सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्न भन्दै विद्रोही (नेकपा माओवादी)ले २०५२ फागुन १ गते जनयुद्ध घोषणा गर्यो । जनयुद्ध घोषणापश्चात् जनयुद्धमा होमिनेको लहर चल्यो । जनयुद्धका चर्का चर्का नारा लागेपश्चात् चुलोचौको सिमित नारीहरू पनि होमिए ।
चुलोचौकोमा सिमित रहेका नारीहरू युद्धकै क्रममा जनयुद्धताका बेला उकाली ओराली हुँदै तराईका समथर भुभाग हुँदै पहाडका खोँचसम्म पुगे । त्यही तराईको समथर भुभाग हुँदै पहाडको खोँचसम्म यात्रा गर्ने चेली हुन् दैलेख ठाटीकाँध गाउँपालिका–२ टोम्टाल्लाकी उर्मिला थापा (रुपा) । चुलोचौकोमा सीमित उर्मिला पनि जनयुद्धका चर्का नारापश्चात् चुलोचौको छाडेर युद्धमा होमिएको बताउँछिन् ।
दश वर्षे सशस्त्र जनयुद्धमा होमिएकी उर्मिला अहिले फेरि चुलोचौकोमै सिमित भएकी छिन् । तत्कालिन माओवादीले सुरु गरेको माओवादी युद्धले सर्वहारा वर्गको राज्य स्थापना हुनुका साथै सर्वहारा वर्गमाथि हुने थिचोमिचो अन्त्य हुन्छ भन्ने सपनाका साथ युद्धमा होमिएकी उर्मिलाको सपना अधुरै रह्यो । माओवादी युद्धले यो मुलुक परिर्वतन भएर युद्धका बेला चर्का नारा लगाउने त्यही माओवादीले अधिकारको दुरुपयोग गर्दै आफ्नालाई मात्रै जागिर दिने गरेको छ ।
‘जनयुद्धमा होमिएका घाइते अपाङ्ग अहिले पनि गाउँबस्तीका झुपडीभित्रका कुनाकन्दरामा बस्दै आएका छन्,’ उर्मिला थापा (रुपा) भन्छिन् । जनयुद्धमा होमिदा महिला हिंसाको अन्त्य हुन्छ । बालबिवाह, बहुबिवाहको अन्त्य हुन्छ । सर्वहारा वर्गको राज्यसत्ता स्थापना भयो भने उत्पीडित नागरिकका दिनहरू आउँछन् । सहजरुपमा बाँच्न सक्छन्,’ भन्ने ठुलो आशाका साथ उर्मिला पनि २०५८ साउन ८ गते माओवादी जनयुद्धमा होमिएकी हुन् ।
माओवादीतिर यात्रा
दुल्लु नगरपालिका साविको ९ माइती घर भएकी उर्मिला थापा (रुपा)को घर नजिकै प्रहरी चौकी थियो । उर्मिला नौ कक्षामा पढ्दै थिइन् । साँझ विहान विद्यालय आउँदा जादा प्रहरी दुःख दिइरहन्थ्यो । बेला बेला भन कहाँ छन् माओवादी भन्दै समय समयमा उर्मिलालाई चौकीमा बोलाइरहन्थे । प्रहरीले त्यसरी सताउन थालेपछि अन्तः उहाँ माओवादी हुने निर्णय गरिन् । ‘महिला मुक्ति, जातीय मुक्तिका निम्ति लड्नुपर्छ’ भनेर घरमा आउने माओवादी साथीहरूले उर्मिलालाई साहस दिइरहन्थे ।
माओवादी युद्धमा लाग्नको लागि एक दिन उर्मिलाले बुबालाई भन्न आँट गरे, ‘बुबा म जनयुद्धमा जान्छु,’ त्यति भन्न नपाउँदै बुबाले ‘त्यसो भए जनयुद्धमा जाने भए पहिले तेरो दोपट्टा दिएर जानु पहिले म मर्छु त्यसपछि मात्र जनयुद्धमा लाग्नु भनेर भनेको कुरा’ रुपाको मस्तिष्कमा ताजै छ । निरन्तर बुबालाई सम्झाइबुझाई गरेर अन्ततः बिहान बुबा निदाएको मौका पारेर बिहानको झिसमिसेमै घर छाडेर गीताचौरतर्फ लागिन् । त्यसपछि माओवादी युद्धमा निरन्तरता दिइन् ।
