सूचनाको शक्ति - The Power Of Information

        

तीन वटै उजुरी खारेज भएपछि रवि लामिछानेको उम्मेदवारी कायम

चितवन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ । लामिछानेको उम्मेदवारीविरुद्ध परेका चार वटा उजुरीमध्ये तीन वटा उजुरीमाथिको दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको हो ।

उनका प्रतिस्पर्धी उम्मेदवारले गरेको दाबी विरोध खारेज भएसँगै उनको उम्मेदवारी कायम भएको छ । लामिछानेको उम्मेदवारीविरुद्ध इमेलबाट उजुरी गरेका युवराज पौडेल सफलको उजुरीमाथि निर्णय गर्न आयोगको केन्द्रीय कार्यालयमा पठाइएको चितवनका मुख्य निर्वाचन अधिकृत बासुदेव शर्माले जानकारी दिए ।

युवराज सफलको उजुरीमाथि निर्णय गर्ने आफ्नो क्षेत्राधिकार नभएकोले निर्वाचन आयोगमा पठाइएको शर्माले जानकारी दिए । लामिछानेविरुद्ध राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्मा, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र शिवहरि सुवेदीले उजुरी दर्ता गरेका थिए । तर निर्वाचन अधिकृतको कार्यालयले सो दाबी विरोध नपुग्ने भन्दै रद्द गरेको हो ।

उनीहरुले दिएको उजुरीमा नेपाली नागरिकता लिएको समय अवधि नपुग्ने भएकाले उम्मेदवारी रद्द गर्नुपर्ने उनीहरुको माग थियो । उनीहरु तीन जनाले गरेको उजुरीविरुद्ध पार्टी सभापतिसमेत रहेका रास्वपाका उम्मेदवार लामिछानेले दिउँसो १ बजेअघि आफ्नो प्रस्टीकरण निर्वाचन अधिकृतको कार्यालयमा बुझाएका थिए ।

मुख्य निर्वाचन अधिकृत शर्माले भने, ‘प्राकृतिक न्यायको सिद्धान्त अनुसार कुनै व्यक्तिले अर्को व्यक्तिविरुद्ध उजुरी गर्छ भने त्यसबारे निर्णय गर्नका लागि उजुरी परेको मान्छेको पनि कुरा सुन्नुपर्ने हुन्छ । तीन वटा दाबी विरोधमाथि उम्मेदवार रवि लामिछानेले प्रस्टीकरण दिनुभएपछि त्यसलाई अध्ययन गरेर दाबी नपुग्ने भएपछि खारेजीको निर्णय गरिएको हो ।’

यस्तै युवराज सफलले गरेको उजुरी उम्मेदवार बाहिरबाट परेकोले त्यसबारेमा सात दिनभित्र निर्णय गर्न भन्दै आयोगमा पठाइएको छ । सफलको उजुरीमाथि लामिछानेले पनि सात दिनभित्र आफ्नो स्पष्टीकरण आयोगमा पेस गर्नुपर्नेछ । युवराज सफलले गरेको उजुरीमाथि सात दिनभित्र निर्णय गरेर त्यसको जानकारी आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा पठाउनुपर्नेछ ।

शर्माले भने, ‘उम्मेदवार रवि लामिछानेले सात दिनभित्र हाम्रो कार्यालयमा युवराज सफलले गरेको उजुरीमाथि प्रस्टीकरण दिनुपर्नेछ । त्यो प्रस्टीकरण हामी निर्वाचन आयोगमा पठाउँछौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा १५ अनुसार उम्मेदवारविरुद्ध जसले पनि उजुरी गर्न पाउने व्यवस्था बमोजिम सफलको उजुरी परेको हो । यो मैले निर्णय गर्न पाउने क्षेत्राधिकार बाहिरको कुरा हो यसबारे आयोगले निर्णय गर्छ ।’

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १७:१५