बुटवल पाल्पा सिद्धबाबा सडक मंगलबारदेखी अवरुद्ध हुने भएको छ ।
सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ कर्पोरेसनले रामा पिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य सुरु गरेकाले दैनिक दुई पटक दिउसो र राती सडक अवरुद्ध हुने रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेयले बताए ।
सुरुङ मार्ग निर्मार्णको क्रममा सडक माथिबाट खुकुला ढुङ्गाहरू पहरोबाट झरी कार्य गर्न जोखिम भएकाले खुकुला ढुङ्गाहरू खसाल्न सडक यातायात आवागमन बन्द गर्ने निर्णय भएको र बन्दका समयमा वैकल्पिक सडक प्रयोग गर्न पनि प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् ।
सोमबार सरोकारवाला निकायहरूसँगको बैठकले राष्ट्रिय महत्वको सुरुङ मार्ग निर्माणमा सहजीकरण गर्न आवश्यक देखिएकोले मंगलबार बिहान ११ बजे देखि अपरान्ह २ बजेसम्म र राति १० बजेदेखि विहान ४ बजेसम्म अर्को सूचना जारी नहुँदासम्म सवारी साधन आवतजावत बन्द गरी सुरक्षित साथ कार्य गर्न स्वीकृति दिने निर्णय गरेको प्रजिअ पोण्डेयले जानकारी दिए।
सडक अवरुद्धका समयमा बेलवास- दोभान सडक खण्ड वैकल्पिक रुपमा प्रयोग गर्न पनि बैठकले आग्रह गरेको छ । साना तथा निजी गाडीहरू र अत्यावश्यक सवारी साधनहरूलाई उक्त वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
साथै उक्त सडकलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागी आवश्यक पूर्वाधार मर्मत कार्य गर्न परियोजनालाई आग्रह गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