चुलोचौकोमै सिमित
बुबालाई फकाउँदै दैलेख हुँदै जनयुद्धमा उदायकी रुपा अहिले झुपडीको चुलोचौकोमै सिमित भएकी छिन् । जनयुद्धताका बेला जनयुद्धमा सँगै हिडेकी रुपा अहिले एक्लै छिन् । उनलाई कसैको साथ छैन । जनयुद्धमा होमिदा दैलेख हुँदै जाजरकोटको मजकोट पुगिन् । केही समय त्यतै बसिन् । महिला मुक्ति, जातीय मुक्तिका बारेमा त्यही बसेर जागरुक बनाउने काम गरिन् । साउनदेखि तीन महिना त्यतै बसेर आफुले पनि टेर्निङ लिइन् । उनको प्रेरणाले चुलो चौकोमा सिमित कैयौँ चेलीहरू युद्धमा होमिन तयार भएका थिए । तर, उनी अहिले आफै पीडित र अशक्त भएकी छिन् ।
मर्न र मार्न तयार
तीन महिनाको टेर्निङ पाएपछि सहज महशुस भयो । माओवादी युद्धमा होमिसकेपछि रुपालाई लागिसकेको थियो राज्यसत्ता पलउनको लागि कित मर्नुपर्छ कि मार्नुपर्छ । राज्यसत्ता पल्टाउनको लागि जतिबेला जे पनि हुन सक्छ भन्ने मानसिकतामा तयार भइसकेको थियो । एक छाक खाना खाएर पनि राज्यसत्ता पल्टाउनका निम्ति लागेको अहिले पनि ताजै छ । राज्यसत्ता पल्टाएर सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्न तयारी थियो ।
२०५८ साल फागुनको महिना अछामको मङ्गलसेन आक्रमण गर्न टोली अगाढी बढ्दै थियो । रातीको साढे नौ बजेर फायर भयो । रातीको नौ बजे सुरु भएको लडाइ बिहान चार बजे मात्र सकिएको थियो । माओवादीले बिजय प्राप्त गरेको थियो । रुपाको आँखै अगाडी उनका थुप्रै साथीहरू सहिद भएको स्मरण ताजै छ । जनयुद्धमा लड्दै गर्दा उनी सेक्सन भिसि भइन् ।
उर्मिला भन्छिन्, ‘दैलेखको नौमुलेबाट बिदा भएर जाजरकोटतर्फ लागियो । जाजरकोटबाट सल्यान पुग्न भेरी तर्नुपर्दथ्यो । भेरीमा नाउ थिएन । चैतको महिना लौकाको (चिन्नु) ढाडमा बाँधेर भेरी तर्नुपर्ने बाध्यता थियो । ढाडमा चिन्नु बाँधेर अरु १५० जना लस्कर सुतेर तर्ने क्रममा सुर्खेतको रोशन चौधरी बगेका थिए । बगेर तलसम्म पुग्दा पनि बाइबाइका हातहरू हल्लाउदै क्रान्ति सफल पार्न निर्देशन दिएको प्रष्ट थियो । ठुलो भेरी बचाउन सक्ने परिस्थिति थिएन । एक जनालाई बचाउन खोज्दा सबैजनाको मृत्यु हुने थियो ।’
प्युठान सदरमुकाम हान्ने योजना
उर्मिला भन्छिन्, ‘सल्यान हुँदै प्युठान सदरमुकाम हान्ने योजनामा अघि बढ्यौँ । अन्तिम पोष्टमा पुग्दा उताबाट आर्मि आयो । सिस्नेको भिरमा भिडन्त भएको थियो । त्यो भिडन्तमा परेर सातजना सहीद भए । त्यसपछि रातारात रातीको बाटो तीनवटा बटालियन कमाण्डरका करिब १५ सयजना बाटो छिचोल्दै अघि बढ्यौँ ।
