यसअघि अटाएकी थिइनन् । रास्वपा स्थापना कालदेखि नै जिल्ला सदस्य रहेकी उनलाई केही साताअघि मात्रै पार्टी सभापति रवि लामिछानेले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

बिहेको प्रस्ताव अस्वीकार गरेपछि २०७० बैशाख ९ गते एक भारतीय नागरिकले उनीमाथि एसिड आक्रमण गरेका थिए । फुपूका छोराको मिल्ने साथीको रूपमा उनको भारतीय नागरिक दीलिपराज केशरीसँग परिचय भयो । केशरी हेटौंडामा रहेको विन्दवासिनीको पसलमा आउन थाल्यो । कलेज जाँदा, ट्युसन जाँदा पनि बाटो ढुकेर बस्ने र पछ्याउने गर्न थाल्यो । उसले फोनबाटै बिहेको प्रस्ताव राख्यो । विन्दवासिनीले सम्झाउने प्रयास गरिन्, तर केशरीले मानेन ।

वैशाख ९ गते बुवाआमाको वैवाहिक वर्षगाँठ (एनिभर्सरी) । विवाह भएको दिनलाई उत्सवका रूपमा भव्य बनाउने तयारी भइरहेको थियो । त्यही बेला पसल अगाडि केशरी देखा पर्यो । अनुहारमा एसिड छ्यापेर भाग्यो । उनी चिच्चाउन थालिन् । छोरीको अनुहारमा कसैले तेजाब खन्याइ दिएको थाहा पाएका बाबुले रुँदै पानी खन्याउन थाले । त्यसपछि शारीरिक एवं मानसिक चोटले गम्भीर बनेकी विन्दवासिनी न्याय प्राप्तिको लडाइँमा अनवरत लडिरहिन् ।

अव सरकारलाई झक्झकाउने ठाउँमा पुगेकी कंशाकार आफै न्यायका लागि आठ वर्षसम्म यत्रतत्र भौतारिइन् । तर लामो समयसम्म उनले न्याय पाइनन् । अन्ततः दुई वर्षअघि पीडकलाई प्रहरीले पक्राउ गर्यो । केशरीलाई ज्यान मार्ने उद्योगअन्तर्गत आठ वर्ष कैद र १ करोड १४ लाख रुपैयाँ जरिवानाको फैसला भयो । उनको अनुहारमा निकै क्षति पुगेको छ । अहिलेसम्म उनले २० पटक अनुहारको शल्यक्रिया गराइसकेकी छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १७:२२