सूचनाको शक्ति - The Power Of Information

        

सोलार विद्युत् परियोजना

बाँकेमा उत्पादित १० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडियो

१० मेगावाट विद्युत उत्पादन गरेको खजुराको घियामा रहेको सोलार परियोजना ।

गोल्यान समूह र रेनरगो डेभलपर्स प्रालिको मुख्य लगानी रहेको पियोर ईनर्जी लिमिटेडले बाँके जिल्लामा निर्माण गरेको सोलार परियोजनाबाट १० मेगावाट विद्युत उत्पादन गरेको छ । बाँकेको खजुरा गाउँपालिका वडा नं. ८ रनियापुरस्थित घिया गाउँमा निर्माण गरिएको सोलार विद्युत् परियोजनाबाट उत्पादन भएको १० मेगावाट विद्युत् परीक्षणका लागि बिहीबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

हाल १० मेगावाट उत्पादन भएको र थप १० मेगावाट उत्पादनको तयारी पनि अन्तिम चरणमा पुगेको तथा केही महिनामै सो विद्युत पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिने रेनरगो डेभलपर्स प्रालिका नेपाल प्रमुख शुभम् गुप्ताले बताए । ‘अहिले तत्कालका लागि परीक्षण गर्न १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडेका छौँ,’ उनले भने, ‘करिब हप्ता दिनपछि उक्त विद्युत् नियमित प्रसारण हुनेछ ।’

त्यसको करिब दुई महिनापछि थप १० मेगावाट पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी अन्तिम चरणको काम भइरहेको प्रमुख गुप्ताले बताए । सो विद्युत परीक्षणका लागि ३३ केभी विद्युत् कोहलपुर सब–स्टेसनमा जोडिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरले जनाएको छ ।

खजुराको घिया गाउँमा निर्माण गरिएको सोलार विद्युत् परियोजनाबाट उत्पादन भएको विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोडेर बिहीबारबाट परीक्षण सुरु गरिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, कोहलपुरका प्रमुख सुरज रेग्मीले जनाए । ‘अहिले परीक्षण प्रसारण सुरु गरिएको छ,’ उनले भने, ‘एक साता परीक्षण प्रसारण भएपछि यसलाई नियमित गर्छौँ ।’

उक्त प्रसारण लाइन सफल भएपछि केही समयमा सोही कम्पनीबाट थप १० मेगावाट विद्युत खरिद गर्ने पनि रेग्मीले बताए । अहिलेको १० मेगावाट र केही महिनापछि प्राप्त हुने थप १० मेगावाट गरेर २० मेगावाटबाट गर्मीको समयमा हुने विद्युत समस्या केही समाधान हुने उनको भनाइ छ । उक्त सोलार विद्युत परियोजनाको निर्माण गत वर्षदेखि सुरु भएको थियो ।

समयमै १० मेगावाटको परियोजना सम्पन्न भएको जनाउँदै रेनरगो डेभलपर्स प्रालिका नेपाल प्रमुख गुप्ताले उक्त परियोजनामा एक अर्ब रुपियाँको लगानी भएको बताए । उनले एक अर्ब रुपियाँकै लगानीमा थप १० मेगावाटको अर्को परियोजना पनि सम्पन्न हुने अन्तिम चरणमा पुगेको जनाउँदै दुई महिनाभित्रै थप १० मेगावाट विद्युत उत्पादन हुने बताए ।

सोलारबाट उत्पादन गरेर परीक्षणका लागि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको सो विद्युतलाई बैजनाथ–६, कोहलपुर–३, कोहलपुर–४, बेलनपुरवा, कोहलपुर–६ रझेना, कोहलपुर–८, गोल्छा, कोहलपुर–१० मन्नापुर नहर हुँदै चटारबाट कोहलपुर सब–स्टेसनसम्म पुर्याइएको परियोजनाका ट्रान्समिटर सुपरभाइजर लिलाधर चापागाईँले बताए । उनका अनुसार राष्ट्रिय प्रसारण लाइनसम्म पुर्याउन बिहीबारदेखि उक्त क्षेत्रमा विद्युत छोडिएको छ ।

पोल, तार तथा विद्युतीय संरचना नछुन तथा नचलाइदिनु हुन सो क्षेत्रका सबैलाई अनुरोध गरिएको पनि चापागाईँले बताए । २५ वर्षसम्म सो विद्युत सरकारलाई विक्री गर्ने गरी नेपाल सरकारसँग सम्झौता भएको रेनरगो डेभलपर्स प्रालिले जनाएको छ । सो कम्पनीका अनुसार यसअघि पोखरा र नवलपरासीको बर्दघाटमा पनि सोलारबाट विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार ०७:४८