एकजना अघि हिडेर त्यसको पछिपछि अरु हिडेका थियौँ । बिचमा एकजना फुत्केमा सबैजनाको ज्यान जान्थ्यो । रातभरी हिडेर भोलीपल्ट रोल्पाको गाममा पुगियो । रातको निन्द्रा, थकाइ नभनेर गामको भिडन्तमा पनि भोकभोकै लडेको रुपा बताउँनुहुन्न्छ । राती दुइ बजेसम्म लड्दा माओवादीले पूर्ण बिजय गरेको थियो । त्यसपछि रुकुम पुगियो । त्यहाँ पुग्दा प्रहरी आफै सुरुङ खनेर भागेर गाम पुगेको थियो ।’
रुकुम खारा लडाई
उर्मिला भन्छिन्, ‘२०५९ जेठ १९ गते राती नौ बजेबाट लडाइ सुरु भयो । निरन्तर लडाइ चलिनै रह्यो । नौ बजे सुरु भएको लडाई बिहान पाँच बजेसम्म चल्यो ।’ उक्त भिडन्तमा परि ३०० जना सहीद भएका थिए । निरन्तर लडाइ लड्दा पनि माओवादी पराजय भए । रुकुमको खार आक्रमण पश्चात् अर्घाखाचिको सदरमुकाम सन्धिखर्क पुग्ने योजनामा रुपा सहित उनको टीम सन्धिखर्क पुग्यो ।
भदौको महिना थियो पानीमा भिज्दै विभिन्न दुःख संघर्षसँग जुध्दै टोली निरन्तर अघि बढेको थियो । अर्घाखाँचीको सदरमुकाम सन्धीखर्क हान्ने योजाना माओवादीले बनाएको थियो । त्यहि तयारीमा टोली निरन्तर अघि बढेको थियो । भदौ २३ गते तीज परेको थियो । तीजको रौनक बजारमा निकै चलेको थियो । रातीको नौ बजे फायर गर्ने योजना थियो । योजना अनुसार नौ बजे फायर गर्न सुरु गरियो ।
फायर चल्दा बजार सुनसान भयो । राज्यपक्ष र माओवादी पक्षबीच फायर चल्दै थियो । फायर गर्ने क्रममा म पनि गोलीको निशानाबाट उम्किन सकिनन् । राज्य पक्षको गोली लागेर ठाउँको ठाउँ ढले । गोली बायाँ खुट्टाको ह्पि हुँदै बाहिर निस्केको रहेछ । गोली लागेपश्चात् उनी ठाउँको ठाउँ ढलिन् । उपचारको लागि लैजाने क्रममा तीन घण्टा हिडेर उपचार गरेपश्चात् पाँच घण्टामा होस आयो ।’
उपचारको लागि लखनउ यात्रा
अर्घाखाची सदरमुकाम हान्ने क्रममा घाइते भएकी उर्मिलाको उपचारका लागि नेपालमा सम्भव थिएन । घाउ चर्केकै थियो । एक महिनासम्म घाउमा लगाउने औषधीसम्म पाइनन् । रोल्पा पुगेर दाङ हुँदै पार्टीले समन्वय गरेर लखनउ पुर्यायो । उनको उपचार त्यहाँ पनि सम्भव भएन । त्यहाँबाट पनि भारतको पन्जाबको जालन्धर पुगेर उपचार भयो । उनको साथमा सात जना साथीहरू थिए त्यसमध्ये तीन जनाको खुट्टा थिएन ।
त्यो देखेर उर्मिलालाई बेला बेला जिन्दगीबाट हार खाएजस्तै हुन्थ्यो । उपचारकै क्रममा त्यहाँ उपचारसँगै आराम गरेका बेला उनी त्यहाँ बसेको भारतीय आर्मीले जानकारी पाइसकेको थियो । उर्मिला भन्छिन्, ‘राम्रोसँग उपचार नहुँदै नेपाल फर्के । नेपाल फर्किने क्रममा पनि बाटोमा विभिन्न दुःख कष्ट भोग्दै २०६२ मा नेपाल फर्किएँ । केही समयको उपचारपश्चात् नेपाल फर्केर पनि माओवादी सेनामा जोडिन सक्ने अवस्था थिएन ।
