सहरी तथा ग्रामीण क्षेत्रमा अहिले पनि बाँझोपनका विषयमा थाहा नपाएर कैयौँ मानिस सन्तान प्राप्तिका लागि भौँतारिरहेका हुन्छन् । अझ महिलाले बढी अवहेलना खेप्नुपरिरहेको छ । साँचो कुरा त के हो भने यो समस्या पुरुष–महिला दुवैका कारण हुन्छ ।
तिनको उपचार पश्चात् सन्तान प्राप्ति भएका धेरै उदाहरण छन् । लामो समय गर्भ नबसे के गर्न सकिन्छ ? बाँझोपन कुनै दम्पतीले एक वर्षसम्म कुनै परिवार नियोजनको साधन प्रयोग नगरी चाहेको वेलामा गर्भ बस्न सकेन भने त्यसलाई बाँझोपन भनिन्छ ।
एकपटक पनि बच्चा नभएकालाई प्राथमिक बाँझोपन भनिन्छ भने एकपटक बच्चा भइसकेको छ वा एबोर्सन गरेको छ या डेलिभरी भएर अर्को बच्चा चाहेको वेला पनि एक वर्षसम्म बच्चा भएन भने त्यसलाई पनि बाँझोपन नै भन्ने गरिन्छ ।
महिलामा हुने समस्या
महिलामा प्रमुख रूपमा डिम्ब उत्पादन नहुने समस्यासँगै अन्य समस्या पनि देखिने गरेका छन् । गर्भ नबस्नुमा पाठेघरको नली बन्द भएको पनि हुनसक्छ । महिलाको फेलिपिन ट्युब बन्द हुँदा प्रायः विभिन्न किसिमका संक्रमण हुनसक्छ ।
त्यसका साथै ट्युबरक्लोसिस, पाठेघरको नलीको इन्फेक्सनले पनि गर्भ नबस्ने हुनसक्छ । कहिलेकाहीँ नलीमा बच्चा बसेर नली काटेर फाल्नुपर्ने हुन्छ । अर्को ध्यान दिनुपर्ने कुरा के हो भने पेटभित्रको कुनै पनि अप्रेसनमा नलीहरू बिग्रने डर हुन्छ ।
अप्रेसन गरिसकेपछि मान्छे उभिन्छ, त्यहाँ भएकोजति फोहोर–विकार पाठेघर र नलीको छेउछाउमा गएर बस्न सक्छ । १४ देखि १५ प्रतिशत बाँझोपनको समस्या यसले गर्दा पनि भएको देखिएको छ । त्यसैगरी, इन्डोमेट्रियोसिसी समस्याले पनि गर्भ रहँदैन ।
यो समस्या भनेको महिनावारी हुँदा पाठेघर वा नलीको तह खुइलिन्छ । त्यो तह पाठेघरबाहिर पनि गएको हुन्छ । जसका कारण महिनावारी हुँदा भित्र नै रगत बग्ने हुन्छ । बाहिर निस्कन पाउँदैन र नली र पाठेघर बिग्रने सम्भावना हुन्छ । ७ प्रतिशतले यसका कारण बाँझोपनको समस्या व्यहोर्नुपरेको छ ।
पहिलो बच्चा
पहिलो बच्चा बसेको छ भने त्यसलाई खेर नफाल्नु राम्रो हुन्छ । एबोर्सन गराइसकेपछि अर्को बच्चा बस्ने सम्भावना पहिलेको भन्दा अलिकति कम हुन्छ । किनकि, सुरक्षित तरिकाले एबोर्सन गरिएन भने पछिल्लो पटक गर्भ बस्न समस्या हुन्छ । सुरक्षित तरिकाले गरेकोमा पनि कहिलेकाहीँ इन्फेक्सन हुनसक्छ ।
इन्फेक्सनले नली बन्द पनि हुनसक्छ । असुरक्षित गर्भपतन भयो भने बच्चाको कुनै भाग रहनसक्छ र रगत बगिरहन्छ । त्यसमा इन्फेक्सन हुन्छ र संक्रमण बढ्छ । जसले पछि बच्चा नबस्ने हुन्छ । बच्चा पाउनु भनेको रहरले हो । रहर नलागुन्जेल अस्थायी साधन प्रयोग गर्नु राम्रो हुन्छ ।
एबोर्सनलाई परिवार नियोजनको साधनका रूपमा लिनुहुँदैन । धेरैपटक एबोर्सन गर्दा पाठेघर पातलिन्छ, पातलो भएमा बच्चा नबस्ने सम्भावना हुन्छ । बच्चा बसेमा पनि आफैँ खेर जाने सम्भावना बढी हुन्छ । पाठेघरभित्रको आकारप्रकार बिग्रन्छ । पछि बच्चा बढ्दै गएर पाठेघर नफुट्नेसम्मको खतरा हुन्छ ।
अस्थायी साधनले के गर्छ ?
