कक्षा १२ उत्तीर्ण न्यून दृष्टियुक्त जेठा मुर्मु अचेल दिनभरि झापाका सहरी चोकमा ट्र्याकमा गीत गाएर नगद सङ्कलन गरिरहेको भेटिन्छन् । चोकको एउटा कुनामा बसेर सुरिलो स्वरमा उनले गाएको गीत सुनेपछि दाताको मन पग्लिन्छ र केही नगद सहयोग गर्छन् । न्यून दृष्टियुक्त रोजिना खातुन पनि उसैगरी सडकमा गीत सुनाएर सहयोग सङ्कलन गरिरहेका छन् ।
चार वर्षको छोरोलाई साथमै लिएर गीत गाउन हिँड्ने रोजिनाले कक्षा ८ सम्मको औपचारिक शिक्षा लिएकी छिन् । आँखाको ज्योति नभए पनि दर्शकलाई मन्त्रमुग्ध पार्न सक्ने उनीसँग सुरिलो स्वर छ । झापाको विर्तामोड, दमक, धुलाबारी, भद्रपुर, चन्द्रगढी, सुरुङ्गा जस्ता सहरका चोक र गल्लीहरुमा गीत गाएर मागिरहेका न्यून दृष्टियुक्त व्यक्तिको भिन्नाभिन्नै थुप्रै समूह देख्न पाइन्छ ।
उनीहरु सबैसँग एउटा सहयोगी हुन्छ । एउटा साउन्ड सिस्टम हुन्छ । एउटा नगद बोक्ने झोला र गीत गाउन चाहिने स्पिकर हुन्छ । न्यून दृष्टियुक्त व्यक्ति गायन प्रतिभा देखाउने रहरले सडकमा कार्यक्रम लिएर गएका होइनन् । पेट पाल्ने अर्को विकल्प नभएपछि उनीहरु जीविकाकै लागि तातो घाम र बर्खे झरी नभनी सडकमा दिनभर गाउन बाध्य छन् । कचनकबल घर भएका जेठा मुर्मु अहिले ३५ वर्ष पुगे ।
कनकाई माविबाट कक्षा १२ उत्तीर्ण उनले सङ्गीतको डिप्लोमा कोर्स पूरा गरेका छन् । गाउने सुरिलो स्वर भएका उनी सङ्गीत प्रशिक्षकको रुपमा पनि चिनिन्छन् । तर, नियतिले उनलाई हातमुख जोड्ने सङ्घर्षको क्रममा सडकमै पुर्यायो । ‘पढेको पनि हो, सङ्गीत पनि जानेको हो, तर जागिर कतै पाइएन,’ मेचीनगरको धुलाबारी चोकमा गीत गाएर माग्दै गर्दा भेटिनु भएको उनी भन्छन्, ‘श्रीमती र बालबच्चा यही गीत गाएर पालिरहेको छु ।’
मुर्मु चार वर्षदेखि पत्नी र नौ वर्षको छोरासँग विर्तामोड–४ मा डेरा बस्दै आउनु भएको छ । पत्नी पनि न्यून दृष्टियुक्त नै हुनुहुन्छ । छोरा हाल विर्तामोडको एक आवासीय विद्यालयमा कक्षा ३ मा अध्ययन गरिरहेका छन् । कोरोना महामारी सुरु हुनुभन्दा अघिसम्म मुर्मु सडकमा गीत गाएर माग्न गएका थिएनन् । काँकरभिट्टाको महिला विकास सहकारी संस्थाको कार्यालयमा सञ्चालित सङ्गीत कक्षामा उनी प्रमुख प्रशिक्षक थिए ।
उनीसँग सङ्गीत सिकेका थुप्रै बालबालिका अहिले राम्रा कलाकार बनिसकेका छन् । ‘बन्दबन्दी सुरु भएपछि जिन्दगीको बेहाल भयो, त्यसअघि नै सङ्गीत कक्षा पनि बन्द भइसकेको थियो,’ मुर्मुले सकसका दिनहरु सम्झिदै भने, ‘परिवारको पेट पाल्न मुस्किलका दिन आएपछि मैले सडकमा गएर गाउने निधो गरेँ । अहिलेसम्म परिवारको भरणपोषण यसैबाट भइरहेको छ ।”हरेक बिहान डेरामै खाना खाएर उनी बाहिर निस्कन्छन् ।
