सूचनाको शक्ति - The Power Of Information

        

रारा चाउचाउको विज्ञापन खेल्ने फुच्चे अष्ट्रेलिया पुगेर तन्नेरी !

९० को दशकमा नेपाल टेलिभिजनको पर्दामा खुब बज्थ्यो, रारा चाउचाउको विज्ञापन ‘आर ए आर ए रारा मिठो भन्छन् सारा’ । त्यति बेलाका भिसिडी क्यासेटमा रेकर्ड गरिएका सिनेमा र भिडियोहरुमा समेत यो विज्ञापन राखिएकाले यसको लोकप्रियता झनै बढेको थियो ।

स्कुलका केटाकेटीहरुले रमाइलो गर्दै खेलेको तथा राइम जस्तो सुनिने भएकाले त्यति बेला यो विज्ञापनले धेरैको ध्यान खिचेको थियो । ३१ वर्ष अघि अर्थात २०४८ साल तिर खिचिएको यहि चर्चित विज्ञापनमा खेल्ने मुख्य बालक अष्ट्रेलियाको एडिलेडमा भेटिएका छन् ।

‘हे हे रारा चाउचाउ ‘भन्दै सेफको रुपमा देखिने ती बालक हुन् नारायणगढका आशिष वाग्ले । केही दिन अघि फेसबुकमा भडियो सार्वजनिक गरेर आशिषले फाइनल्ली भेटिएको भन्दै खुसी साटेका छन् । उक्त भिडियो सुटिङ भएको बेला आफु १२ वर्षको मात्र रहेको र कक्षा ७ मा पढिरहेको वाग्लेले बताए ।

उज्जव घिमिरेले निर्देशन गरेको यो विज्ञापन त्यतिबेला काठमाडौंको नागपोखरीमा रहेको एलिट को एड विद्यालय र कान्तिपथको फुजी रेष्टुरेन्टमा खिचिएको थियो । आशिष अध्ययनका लागि यहि विद्यालयको होस्टेलमा बस्थे । एक दिन रारा चाउचाउको विज्ञापन आफ्नो विद्यालयमा सुटिङ्ग हुने भएपछि प्रिन्सिपल म्याडमले आफुलाई पनि छनोट गरेको आशिषले सम्झिए ।

‘मलाई किन छनोट गर्नुभयो याद छैन,’ आशिषले भने, ‘तर सुटिङ गर्दा निकै रमाइलो भयो ।’ विज्ञापनमा खेलेर पारिश्रमिक नपाए पनि, खुब चाउचाउ भने खाएको आशिषले बताए । विज्ञापन बज्न थालेपछि गाउँघरतिर आशिषलाई रारा चाउचाउ भनेर समेत बोलाउन थालिएको थियो ।

‘निकै लामो प्रयास गर्दा पनि विज्ञापन भेटेको थिइन,’ आशिषले भने, ‘मैले त आश नै मारिसकेको थिए, देवराज कँडेल भाईले केही दिनअघि भिडियो खोजेर दिएपछि म निकै खुसी भएको छु ।’ हाल आशिष विगत केही वर्षदेखि अष्ट्रेलियाको एडिलेडमा परिवारसँगै बस्दै आएका छन् । एक सन्तानका पिता आशिषले हाल एडिलेडमा बुमर्याङ्ग भन्ने कन्सल्टेन्सी चलाउँछन् ।

रारा चाउचाउको त्यो पुरानो विज्ञापन यस्तो छ  :

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार १०:५६