सूचनाको शक्ति - The Power Of Information

        

एचआइभी सङ्क्रमितबाट जन्मिएका शिशु सङ्क्रमणमुक्त

नेपालगन्जस्थित भेरी अस्पतालको एआरटी सेन्टरमा नियमित औषधि सेवन गर्दै आएका एचआइभी सङ्क्रमित महिलाबाट जन्मिएका पाँच जना शिशु सङ्क्रमणमुक्त रहेको पाइएको छ ।

पछिल्लो डेढ वर्षयता सङ्क्रमितबाट जन्मेका १८ महिनाभन्दा कम उमेरका पाँच जना शिशु पूर्ण स्वस्थ र सङ्क्रमणमुक्त रहेको भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा.सङ्केतकुमार रिसालले बताए ।

उनका अनुसार अस्पतालबाट नियमित औषधि सेवन गर्दै आएकामध्ये पाँच जना आमाबाट जन्मिएका १८ महिनामुनिका शिशु एचआइभी सङ्क्रमणमुक्त रहेका छन् । यहाँ २०६२ फागुनमा रोग प्रतिरोधक क्षमता अभिवृद्धि केन्द्र अर्थात् एआरटी सेवा सुरु गरिएको थियो ।

सो एआरटी युनिटमा नेपाली र भारतीय गरी ५६० जना सङ्क्रमित उपचारका लागि नियमित आउने गरेका छन् । तीन छोराछोरीकी आमा दीपिका थापा (नाम परिवर्तन)ले नियमित औषधि सेवन गरियो भने आमाबुवा सङ्क्रमित भए पनि स्वस्थ बच्चा जन्मिने रहेछ भन्ने उदाहरण आफू नै बनेको बताए ।

‘एचआइभी सङ्क्रमित भएपछि मान्छे मरिहाल्छ भन्ने सुनेकी थिएँ,’ उनले थपे, ‘तर त्यसो होइन रहेछ औषधि नियमित सेवन गर्ने र जीवनशैलीलाई बदल्ने हो भने अरू मानिसजस्तै सहज जीवनयापन गर्न सकिने रहेछ ।’

चिकित्सकको सल्लाह अनुसार नियमित एआरटी सेवा लिएका महिलाले जन्माएका धेरै बच्चामा एचआईभी सङ्क्रमण नेगेटिभ देखिने गरेको अस्पतालले जनाएको छ । भेरी अस्पतालका एचआइभी फोकल पर्सन डा.रिसालले एआरटी सेवा लिने क्रम बढेपछि एचआइभी सङ्क्रमणबाट मृत्यु हुने दर पनि घटेको बताए ।

सङ्क्रमितलाई बाँचुन्जेल दिनको एक पटक टीडीएफ–३ डीसीइएफभी नामक औषधि खुवाउने गरिन्छ । यस्ता आमाबाट जन्मिएका शिशुलाई जन्मिएको ७२ घण्टाभित्रै प्रोफायल एक्सिस नामक औषधि खुवाउने गरिन्छ ।

नियमित औषधि खुवाएर १८ महिनापछि बच्चाको एचआइभी अवस्था जाँच गरिन्छ । सबैको नतिजा राम्रो रहेको भेरी अस्पतालका एचटीसी काउन्सलर होमनाथ सुवेदीले बताए । उनले चिकित्सकले सन्तानको चाहना राख्ने आमाबुवालाई पीएमटीसीटी सेवा लिन सुझाव दिने गरेको बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार ०८:१८