सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश नम्बर ६ मा वाम र लोकतान्त्रिक गठबन्धनबीच तीव्र प्रतिस्पर्धा, कुन जिल्लामा को बलियो ?


बाँके । प्रदेश नम्बर ६ का दश जिल्लामध्ये सात जिल्लामा पहिलो चरणमा निर्वाचन हुँदैछ । स्थानीय तह निर्वाचनमा मिश्रित परिणाम पाएका प्रमुख दलहरु गठबन्धन अभ्यासबाट बढी क्षेत्र आफ्नो पकडमा पार्ने प्रयासमा छन् । संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि यो क्षेत्रमा मिश्रित परिणाम नै दलहरुले पाएका थिए ।
मंसिर १० गते प्रदेश ६ का डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, जाजरकोट र रुकुम पश्चिममा निर्वाचन हुँदैछ । रुकुम पश्चिम सबैभन्दा कान्छो जिल्ला हो । अन्य ६ जिल्लामा यसअघि ०७० मा आठ निर्वाचन क्षेत्र थिए । जसमा कांग्रेस र माओवादीले तीन–तीन तथा एमाले दुई स्थानमा विजयी भएको थियो । स्थानीय तह निर्वाचनको वडागत मतपरिणामको नतिजा अनुसार रुकुम पश्चिमसहित माओवादी केन्द्र चार जिल्लामा अघि छ । अन्य तीनमध्ये दुईमा एमाले र एकमा कांग्रेस अघि छ ।

स्थानीय तहको वडागत मत
डोल्पा : संविधानसभा सदस्य निर्वाचन २०७० मा डोल्पामा एमाले विजयी भएको थियो । स्थानीय तहको वडागत मतमा पनि एमाले नै अन्य दलभन्दा दोब्बर मतले अघि छ ।
कांग्रेस – ३१९५
एमाले – ५९७०
माओवादी – २३२६
स्वतन्त्र – ८६०

जुम्ला : संविधानसभा सदस्य निर्वाचनमा जुम्लामा कांग्रेस विजयी भएको थियो । तर, स्थानीय तह निर्वाचनको मतपरिणाममा भने माओवादी केन्द्र अघि छ ।
कांग्रेस – १२१२७
एमाले – ११७४५
माओवादी – १३९५२
नेमकिपा – २०१९

कालिकोट : कालिकोटमा संविधानसभा सदस्य निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो । स्थानीय तह मतपरिणाममा पनि माओवादी निकटतम प्रतिस्पर्धी एमालेभन्दा दुई हजार मतले अघि छ ।
कांग्रेस – १२२७४
एमाले – १३२३१
माओवादी – १५११६
राप्रपा – ९७३
नयाँ शक्ति – ९५६

मुगु : संविधानसभा निर्वाचनमा एमाले विजयी भएको मुगुमा स्थानीय तह निर्वाचनमा वडागत मतमा कांग्रेस २७ मतले अघि छ ।
कांग्रेस – ८६०६
एमाले – ८५७९
माओवादी – ३३८२

हुम्ला : संविधानसभा सदस्य निर्वाचनमा कांग्रेस विजयी भएको हुम्लामा स्थानीय तहमा वडागत मतमा माओवादी अघि छ ।
कांग्रेस – ६८६८
एमाले – ३५७९
माओवादी – ८१०७
नयाँ शक्ति – ५०९

जाजरकोट : संविधानसभा सदस्य निर्वाचन २०७० मा जाजरकोटका दुई क्षेत्रमध्ये कांग्रेस र एमाले एकरएक क्षेत्रमा विजयी भएका थिए । तर, स्थानीय तहको वडागत मत परिणाममा समग्र जिल्लामा एमाले ११ सय मतले अघि छ ।
कांग्रेस – १९४३९
एमाले – २०६००
माओवादी – १७४६१

रुकुम पश्चिम : रुकुम पश्चिम सबैभन्दा कान्छो जिल्ला हो । संघीय संरचनामा प्रदेश विभाजनका क्रममा रुकुम जिल्लालाई रुकुम पूर्व र रुकुम पश्चिममा विभाजन गरिएको छ । रुकुम माओवादीको पकड क्षेत्र हो । स्थानीय तहमा रुकुम पश्चिममा माओवादी नै भारी मतले अघि छ ।
कांग्रेस – १९०६७
एमाले – ८४०४
माओवादी – २७४३१

प्रकाशित मिति : १५ कार्तिक २०७४, बुधबार ०७:१५