सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीका पिएसओ हरिबहादुर कारबाहीमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका एक प्रहरी निरीक्षक कारबाहीमा पर्ने भएका छन् । सवारी ज्यान मुद्दामा चालकलाई मुद्दा नचलाई उन्मुक्ति दिएको घटनामा इन्सपेक्टर हरिबहादुर वली कारबाहीमा पर्न लागेका हुन् ।

वली प्रधानमन्त्रीको सुरक्षा टिममा छन् । वली एक वर्षअघि प्रहरी वृत्त सातदोबाटोमा कार्यरत रहँदा दुर्घटनामा मृत्यु भएको घटनामा चालकलाई मुद्दा नचलाई छाडिएको थियो । हालै डिएसपी भुवनेश्वर साहको नेतृत्वमा छानबिन गरी उनी लगायत प्रहरीमाथि कारबाही सिफारिस भएको हो ।

इन्सपेक्टर वलीसहित वृत्तका तत्कालिन प्रमुख दिनेश घिमिरे, इन्स्पेक्टरहरु श्यामकुमार कटवाल, योगेश खरेल र अरुण भट्टराई, बरिष्ठ सई उद्धव महत र जवान पञ्चु रुम्बामाथि कारबाही प्रक्रिया अघि बढेको हो । उनीहरुमध्ये भट्टराईले भने अवकाश पाइसकेका छन् । गत वर्ष पुस २५ मा ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा भएको दुर्घटनामा मोटरसाइकल चालक राममोहन श्रेष्ठको मृत्यु भएको थियो ।

अदालतमा मुद्दा दर्ता गर्नुपर्नेमा प्रहरीले चलखेलका आधारमा मिलापत्र गराएको अहिले आएर खुलेको हो । श्रेष्ठ आफैँले चलाएको बा.४३प ८६९६ नम्बरको मोटरसाइकल र सुरज तामाङले चलाएको प्रदेश २–३२ प ९७०७ नम्बरको मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको थियो । जसमा अर्काे मोटरसाइकलका चालकलाई मुद्दा नचलाई मिलापत्र गरिएको थियो ।

जबकि, सवारी ज्यान मुद्दामा प्रहरीले मिलापत्र गर्न मिल्दैन । नौ लाख रुपैयाँ क्षतीपुर्ती दिने सहमतिमा प्रहरीले मिलापत्र गराएको थियो । तर, सहमतिअनुसार पैसा नभएपछि पीडितहरु प्रहरीमा पुग्दा यसको रहस्य खुलेको हो । त्यतिबेला मुद्दा शाखामा इन्सपेक्टर श्याम कुमार कटवाल थिए । तर, कटवालले छानबिन समितिको बयानको क्रममा इन्सपेक्टर वलीकै निर्देशनमा त्यसरी मिलापत्र गरेको बताएका छन् ।

अर्काेतर्फ लाइसेन्स नै नभएका चालकलाई अर्काको लाइसेन्स देखाएको आधारमा जोगाइएको समेत पाइएको छ । यो प्रकरणमा कारबाही सिफारिस भएकाहरु रोकाउनका लागि शक्तिकेन्द्रबाट प्रहरी नेतृत्वलाई दबाब दिइरहेका छन् । इन्सपेक्टर वलीले पनि बालुवाटारको पावर लगाएका छन् । प्रचण्डको सुरक्षामा डिएसपी सिद्धराज न्यौपाने नेतृत्वको टोली खटिएको छ । जसमा इन्सपेक्टर वली लगायत छन् ।

सवारी ज्यान मुद्दामा समेत मिलापत्र गराउने गैरव्यवसायिक प्रहरी अधिकृत प्रधानमन्त्रीको सुरक्षामा बस्नुले यसले गम्भीर प्रश्न उठाएको छ । सो घटनामा सातदोबाटो वृत्त र इमाडोल प्रहरी प्रभागको यसमा मिलेमतो देखिएको छ । घटनाको वेला इमाडोल प्रभागको प्रमुखमा इन्स्पेक्टर योगेश खरेल कार्यरत थिए । उनले घटनाबारे माथिल्लो निकायलाई जानकारी समेत गराएनन् भने अर्काेतर्फ चालक तामाङलाई एक रात थुनेर भोलिपल्टै छाडिदिएका थिए ।

साथै चालक तामाङले चलाएको मोटरसाइकलमा पछाडि एक व्यक्ति पनि सवार रहेको पछि सिसि क्यामेरामा देखिएको थियो, तर प्रहरीले त्यो बारेमा बुझ्ने कामै गरेन । खरेलपछि इमाडोल प्रभागमा खटिएका इन्स्पेक्टर अरुणकुमार भट्टराईले नियमविपरीत बिमा रकमका लागि सगरमाथा इन्स्योरेन्सलाई पत्राचार गरेका थिए । जबकि, यस्तो पत्राचार मुद्दा चल्ने प्रहरी कार्यालयले मात्र लेख्न मिल्छ । यो घटनाले प्रहरी अनुसन्धानकै धज्जी उडेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार १५:५९