सूचनाको शक्ति - The Power Of Information

        

लोकल्याणकारी काममा नेपाली सेना

‘पहिले बन्दुक बोकेर आउँथे, अहिले दवाई बोकेर आए’

शिविरबाट महिला र पुरुष गरि १ हजार १५० जना लाभान्वित भएको नेपाली सेनाले जनाएको छ ।

माओवादीको जनयुद्ध र त्यसपछिको मधेस आन्दोलनका कारण भावनात्मक रूपमा टाढा बनाइएका आम मधेसीसँग लोकल्याणकारी काममार्फत जोडिन थालेको छ, नेपाली सेना । ‘आफ्नै सत्ता, आफनै शासन, मधेसी सेना, मधेस सरकार’ जस्ता माग बनाएर भड्काइएका युवाहरूको मनोवैज्ञानिक खाडल पुरेर देशभक्तिको मार्गमा ल्याउन सेनाले लोकल्याणकारी कामलाई अभियानको रुपमा चलाउँदै आएको छ ।

डाक्टर र औषधी लिएर घर–दैलोमै सेवा गर्न सेना पुगेपछि मधेसी जनताको सामिप्यता गासिदै गएको छ । गएको शनिबार पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवलाई भ्याई नभ्याई थियो । नेपाली सेनाले आफ्नै गाउँपालिकामा राखेको स्वस्थ्य शिविरलाई व्यवस्थापन गर्नमा लागि परेका थिए उनी । पर्सा उत्तरी भेगमा रहेको गाउँपालिकाका स्थानीयहरू उपचारको लागिसेनाको सिविरमा बिहानैदेखि लाइनमा लागेका थिए ।

पुरुषभन्दा महिलाहरूको संख्या पनि त्यतिकै थियो । गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानिय वासी उत्साहित भएका थिए । नेपाली सेनाले चलाएको निशुल्क स्वास्थ्य शिविरमा उपचार गराइ औषधी लिएर फर्कदै गरेका ८० वर्षिय बृद्ध दुखी हजरा दुसाद भन्छन्, ‘पहिले सेना बन्दुक बोकेर गाउँमा आउँथे, तर आज डाक्टर र दवाई (औषधी) बोकेर पो आएछन्, सेना त साच्चै हामी जनताको लागि पो रहेछन् ।’

नेपाली सेनाको श्री श्रीजंग गणले आयोजना गरेको शिविरबाट १ हजारभन्दा धेरै बिरामी लाभान्वित भएका थिए । नेपाली सेना मध्य पूर्वी पृतना हेडक्वाटरको निर्देशन अनुरुप आयोजित शिविरमा सखुवाप्रसौनी, पटेर्वासुगौली, जिराभवानी गाउँपालिकासँगै बहुदरमाई नगरपालिका समेतका बिरामीहरूले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा फिजिसियनदेखि आँखा, दाँत, नाक, कान, घाँटी, छाला, स्त्री तथा प्रसुती रोगहरूको परीक्षण गरिएको थियो ।

गाउँमै सेनाले शिविर लगाउँदा उपचारसँगै निशुल्क औषधी पनि पाएपछि गाउँलेहरू झन् खुशी थिए । एक दर्जन भन्दाबढी बिशेषज्ञ डाक्टरहरूले शनिबार दिनभर गाउँलेहरूको चेकजाँच गर्नुका साथै औषधीसमेत वितरण गरेका थिए । ग्रामिण क्षेत्रमा रहेको सखुवाप्रसौनी गाउँपालिकाका जनतालाई उपचारका लागि बाहिर जानुपर्ने प्रतिकुल अवस्थालाई मनन् गर्दै नेपाली सेनासँगको सहकार्यमा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

गाउँपालिका अध्यक्ष जसवन्त यादवले भने, ‘हाम्रो गाउँपालिका पूर्ण रुपमा ग्रामिण क्षेत्र हो । साथै यहाँका जनता एकदम धेरै विपन्न छन् । आर्थिक अभावकै कारण पनि उपचार गर्न आपतकालीन अवस्था बाहेक बुढ्यौलीमा लाग्ने रोगहरूको उपचारका लागि सदरमुकाम जान सक्दैनन । गाउँमै सेनाले शिविरको आयोजना गरेपछि सबै उत्साहित भएको हौं ।’

