सामुदायिक विद्यालय भन्नेबित्तिकै नाक खुम्च्याउने गरिन्छ। निजी विद्यालयका विद्यार्थी पढाइमा अब्बल हुन्छन् भन्ने मान्यता समाजमा स्थापित हुँदै गर्दा सामुदायिक विद्यालयप्रति वितृष्णा देखिँदै गएको छ । तर विराटनगरको पोखरिया माध्यमिक विद्यालयमा भने अवस्था ठिक उल्टो छ ।
विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीले प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउनुपर्ने हुन्छ । पोखरिया माध्यमिक विद्यालयले निश्चित कोटा तोकेर विद्यार्थी भर्नाका लागि सूचना प्रकाशित गर्छ । तर तोकिएको कोटाभन्दा धेरै विद्यार्थीले भर्नाका लागि आवेदन दिएपछि विद्यालयले प्रवेश परीक्षाबाट विद्यार्थी छनोट गर्दै आएको छ ।
नयाँ शैक्षिक सत्रका लागि पनि पोखरिया माध्यमिक विद्यालयले प्रवेश परीक्षा लिएर विद्यार्थी छनोटको प्रक्रिया सुरू गरेको छ । विद्यालयले शनिबार भर्नाका लागि विद्यार्थी छनोट गर्न प्रवेश परीक्षा लियो ।
नयाँ शैक्षिक सत्रका लागि विद्यालयले कक्षा ६ देखि ९ सम्म ४ सयजना विद्यार्थी भर्ना गर्ने निर्णय गरेको छ । तर भर्ना हुनका लागि १ हजार ८ सय ५३ विद्यार्थीले आवेदन दिएको प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार विद्यालयले तोकेको कोटाभन्दा ४ गुणा बढी विद्यार्थीले आवेदन भरेपछि प्रवेश परीक्षा लिनु परेको हो । ‘हामीले कक्षा ६ देखि ९ सम्मका लागि ४ सयजना विद्यार्थी भर्ना कोटा निर्धारण गरेका थियौं’, प्रधानाध्यापक भट्टराईले भने, ‘तर साँढे १८ सय विद्यार्थीको आवेदन परेकाले प्रवेश परीक्षाबाट विद्यार्थी छनोट गर्न लागेका हौं ।’
सत्यपाटी संवाददाता । काठमाडौँ