सूचनाको शक्ति - The Power Of Information

        

बच्चा जन्माउने नयाँ दम्पतीलाई १३ लाख !

दक्षिण कोरियाको जन्मदर विश्वकै न्यून छ । सन् २०२२ मा दक्षिण कोरियामा प्रतिमहिलाले जन्माउने बच्चाको दर एकभन्दा तल ०.७८ मा झरेको थियो । त्यो अघिल्लो वर्षको प्रतिमहिला ०.८१ बच्चाभन्दा कम हो । विकसित देशहरूमा जनसंख्या स्थिर राख्न आवश्यक जन्म संख्या २.१ कायम छ ।

बच्चा हुर्काउन निकै जटिल हुँदै गएका कारण दक्षिण कोरियामा जन्मदर घट्दो छ । अहिले त्यहाँको केन्द्रीय र स्थानीय सरकारहरूले बच्चा जन्माउने जो कोहीलाई भुक्तानी र अरू सुविधा प्रदान गर्दै जनसंख्याको संकट जोगाउन खोजिएको छ । एक पुस्ताको अवधिमा गरिबीबाट विकसित देशको स्थितिमा पुगे पनि दक्षिण कोरियाको सामाजिक सुरक्षा कमजोर छ ।

यसको सामाजिक खर्च आर्थिक सहयोग र विकास संगठन (ओइसीडी)मा सबैभन्दा कम छ । सन् २०२२ देखि दक्षिण कोरियाले बच्चा जन्मँदा आमालाई २० लाख कोरियाली वन (एक हजार ५१० अमेरिकी डलर) दिँदै आएको छ । त्यसपछि एक वर्षसम्म प्रत्येक महिना सात लाख वन (५२८ अमेरिकी डलर) दिने गरिएको छ ।

दुई वर्षसम्म प्रत्येक महिना तीन लाख ५० हजार वन अर्थात् २६४ अमेरिकी डलर दिने गरिन्छ । यो रकम सन् २०२४ मा क्रमशः ७५५ अमेरिकी डलर र ३७७ अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको त्यहाँको सरकारले जनाएको छ । यस्तै, प्राथमिक विद्यालय पढ्ने बेलासम्म प्रत्येक महिना १५१ अमेरिकी डलर दिने गरिन्छ ।

गरिब परिवारलाई थप रकम उपलब्ध गराइन्छ । बच्चा जन्माउने नयाँ दम्पतीलाई दक्षिण कोरियाले यसरी १० हजार ५०० अमेरिकी डलर करिब (१३ लाख नेपाली) रुपैयाँ बराबर दिँदै छ । दक्षिण कोरियाली अभिभावकलाई नगदको वर्षा भइरहे पनि पैसाले मात्र देशको प्रजनन समस्या समाधान नगर्ने विज्ञहरूको भनाइ छ ।

स्रोत : अलजजिरा
प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १७:३६