परिवार नियोजनको अस्थायी साधन प्रयोगले नै लामो समयसम्म बच्चा नबस्ने भन्ने चाहिँ हुँदैन । तर, कुनै–कुनै साधनले महिनावारी गडबड गराउँछ । महिलाले लामो समयका लागि प्रयोग गर्ने कुनै–कुनै अस्थायी साधनले लामो समय (६ महिना–१ वर्ष)सम्म पनि गर्भ बस्ने समय धकेल्न सक्छ ।
कुन समयमा बच्चा पाउनु उचित ?
महिलाले २५ देखि ३० वर्षको उमेरमा बच्चा पाउनु राम्रो हुन्छ । ३५ वर्षपछिको उमेर बच्चा पाउन उचित समय होइन । यो समयमा बच्चा बस्ने सम्भावना पनि कम हुन्छ । सो समयपछि गर्भ रहेमा बच्चा अपांग हुने, डाउन्ड सिन्ड्रम हुने हुन्छ भने आमामा पनि उमेर बढ्दै जाँदा डायबिटिज, हाइपरटेन्सन, ओभरवेटले गर्दा समस्या हुन्छ । पेट नै बोक्नु चाहिँ खराबी होइन, तर आमालाई अन्य रोग लाग्ने भएको हुँदा समस्या हुनसक्छ ।
थाहा नभएका कारणले हुने बाँझोपन
२० देखि ३० प्रतिशतमा थाहा नभएका कारणले बाँझोपन हुन्छ । यसमा अन्य थप जाँच गर्नुपर्ने हुन्छ । यसमा क्रोमोजोम हेर्नुपर्ने र अन्य हर्मोनको पनि जाँच गर्नुपर्छ । यसले कतिपय कारण पत्ता लाग्छ, कतिपय पत्ता लाग्दैन ।
पत्ता नलाग्ने समस्या भनेको अलिकति श्रीमानको समस्या, अलिकति श्रीमतीको समस्या जुधेर पनि भएको हुन्छ । यस्तो अवस्थामा आकस्मिक रूपमा पछि आफैँ बच्चा हुने पनि छन् । तर, लामो समयसम्म पनि कारण थाहा छैन भने कृत्रिम गर्भाधान गर्यो भने बच्चा हुने सम्भावना हुन्छ । त्यसमा पनि एकैपटकमा सफल नहुन सक्छ कोसिस गरिरहनुपर्छ ।
बाँझोपन तीन कारणले हुन्छ
१. श्रीमानको शुक्रकीटमा खराबी भएर हुने बााझोपन । यो अहिलेसम्म २५ देखि ३० प्रतिशतमा देखिएको छ ।
२. महिलामा डिम्ब नबन्ने समस्या भएर । त्यो पुरुषकै समस्याको हाराहारीमा देखिएको छ ।
३. महिला–पुरुष दुवैमा देखिएको समस्याले बााझोपन भएको देखिन्छ । यो समस्या २० देखि ३० प्रतिशत दम्पतीमा देखिएको छ ।
बाँझोपनको उपचार
- सुरुको अवस्थामा के कारणले बच्चा नभएको हो, त्यसको जाँच गर्ने ।
- कारण थाहा भएपछि कारणको उपचार गर्ने ।
- शुक्रकीटको खराबी छ भने त्यो बढाउन लाग्ने ।
- बढ्न सकेन भने श्रीमान्को शुक्रकीट लिएर कृत्रिम गर्भाधान गर्ने ।
- धेरै नै कम छ भने श्रीमान्कै शुक्रकिट लिएर टेस्टट्युब बेबी जन्माउन सकिन्छ ।
- श्रीमतीको डिम्ब नै नबन्ने छ भने डिम्ब बन्ने औषधि खाने ।
- तौल धेरै छ भने तौल घटाउने ।
- इन्फेक्सन छ भने त्यसको उपचार गर्ने ।
- पाठेघरमा मासु पलाएर बच्चा बस्न सकेको छैन भने त्यसलाई फाल्नुपर्छ ।
- केही पनि कारण छैन र बच्चा बसेको छैन भने कृत्रिम गर्भाधान गर्न सकिन्छ ।
- नली नै बन्द छ र अन्य कारणले बच्चा बसेन भने त्यसका लागि टेस्टट्युब बेबी प्रविधि अपनाउन सकिन्छ ।
- कसैले डिम्ब नै बनाउँदैन वा बनाउन सक्दैन भने अरूबाट डिम्ब लिएर पनि गर्भ बसाउन सकिन्छ ।
- पुरुषले चुरोट खान्छन् भने छाड्ने ।
- लागुऔषधको कुलत छ भने त्यो पनि छाड्नुपर्छ ।
- धेरै गर्मी ठाउँमा काम गर्नुपर्छ भने काम परिवर्तन गर्ने ।
- शुक्रकीट निर्माणका लागि अण्डकोषको तापक्रम ३२–३३ डिग्री हुनुपर्छ ।
डा.जागेश्वर गौतम । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