सूचनाको शक्ति - The Power Of Information

        

टिकापुरमा डिएसपीको कमाउ धन्दा, घुसको रेटै तोकेपछि व्यवसायी हैरान

डिएसपी उद्धवसिंह भाट इलाका प्रहरी कार्यालय टीकापुरको प्रमुख भएर आए लगत्तै यस क्षेत्रका व्यवसायी आतङ्कित बनेका छन् । भारतबाट सामान आयातमा डिएसपी भाटले हप्ता (घुस)को रेट दोब्बर तोकेपछि व्यवसायी हैरान भएका छन् । घुस तस्करीको असर खक्रौला भन्सारको राजस्व सङ्कलनमा परेको छ ।

केही वर्षयता खक्रौला भन्सारको राजस्व सङ्कलनमा ५० प्रतिशतले गिरावट आएको छ । व्यापारीहरू राजस्व बुझाउन भन्सारभन्दा पनि इलाका प्रहरी कार्यालय टीकापुर र सशस्त्रका वीओपीहरुमा जान बाध्य छन् भन्दै भन्सारका कर्मचारीले आफ्ना माथिल्ला निकायमा रिपोर्ट गर्दा पनि सुधार नआएको खक्रौला भन्सारका कर्मचारीहरूको गुनासो छ ।

जिम्मेवारी सम्हालेको एक महिनामा भाटले सीमा पारीबाट साइकलमा सामान बोक्ने पोके व्यवसायीहरूलाई धमाधम समातेर भन्सारलाई जिम्मा लगाएर सक्रियता देखाएका थिए । उनको त्यो सक्रियता सस्तो लोकप्रियताका लागि स्टन्ट मात्र भएको टीकापुरका व्यवसायीहरू बताउँछन् ।

उनले घर बनाउनु छ भन्दै मातहतका प्रहरी कर्मचारीलाई हप्ता असुलीमा कडाइ गर्न दिनहुँ ताकेता गरिरहेको इलाका प्रहरी कार्यालयका एक जुनियर प्रहरी अधिकृतले बताए । टीकापुरमा सरुवा भई आउने डिएसपीले एक वर्षमा काठमाडौँमा घरजग्गा जोड्ने गरी पैसा कमाउने गरेको नौलो घटना होइन । त्यसकारण इलाका प्रहरी कार्यालय टीकापुर प्रहरी अधिकृतहरूको रोजाइमा पर्ने गरेको छ ।

नियमानुसार भन्सार राजस्व तिरेर ल्याएको सामानलाई समेत बाटोमा नियन्त्रणमा लिएर खानतलासी गर्ने कार्यबाट अधिकांश व्यवसायीहरूले खक्रौला भन्सारबाट कारोबार गर्न बन्द गरेका छन् । डिएसपी भाटको हस्तक्षेपबाट भन्सारका कर्मचारी पनि आतङ्कित छन् भने लक्ष्य अनुसारको राजस्व सङ्कलन नहुनेमा चिन्तित छन् ।

प्रहरीबाट अपमानित भएपछि व्यापारीहरू अन्यत्र डाइभर्ट हुनु स्वाभाविक भएको भन्सारका कर्मचारीहरू स्विकार्छन् । सुरुका एक महिना कडाइ गर्ने क्रममा डिएसपी भाटले लागूऔषध कारोबारको नियन्त्रण गर्छु भन्दै ओसार पसारमा संलग्नहरूलाई धमाधम पक्राउ गरे पनि लागूऔषधका मुख्य कारोबारीहरूलाई उन्मुक्ति दिँदै आएको आरोप लाग्न थालेको छ ।

टीकापुर नाका लागू औषध कारोबारको देशमै कहलिएको मुख्य हबका रूपमा चर्चित छ । कानुन कार्यान्वयनका नाममा न्यून परिणाममा लागू औषध बोक्नेहरूलाई मात्र पक्राउ गर्दै आएको र ठूला कारोबारीहरूबाट महिनावारी मोटो रकम लिएर संरक्षण गर्ने गरेको आरोप टीकापुर प्रहरीलाई लाग्दै आएको छ ।

डिएसपी भाटले जनताको शान्ति सुरक्षाभन्दा पनि बढीभन्दा बढी अवैध रकम असुल्नमा मात्र लगाएको इलाका प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरू नै बताउँछन् । यस अगाडि बरथहवा र बाजुरा बसेका भाट तस्करीको पैसाबाट एसपी बन्ने धुनमा छन् । सीमा पारीको व्यापारमा संलग्न व्यवसायीहरूको कारोबारको आकारका बारेमा डिएसपी भाटले कैलाली कारागारबाट सूचना लिइरहेको टीकापुरमा चर्चा छ ।

