सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा उपनिर्वाचन – २०८०

उपनिर्वाचनमा ६९ उम्मेदवार मैदानमा, मतदाता घटबढ

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा कांग्रेस, जनता समाजवादी पार्टी र रास्वपाबीच टक्कर हुने देखिएको छ ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा १ करोड ८० लाखभन्दा वढी मतदाताले भाग लिँदै छन् । निर्वाचन आयोगको स्वीकृत मतदाता नामावली अनुसार वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुग्ने १ करोड ८० लाख एक हजार ५६६ जना मतदाता छन् ।

यीमध्ये महिला मतदाताको संख्या ८८ लाख ५२ हजार ४६ छ भने पुरुष मतदाता ९१ लाख ४९ हजार ३३५ छन् । उपनिर्वाचनमा १२ हजार ९९६ मतदाता वृद्धि भएको निर्वाचन आयोगले जनाएको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता थिए ।

उपनिर्वाचनको लागि तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा १ लाख २३ हजार ३०५ मतदाता छन् भने चितवन निर्वाचन क्षेत्र नं २ मा १ लाख २४ हजार ६९५ मतदाता छन् । त्यस्तै बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा १ लाख ५ हजार २४८ मतदाता कायम भएका छन् ।

मतदाता घटबढ

वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने मतदाताको सङ्ख्यामा अघिल्लो चुनावमा भन्दा घटबढ देखिएको छ । ३ वटा निर्वाचन क्षेत्रमध्ये तनहुँ १ मा मतदाता घटेका छन् भने चितवन २ मा र बारा २ मा बढेका छन् ।

निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा मतदान गर्न पाउने मतदाता ३ लाख ५३ हजार २४८ जना रहेको उल्लेख छ । तिमध्ये तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा १८५ मतदाता घटेर १ लाख २३ हजार ३०५ मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनका लागि चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ४७० थप भई १ लाख २४ हजार ६९५ जना पुगेका छन् । त्यस्तै बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २३७ थप भई १ लाख ५ हजार २४८ पुगेका छन् ।

मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारामा १ लाख ५ हजार ११ मतदाता रहेका थिए । जसमा पुरुष ५८ हजार ७४२ र महिला ४६ हजार २६९ थिए । सो निर्वाचन क्षेत्रमा ९२९ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उपचुनावलाई ध्यानमा राखेर चितवन जिल्लामा २०७९ फागुन १ गतेदेखि तथा बारा र तनहुँ जिल्लामा चैत ६ गतेदेखि लागू हुने गरी अनलाइन प्रणालीमा आधारित मतदाता नामावली दर्ता गरिएको थियो ।

यस्तो छ तयारी

उपनिर्वाचन हुने तीन जिल्लाका लागि १९४ मतदान स्थल र ४२७ मतदान केन्द्र कायम गरिएको छ । चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ४३ वटा मतदानस्थलमा १३८ मतदान केन्द्र, बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ८२ मतदानस्थलमा १३७ मतदान केन्द्र र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र रहने छन् ।

निर्वाचन आयोगका अनुसार आगामी उपनिर्वाचनमा बारा क्षेत्र नं २ मा १ मतदान केन्द्र थप भएको छ भने अरु क्षेत्रका मतदान केन्द्रहरू यथावत छन् । आयोगका अनुसार चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा रहेका मतदान केन्द्र र मतदान स्थल यथावत रहेका छन् ।

अघिल्लो चुनाव नियाल्दा

उपनिर्वाचन हुन लागेका ३ वटै निर्वाचन क्षेत्रको चुनावी माहोल विगतको चुनावमा जस्तै तातेको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा कांग्रेस, जनता समाजवादी पार्टी र रास्वपाले जितेका थिए भने अब हुने उपनिर्वाचनमा पनि तिनै दलहरूबीच टक्कर हुने देखिएको छ ।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल २५ हजार ३६१ मत ल्याई विजयी थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार एकबहादुर राना मगरलाई ५ हजार ३८० मतान्तरले पराजित गरेका थिए ।

कुल जनसंख्या ३ लाख २० हजार ५६५ रहेको गण्डकी प्रदेशको तनहुँ जिल्लामा १ लाख १९ हजार ६५० जना पुरुष र १ लाख २८ हजार ८४५ जना महिला गरी कुल २ लाख ४८ हजार ४९५ मतदाता रहेका थिए ।

यसैगरी मधेस प्रदेशको बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा निर्वाचन २०७९ मा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार रामसहायप्रसाद यादव १३ हजार ८२२ मत ल्याई विजयी भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ३५४ मतान्तरले पराजित गरेका थिए ।

कुल जनसंख्या ६ लाख ८९ हजार ९५० रहेको बारा जिल्लामा अघिल्लो चुनावमा कुल ४ लाख ३३ हजार ५०४ मतदाता रहेका थिए । यी मध्ये २ लाख ३६ हजार ८८० जना पुरुष थिए भने १ लाख ९६ हजार ६१२ जना महिला थिए ।

त्यस्तै प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने ४९ हजार २६४ मत ल्याई विजयी भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार २८१ मतान्तरले पराजित गरेका थिए ।

वाग्मती प्रदेशमा पर्ने चितवन जिल्लाको कुल जनसंख्या ५ लाख ६७ हजार ९८८ रहेको छ । मंसिर ४ गतेको चुनावमा यस जिल्लामा कुल ४ लाख ८ हजार ३४२ मतदाता रहेका थिए । तिमध्ये १ लाख ९९ हजार ०३२ जना पुरुष थिए भने २ लाख ९ हजार ३०९ जना महिला थिए ।

उम्मेदवारको अवस्था

उपनिर्वाचनको लागि चितवनमा २४ जनाले उम्मेदवारी दिएका छन् भने तनहुँमा ९ जनाले उम्मेदवारी दिएका छन् । चितवन २ मा राजनीतिक दलबाट १२ जना र स्वतन्त्रबाट १२ जनाले उम्मेदवारी दिएका हुन् ।

तनहुँ १ र बारा २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि २६ दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका छन् । त्यस्तै बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको रौनक पनि उत्तिकै बढेको छ । सो क्षेत्रमा सबैभन्दा धेरै उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार बारा २ मा ३६ जनाले उम्मेदवारी दिएका छन् ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा देशभरबाट निर्वाचित उम्मेदवारमध्ये ३ जना उमेदवारको स्थान रिक्त भएपछि उपनिर्वाचन हुन लागेको हो । आम निर्वाचनमा चितवन क्षेत्र नं २ बाट निर्वाचित रवि लामिछाने नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि सो क्षेत्रमा उप निर्वाचन हुन लागेको हो ।

त्यस्तै तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा पनि बैशाख १० मा उपनिर्वाचन हुँदैछ । यसैगरी मंसिर ४ को चुनावमा बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १४:१६