नेपाल फर्केर नेपालगन्ज क्षेत्रीय स्वस्थ्य विभागमा थन्काइयो । २०६४ को चुनावमा आफ्ना अनुभूति सुनाउन भन्दै पार्टीले आ–आफ्नो जिल्ला पठाउने निर्णय गर्यो । सबैजनासँगै उर्मिला पनि आफनो दैलेख जिल्ला फर्किइन् । त्यो बेला पार्टीले आफुलाई क्यान्टोनम्यान्टमा पनि नराखेको गुनासो उनको छ । ‘पार्टीले पछि छुट्टै व्यवस्था हुन्छ भन्थ्यो,’ उनले भनिन्, ‘१७ वटा लडाइ लडेर अहिले कुनै व्यवस्था भएन । अपाङ्ग शरीर लिएर चुलौचौकोमै थन्किए ।’
अहिले उनलाई शारिरिक,आर्थिक, सामाजिक रुपमा कसैको पनि साथ छैन । आफ्नो लगानीले देशमा केही हदसम्म परिर्वतन भएपनि आफ्नो जीवन झनै अध्यारोतर्फ धकेलिएको उनको दुखेसो छ । उर्मिला भन्छिन्, ‘हाम्रै त्यागका कारण देशको मुहार परिर्वतन भयो तर, गरिब निमुखा सर्वहारा वर्गको मुहार कहिलेही फेरिएको छैन ।’ राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको स्थापना हुनुपर्छ भनेर तत्कालिन विद्रोही माओवादीले २०५२ फागुन १ गते जनयुद्ध घोषणा भएको थियो ।
गणतन्तको स्थापना गर, राजतन्त्रको अन्त गर, संविधान सभाको स्थापना गर, राजतन्त्रको अन्त गर भनेर चर्का नारा लगाउदै हिमाल, पहाड, तराईबाट गरिब निमुखा सर्वहारा जनताले गणतन्त्र स्थापनाको लागि रगतको खोलो बगाए । जसरी १७ हजार सर्वहारा वर्गले राजतन्त्र फालेर गणतन्त्र हुँदै संघीयता पनि आयो । संघ, प्रदेश हुँदै स्थानीय तहसम्म पुग्दा माओवादीले राम्रो स्थान ल्याउन नसक्दा आफुले ल्याएको व्यवस्था अर्कैको हातमा परेको उर्मिला बताउँछन् ।
‘यो कार्यान्वयन भएको अवस्था छैन । अहिले बच्चा जन्माउने एउटा हुर्काउने अर्कै भयो,’ उर्मिला भन्छिन्, ‘यसले गर्दा अहिले देशमा सय प्रतिशतमा नब्बे प्रतिशत असत्यले सिमा नाघेको छ । यसको अन्त्यका लागि फेरी एउटा क्रान्ति आवश्यक छ ।’ हिजो जनयुद्ध लड्न त्यति सजिलो थिएन । परिवार पाल्न सजिलै छ । जनयुद्ध लड्न सामुहिक थियो । परिवार पाल्न व्यक्तिका लागि थियो । उनलाइ अहिले जनयुद्ध लड्न नै सजिलो लाग्छ ।
जनयुद्धमा जति जीवन मरणको लडाइ लडे पनि त्यहाँ परिवर्तनका लागि थियो । त्यहाँ सामुहिक थियो । परिवार पाल्नका निम्ति एकजना व्याक्तिका निमित्त मात्र छ । हिजो परिर्वतनका लागि गरिएको जनयुद्ध अहिले नेताको कमाइखाने भाँडो हुँदा दुःख लागेर आउने गरेको उर्मिला भन्छिन्, ‘जनयुद्ध भनेको देशमा रहेका गरिब निमुखाहरूको व्यवस्था स्थापना गर्नका निमित्त भनेका थियौ अहिले त्यो भएन ।’
जितेन्द्र थापा । सुर्खेत