कर्तव्य ज्यान मुद्दामा कैलाली कारागारमा सजाय काटिरहेका एक जना साथीसँग डिएसपी भाटले दैनिक जसो फोनमा कुराकानी गर्ने गरेको प्रहरी श्रोत बताउँछ । डिएसपी भाटलाई परिचालन गर्ने ती व्यक्ति को हुन् भनेर प्रहरी कर्मचारीहरूबिच खोजीनिती हुन थालेपछि उनले आफू मातहतका प्रहरीहरूलाई हदैसम्म पेलेको गुनासो बाहिर आएको छ ।

इलाका मातहतका तीन चौकीमा गरी करिब चार दर्जन प्रहरी कर्मचारीहरू अछामी समुदायका छन् । डिएसपी भाटले अछामी समुदायका प्रहरीहरूलाई अश्लील गाली बेइज्जती गर्ने, अछामी हरामी भन्दै साम्प्रदायिकता प्रकट गर्दै होच्याउने गरेकोमा प्रहरी कर्मचारीहरू असन्तुष्ट भएका छन् । हप्ता एक्लै पचाउने अरू कर्मचारीलाई भाग नदिने भनेर संगठनभित्र चरम असन्तुष्टि देखिएको प्रहरी श्रोतको भनाइ छ ।

भाटको स्थायी घर बैतडी हो । उनी यसअघि सर्लाहीको बरर्थहवामा कार्यरत रहँदा स्थानीयको घर–घरमा पसेर लोकल रक्सी नियन्त्रण गरेर चर्चामा आएका थिए । सुरुमा रक्सी नियन्त्रण अभियान चलाएपछि महिनावारी रकम तोकेर खुकुलो पारेको भनेर भाटको चर्को आलोचना भएको थियो ।

बरर्थहवामै नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ३ का क्षेत्रीय प्रतिनिधि सुरेन्द्र दासलाई पक्राउ गरेर सार्वजनिक रूपमा कुटपिट गर्दा डिएसपी भाट विभागीय कारबाहीमा परेका थिए । कोरोना कालमा लकडाउनका बेला तरकारी किनेर घर फर्किरहेका कांग्रेस नेता दासलाई भाटले मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

डिएसपी भाटको यस्तो हर्कतको विरोधमा नेपाली कांग्रेस सर्लाहीले आन्दोलन गर्नु परेको थियो । त्यसै गरी भाट बाजुरामा इन्चार्ज हुँदा सर्वसाधारणलाई गालीगलौज गरेको र कलक सिंह नामका व्यक्तिलाई हतकडी लगाएर हिरासतमा थुन्ने चेतावनी दिएको अडियो सार्वजनिक भएको थियो ।

२०७६ कार्तिक २२ गते विप्लव माओवादीका केन्द्रीय सदस्य चूडामणि ओली ‘आदर्श’ सहित १६ जना नेता तथा कार्यकर्तालाई झुटा मुद्दा लगाई लामो समय हिरासतमा राखेर चरम यातना दिएको भन्दै भाटविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता छ ।

ती १६ जना नेता कार्यकर्तालाई भाटले दिएको चरम शारीरिक तथा मानसिक यातना दिएको बारेमा विप्लव माओवादीका केन्द्रीय सदस्य चूडामणि ओली ‘आदर्श’ले विभिन्न अनलाइन न्यूज पोर्टलहरूमा लेख नै लेखेका छन् ।

यी घटनाहरुबाट पनि भाटको असली चरित्र थाहा पाउन सकिन्छ । प्रहरी संगठनमा भाटलाई भ्रष्ट प्रहरीका रूपमा चिनिन्छन् । भाटले ‘प्रहरी मेरो साथी’ भन्ने मूल मन्त्रलाई गम्भीर उलंघन गर्दै आएको उनका समकक्षी प्रहरी अधिकृतहरू टिप्पणी गर्ने गर्छन् ।

भाटको भ्रष्ट प्रवृत्ति र व्यवहारले प्रहरी संगठनप्रति सर्वसाधारण जनताको अविश्वास बढ्ने खतरा देखिएकोबारे पटक पटक चर्चा हुने गरेको छ । बरर्थहवा र बाजुरामा बदनामी कमाएका भाटविरुद्ध प्रहरी प्रधान कार्यालयमा गुनासो बढ्न थालेपछि २०७८ फागुनमा उनलाई विभागीय कारबाही स्वरूप प्रहरी हेडक्वाटरमा जगेडा शाखामा थन्क्याइएको थियो ।

विवादित वा अनियमितता गरेको अवस्थामा कारबाही गर्नुपर्दा मानव श्रोत विभाग अन्तर्गतको जगेडा शाखामा थन्क्याउने प्रचलन प्रहरी संगठनमा रहँदै आएको छ । जगेडाको कारबाही सकेर इलाका प्रहरी कार्यालयको जिम्मेवारी सम्हाल्न भाट टीकापुर आएका हुन् ।

स्रोत : दृष्टिन्यूज
प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार १५:०१