सूचनाको शक्ति - The Power Of Information

        

उडिरहेको बुद्ध एयरको जहाजमा दुई यात्रुले झगडा गरेपछि…

उडिरहेको बुद्ध एयरको जहाजमा झगडा गर्ने दुई यात्रुलाई पक्राउ गरि अनुसन्धान सुरु भएको छ । महानगरीय प्रहरी वृत्त गौशालाको प्रहरीलाई यात्रु दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठलाई त्रिभुवन विमानस्थल कार्यालयले प्रहरीको जिम्मा लगाएपछि अनुसन्धान सुरु भएको हो ।

जहाज उडानको समयमा भनाभनसँगै हातपात भएको जानकारी विमान चालकबाट आएपछि कारबाही अगाडि बढाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । यात्रुलाई पक्राउ गरेर गौशाला वृत्तमा जिम्मा लगाइसकिएको छ ।

‘आपसी मनमुटावमा दुई यात्रुबिच हात हालाहाल भएको जानकारी आएको छ,’ भुलले भने, ‘उडान नभएको अवस्थामा यस्तो घटना भएको भए उही बेलामा जहाजबाट निकालेर कारबाही गरिन्थ्यो । प्रहरीको छानबिनका आधारमा कारबाही गरिनेछ ।’

प्राधिकरणले विराटनगर–काठमाडौं उडानका क्रममा झगडा गरेर उडान सुरक्षामै प्रभाव पारेको भन्दै ती यात्रुलाई गैरसैनिक हवाई ऐन २०१५ र नागरिक उड्डयन सुरक्षा नियमावली अन्तर्गतको कारबाही गर्ने तयारी गरेको उनले बताए । यदि दोषी देखिए कैद, जरिबानासँगै केही समयका लागि जहाज उडानमै प्रतिबन्ध लगाइने व्यवस्था रहेको उनले जानकारी दिए ।

यस्ता गतिविधिले पाइलटको मनस्थिति नै बिग्रनुका साथै हवाई दुर्घटनाको जोखिम बढ्ने भएकाले कानुनी कारबाही आवश्यक रहेको उनले बताए । बुधवार ४ः३० बजे विराटनगर–काठमाडौं उडान गरेको बुद्ध एयरको फ्लाइट नम्बर ७१० मा सँगै बसेका दुई यात्रुबीच एक्कासी झगडा भएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १८:५१