उनलाई सहरका चोक र गल्लीमा पुर्याउने जिम्मा एकजना सहयोगीले लिएका छन् । सिटी रिक्सा वा टेम्पो चढेर उनीहरु बाजाका सामानसहित निर्धारित चोकमा पुग्छन् । ट्र्याक्टरमा मीठामीठा गीत गुन्गुनाउँदा मुर्मुको वरिपरि झुम्मिने दर्शकले दया र सम्मान दुबै दृष्टिले नगद सहयोग गर्छन् । आर्थिक सङ्कलनका लागि गीत गाउँदै भारतको दार्जिलिङसम्म पुगिसकेको बताउँछन् उनी ।
मुर्मु र उनको अर्को न्यून दृष्टियुक्त साथी दिनभरि आर्जेको नगद एकै ठाउँमा हिसाब गर्छन् र आम्दानी बराबर बाँडेर लिने गर्छन् । जेठा मुर्मु कहिलेकाहीँ एक दिनमै ? दुई हजारसम्म कमाउने गरेको बताउछन् । आर्जेको यही नगदले डेराको भाडा तिर्ने, बालबच्चाको पढाइखर्च व्यहोर्ने र परिवारको खानपान धान्ने गर्दै आएको उनी बताउछन् ।
हल्दिबारी घर भएकी २८ वर्षीया न्यून दृष्टियुक्त रोजिना खातुनको पारिवारिक कथा दर्दनाक छ । चार वर्षअघि न्यून दृष्टियुक्त पति सुभाष लिम्बूले सौता भित्र्याए । अर्की पत्नी लिएर पति हिँडेपछि दुई नाबालक छोराको सम्पूर्ण जिम्मेवारी रोजिनाको एक्लो काँधमा आयो । उनको एउटा १२ वर्षको छोरो जुनकिरी आधारभूत विद्यालयमा कक्षा ४ मा पढिरहेको छ भने चार वर्षको अर्को छोरोलाई साथमै लिएर सडकमा गीत गाउन हिँड्ने गरेकी छिन् ।
दिनभरि एउटै थलोमा गीत गाउन बस्नु पर्दा चुलबुले छोरो टाढा नजाओस् भनेर उनले आफू र छोरालाई कम्मरमा सलले बाँध्ने गरेकी छिन् । ‘त्यत्तिकै माग्दा कसैले केही दिँदैन, पापी पेट भर्नै पर्यो,’ विर्तामोडको हिकोला रोडमा गीत गाउँदै गर्दा भेटिएकी उनले भनिन्, ‘गीत गाएर मागेका छौँ । कसैले केही जागिर दिँदैन । काम पनि गर्नसकिने खालको पाइँदैन । कोठा भाडा तिर्नै पर्यो । दाल चामल किनेर खानै पर्यो । बच्चाको पढाइखर्च दिनै पर्यो ।’
झापाको पहिलो ब्याचका एसएलसी उत्तीर्ण न्यून दृष्टियुक्त दीपक थापा नेपालमा न्यून दृष्टियुक्त व्यक्ति र अपाङ्गहरुले आत्मसम्मानका साथ बाँच्न पाउने वातावरण नभएको बताउँछन् । ‘सडकमा मागेर हिँड्नु राम्रो होइन, तर यसो गर्नु न्यून दृष्टियुक्त व्यक्तिको बाध्यता हो,’ विर्तामोड अपाङ्गता स्वावलम्बन संस्थाका अध्यक्षसमेत रहेका थापा भन्छन्, ‘पेट छ, खान मन लागिहाल्छ । घरमा खानेकुरा केही पनि छैन ।’
