ललितपुरको बखुन्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय मारमा परेका छन् । गएराति सो अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीय ज्यानै जाने डरले भागाभाग समेत गरेका थिए ।
नक्सापास नै नगरी र आफूहरूसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरूको घरसमेत भासिन पुगेको स्थानीयको भनाइ छ । उनीहरूले आफूहरूको बास बस्ने ठाउँ नभएको भन्दै तत्काल आवश्यक व्यवस्था गर्न पनि माग गरेका छन ।
सो निर्माणाधीन अपार्टमेन्ट वरपरका एक तलाजति घरहरू भासिएका छन् । डेरा गरेर बस्नेहरू सबै भागेको र आफूहरू पनि घरमा बस्ने अवस्था नरहेको स्थानीयले बताएका छन् । अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अरू कुनै पनि निकायबाट अनुमति नलिएको स्थानीयको जिकिर छ ।
गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरूलाई घरबासविहीन बनाउने पक्षलाई तत्काल कारबाही स्थानीयले माग गरेका छन् । यसैबीच, ललितपुर क्षेत्र नम्बर–३ की सांसद डा. तोसिमा कार्कीले सो अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन् ।
भासिएको घरहरूको निरीक्षणपछि शनिबार उनले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरिन् । सांसद कार्कीले सो विषयमा आफूले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पनि कुरा गरेको र स्थानीयलाई न्याय दिन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले स्थानीयलाई भासिएको घरमा नबस्न र सुरक्षित ठाउँमा सर्न पनि आग्रह गरिन् । त्यसका लागि आफूले सकेको सहयोग गर्ने उनको भनाइ थियो । अपार्टमेन्ट निर्माणका क्रममा वरपरका घरहरू भासिएपछि भागदौड गर्ने क्रममा कतिपय व्यक्ति घाइते समेत भएका छन् ।
उनीहरूको उपचार र उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि आफूले पहल गर्ने सांसद कार्कीले बताइन् । सडकसमेत चर्किएपछि त्यस क्षेत्रका बासिन्दा तनावमा छन् । उनीहरूले आफूहरूको बिचल्ली हुँदा पनि निर्माण कम्पनीले पीडाको सुनुवाइ नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् । स्थानीयले दबाब दिएपछि सो अपार्टमेन्टको निर्माणकार्य पनि रोकिएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं