सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ, संघीय नेपाल हाँक्ने नयाँ प्रशासनको मोडल

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको सात वर्षपछि सरकारले संघीय नेपाललाई हाँक्ने नयाँ प्रशासन कानुनको अन्तिम गृहकार्य गरेको छ ।

हालको निजामती सेवा ऐनलाई विस्थापित गर्ने उद्देश्यसहित संघीय निजामती सेवा ऐन ल्याउन लागिएको हो । संघीय निजामती सेवा ऐन संघीय नेपालको प्रशासन हाँक्ने मूल कानुन हो ।

जुन कानुनलाई छाता कानुनको रूपमा लिइन्छ । संघीय निजामती सेवा ऐन जारी भएपछि मात्रै सोही कानुनकै आधारमा प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन जारी हुनेछ ।

सोअनुसार केन्द्र्रीय सरकारको स्थायी प्रशासन हाँक्ने गरी सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अघि बढाएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो विधेयक आवश्यक परामर्श र स्वीकृतिका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिटै जारी गर्ने तयारीका साथ विधेयकलाई अघि बढाइएको बताउनुभयो ।

उहाँले कानुन र अर्थ मन्त्रालय पठाइएको विधेयक ती मन्त्रालयबाट फिर्ता हुनासाथ मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको जानकारी दिनुभयो ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार ०७:५५