सूचनाको शक्ति - The Power Of Information

        

डढेलोका कारण बढ्यो वायु प्रदूषण

पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ । डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण विभागले जनाएको छ ।

पश्चिमी क्षेत्रबाट प्रदूषित हावा उपत्यका आउँदा यहाँको मौसम खासै खुल्न सकेको छैन । विभागका महानिर्देशक शिवलाल तिवारीले जारी गरेको प्रेस विज्ञप्तिमा बारा, पर्सा, चितवन लगायत देशभरका १४० स्थानमा लागेको डढेलोका कारण काठमाडौँ उपत्यकासहित देशको मध्य तथा पूर्वी भागमा वायुको प्रदूषण अत्यधिक बढेको पाइएको छ ।

प्रदूषण बिहान र बेलुकी अत्यधिक बढेको छ । विज्ञप्तिमा वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाई असर गर्ने भएकाले काम नपरेसम्म घरबाट बाहिर ननिस्कन, निस्कनै परे मास्क तथा चस्मा लगाउन र सावधानी अपनाउन आग्रह गरिएको छ ।

अहिले बुटवल, ललितपुरको पाटन, भक्तपुर, मध्यपुर थिमि, काठमाडौँको रत्नपार्क, कीर्तिपुर र हेटौँडाको हावा निकै अस्वस्थ कर रहेको मौसमविद्हरूले जनाएका छन् । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्युआई)का अनुसार यी क्षेत्रमा वायुको गुणस्तरले जोखिमको तह नाघेको छ ।

शून्यदेखि ५० सम्मको मापनलाई सामान्य अवस्था मानिन्छ । तर बुटवलमा २९२, पाटनमा २३२, भक्तपुरमा २२२, कीर्तिपुरमा १९१, मध्यपुर थिमिमा १८७, रत्नपार्कमा १८६ र हेटौँडामा १७४ छ । वायुको गुणस्तरको मात्रा १५१ देखि दुई सयसम्म पुगे मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

यो मात्रा १०२ देखि १५० सम्म पुगे ज्येष्ठ नागरिक र बालबालिकालाई खोकी लाग्ने र श्वास फेर्न गाह्रो हुने बताइएको छ । यसैगरी डढेलो अझै लागिरहे प्रदूषण अझै बढ्ने भएकाले डढेलो नियन्त्रणका लागि ध्यान दिन उक्त विभागले सबैमा आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १५:०८