बरिष्ठ फिजिसियन डा.निरजकुमार सिंह, सर्जन डा.मनोज गुप्ता, स्त्री तथा प्रसुती रोग विशेषज्ञद्वय डा.लक्ष्मी थापा र डा.प्रिती यादव, नाक कान घाँटी रोग विशेषज्ञ डा.आमोद श्रेष्ठ, डेन्टल सर्जन डा.विकास पटेल, छाला विशेषज्ञ डा.निलमणी प्रियदर्शनी लगायतले बिरामीको परीक्षण गरेका थिए । आँखा विशेषज्ञ एवम् केडिया आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा.नितिन तुल्स्यान, डा.सरिता यादव, राजदेव साह, राजेश यादव, लालबाबु मण्डल लगायतले आँखा सम्बन्धी चेकजाँच गरेका थिए ।

नारायणी अस्पतालमा कार्यरत स्टाफ नर्सहरू सृष्टि बिष्ट, ओशिका भट्टराई, मनिषा पाण्डे, अस्मिता थापा, अस्मि बस्नेतले पनि शिविरमा सहभागी बिरामीहरूको नाम दर्ताका साथै मधुमेह तथा रक्तचाप परीक्षण गरेका थिए । नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीले स्थानीयको आवश्यक्तालाई मध्यनजर गर्दै बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको प्रतिक्रिया दिए । जनता र नेपाली सेनाबिचको सम्बन्धलाई सुमधुर बनाउन पनि शिविरले सघाउ पुग्ने विश्वास उपरथी अधिकारीले व्यक्त गरे ।

उनले भने, ‘हामी सिमाको सुरक्षासँगै जनसेवा जस्ता कुरालाई पनि प्राथमिकता दिने अभियानमा छौ । मधेसका अन्य जिल्लामा पनि यस्ता शिविर निरन्तर रुपमा गर्दै आएको हुँदा यहाँ पनि गरिएको हो ।’ नेपाली सेनासँगै सखुवाप्रसौनी गाउँपालिका, नेशनल मेडिकल एशोसिएशन, केडिया आँखा अस्पताल, प्रभु हस्पिटल, श्रीराम हस्पिटल, शान्ति क्लिनीक र नेपाल औषधी कर्मचारी संघको सयुक्क्त पहलमा शिविर सम्पन्न भएको हो ।

शिविरमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मि, पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, श्रीजंग गणका गणपती कर्णेल डायमण्ड कार्की, सामाजिक अभियन्ताहरू प्रकाश थारु, दिलिपराज कार्की, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई लगायतको उपस्थिति थियो ।

स्वास्थ्य शिविरमा सखुवा प्रसौनी गाँउपालिका, नेपाल मेडिकल एशोसियसन, केडियाँ आँखा अस्पताल, प्रभु हस्पिटल, श्रीराम हस्पिटल, शान्ति क्लिनिक र नेपाल औषधी कर्मचारी संघले पनि सहयोग गरेको थियो । शनिबार दिनभर चलेको उक्त स्वास्थ्य शिविरमा सखुवाप्रसौनी र पटेर्वा सुगौली गाँउपालिकाका साथै त्यस आसपासका गरि १० भन्दा बढि गाँउका स्थानीयले निशुल्क उपचार पाएका छन् ।

उक्त शिविरमा सबै रोगका बिरामीको स्वास्थ्य परिक्षण र ल्याब टेष्ट समेत गरि निशुल्क औषधी वितरण गरिएको थियो । शिविरबाट महिला र पुरुष गरि १ हजार १५० जना लाभान्वित भएको नेपाली सेनाले जनाएको छ । गरिबीका कारण सदरमुकाम वीरगन्जका सुविधा सम्पन्न अस्पतालमा उपचार गराउनका लागि जान असमर्थ समुदायलाई लक्षित गरि सेनाले श्रीपुर पन्चगावामा बृहत् निशुल्क स्वास्थ्य शिविरिको आयोजना गरिएको जनाइएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतवार १३:३६