सूचनाको शक्ति - The Power Of Information

        

साहित्य : कविता

एउटा प्रश्न तिमीसँग

बाँझै रहोस् समयका यावत प्रश्नहरुको गर्भासय

खासमा धेरै थिए कुराहरु
बिषयहरु
सन्दर्भहरु
विचारवृत्तका संलापहरु
सम्झनाहरु
तिमी र म बीचका
प्रेम विनिमयका अन्तर्यहरु
तर अहिले
एउटा प्रश्न तिमिसंग
मेरो मनको गहिरो तलाउमा डुबेको
अतृप्त प्रश्न
तिमीलाई लाग्ला
मेरो सिंहासनमा
यसले प्रश्न गर्ने हिम्मत कसरी गर्यो ?
यसले औंला तेर्स्याउंने सहास कसरी गर्यो ?
यसले यो परिवर्तनको भयानक मध्यान्हमा
किन मुख चलाउंन लाग्यो ?
तिमीलाई लागिरहेको होला
बाँझै रहोस् समयका यावत प्रश्नहरुको गर्भासय
चमेराझैं झुन्डिरहुन तुन्द्रुङ्ग
औंला तेर्स्याउंने हातका पन्जाहरु
गुदद्वारझं चुम्रुङ्ग भैरहुन
भोकले सुकेका काला ओठहरु
घाम तापेर सुतुन
चेतनाका मथिङगलहरु
बोधो हुँदै जाउन विचारका सुइराहरु
अनि तिमिले देखेका होउला
इतिहासको चिहान उधिनेर
तमाम वादशाहले झैं
चिरन्तर सिंहासनको कर्तुत सपना
खासमा धेरै थिए बिषयहरु
आसयहरु
संसयहरु
मेरो सपनाभित्रका तिम्रा दुरासयहरु
तर एउटा मात्र प्रश्न तिमिसंग
अहिले
समयको जोखनाले
पत्र–पत्रमा उधिनिएका कुत्सित तथ्यहरुले
र तिम्रो वाचाल तर्कशास्त्रसंग
सोधिरहेछ एउटा कुरा
के तिमीले,
कुत्ताकै मासुका लागि
इतिहासलाई रछ्यान बनाएका होउ ?

खासमा जति प्रश्न भए पनि
यतिबेला यत्ती एउटा प्रश्न तिमिसँग

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १३:२०