थापाका अनुसार बाँच्नका लागि बाध्य भएर तातो घाममा पसिनाले निथ्रुक्कै भिजेर न्यून दृष्टियुक्त भाइबहिनी गीत गाएर माग्न बाध्य छन् । ‘यो कसैको पनि रहर होइन,’ उनले भने । रोजगारी नपाएका र बिहेपश्चात आर्थिक सङ्कट झेलिरहेका न्यून दृष्टियुक्त व्यक्ति प्रायः सडकमा गीत गाएर माग्नुपर्ने बाध्यतामा परेको उनको भनाइ छ । राज्यले न्यून दृष्टियुक्त व्यक्तिका लागि तालिमको सीमित अवसर प्रदान गरे पनि तालिमपछि उनीहरुलाई स्वरोजगार बन्न चाहिने पुँजी र बजारको प्रबन्ध नगरेको थापाले गुनासो गरे ।
झापा नेत्रहीन सङ्घकी अध्यक्ष यशोदा बराल न्यून दृष्टियुक्त व्यक्तिको स्वरोजगारीका लागि सङ्घले स्थानीय तह र संस्थासँग मिलेर विभिन्न तालिम दिलाउने गरेको बताउछन् । कनकाई नगरपालिकाले उनीहरुलाई उद्यमी बनाउन बीउ पुँजीसमेत दिएको उल्लेख गर्दै अध्यक्ष बरालले विभिन्न सीपमूलक र आयमूलक तालिममा न्यून दृष्टियुक्त व्यक्तिलाई समावेश गरिँदै आएको जानकारी दिए ।
नेत्रहीन युवा सङ्घको झापा शाखा अध्यक्ष दिलकुमार राजवंशी सडकमा माग्न विवश न्यून दृष्टियुक्त व्यक्तिको बढ्दो सङ्ख्याले मुलुकमा न्यून दृष्टियुक्त व्यक्तिहरुको अवस्था नाजुक रहेको सावित हुने बताउँछन् । ‘कतिपय साथी सडकमा गीतको माध्यमबाट माग्न गइरहेका छन्, यसरी जानु नपरोस् भनेर प्रयास गरिरहेकै छौँ,’ सङ्घको कोषाध्यक्षसमेत रहेका राजवंशी भन्छन्, ‘जेठा मुर्मु जस्तो पढेलेखेको सक्षम साथी पनि सडकमै पुग्न बाध्य हुनुभएको छ ।’
राज्यले न्यून दृष्टियुक्त व्यक्तिलाई वर्गीकरण गरी तीन तहको परिचयपत्र प्रदान गर्दै आएको छ । रातो, नीलो र पहेँलो रङको कार्ड उनीहरुले पाउने गरेका छन् । न्यून दृष्टियुक्त व्यक्ति र अल्पदृष्टि भएका आधारमा राज्यबाट उनीहरुले पाउने मासिक भत्ताले जीविका चलाउन सम्भव छैन । न्यून दृष्टियुक्त व्यक्तिलाई सरकारले मासिक रु चार हजार भत्ता दिँदै आएको छ । कतिपय न्यून दृष्टियुक्त व्यक्तिहरु अन्तरनिहीत प्रतिभाका कारण राष्ट्रिय व्यक्तित्वसमेत बनेका छन् ।
चर्चित वक्ता तथा साहित्यकार रमेश प्रसाईं र प्रसिद्ध गायिका मेनका पौडेल झापा नेत्रहीन सङ्घको सदस्य छन् । दुबैले झापामै माध्यमिक तहको शिक्षा र सङ्गीतको अध्ययन पूरा गरेका हुन् । झापामा सङ्घका ११५ सदस्यमध्ये पाँच जना स्नातकोत्तर तह उत्तीर्ण, ३० जना स्नातक र अधिकांश एसईइ तहका छन् । सङ्घमा सदस्य नरहेकासमेत जोड्ने हो भने झापामा न्यून दृष्टियुक्त व्यक्तिको सङ्ख्या दोब्बर रहेको अनुमान गरिन्छ ।
चन्द्रकला भण्डारी । झापा