सूचनाको शक्ति - The Power Of Information

        

देशैभरि रेबिज रोगको संक्रमण अत्यधिक

काठमाडौं उपत्यकामा रेबिज रोगको संक्रमण अत्यधिक रुपमा फैलिएको पाइएको छ । उपत्यकामा भुस्याहा कुकुरको आक्रमणमा परी रेबिज संक्रमित भएर उपचारका लागि दैनिक ४०० देखि ५०० जनासम्म अस्पतालमा पुग्ने गरेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको बहिरङ्ग विभागमा कार्यरत चिकित्सक डा. शंकर पाण्डेका अनुसार, रेबिज लागेका भुस्याहा कुकुरले टोकेका बिरामीहरूको संख्या दिनानुदिन बढ्दै गएको छ ।

संक्रमित कुकुर वा पशुले टोकेको पहिलो दिनमै वा टोक्ने बित्तिकै एन्टिरेबिज भ्याक्सिन लगाएमा रोगको निवारण हुन्छ । तर हेलचेक्र्याइँ गरेमा बिरामीको मृत्यु हुन सक्छ । टेकु अस्पतालमा रेबिजको उपचार गर्ने आउनेहरुमध्ये धेरैजसोलाई भुस्याहा कुकुरले टोकेको छ ।

तर अन्य केहीलाई भने बाँदर, स्याल, भालु र चितुवाले टोकेर रेबिज लागेको पाइएको छ । अस्पतालको रेकर्ड अनुसार रेबिज रोगको संक्रमणमा पर्नेहरूमध्ये धेरैजसो काठमाडौँ उपत्यकाभित्रकै निवासी छन् । त्यसबाहेक नगरकोट, सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट र चितवनबाट पनि यस्ता रोगीहरू उपचारका लागि आएका छन् ।

रेबिज लागेका मानिसलाई छालामा र मांशपेशीमा दुईवटा भ्याक्सिन लगाउनु पर्छ । आर्थिक वर्ष २०७८–०७९ मा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेबिज रोगको भ्याक्सिन लगाउन एक लाख एक हजार १९६ जना आएका थिए ।

तीमध्ये दशहजार ७३३ जनाले ०३७१४ (आइ एम) भ्याक्सिन मांशपेशीमा लगाएका थिए भने ९० हजार ४६३ जनाले ०३७ (आइ डी) भ्याक्सिन छालामा लगाएका थिए । अस्पतालमा यी दुवै भ्याक्सिन निशुल्क उपलब्ध छ । यी भ्याक्सिनहरू नेपालका सबै सरकारी अस्पताल र स्वास्थ्य केन्द्रमा पनि निशुल्क उपलब्ध छ ।

गतवर्ष रेबिज रोग संक्रमित भएकामध्ये समयमै उपचार नपाएर २५ देखि ३० जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका डा.शंकर पाण्डेका अनुसार, यस वर्ष पनि महिनाको २ देखि ३ जनाको मृत्यु हुने गरेको तथ्यांक छ ।

काठमाडौँ उपत्यकाका महानगर, उपमहानगर र नगरपालिकाहरूले भुस्याहा कुकुर व्यवस्थापनमा ठोस पहल नगरेको हुनाले यहाँ रेबिज रोगको प्रकोप फैलिदै गएकोमा अस्पतालका चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् । अस्पताल प्रशासनका एक कर्मचारीका अनुसार, भुस्याहा कुकुरको समयमै व्यवस्थापन हुन नसकेमा काठमाडौँ उपत्यकामा रेबिज रोगको आतंक फैलने सम्भावना धेरै छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतवार १२:४९