सूचनाको शक्ति - The Power Of Information

        

उपनिर्वाचन : बारा–२ मा हरूवाहरुबीच मुख्य प्रतिस्पर्धा

आगामी वैशाख १० को उपनिर्वाचनमा बारा–२ मा हरुवाहरूबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजराज चौधरीका अनुसार सोमबार दिउँसो १७ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।

जनता समाजादी पार्टी (जसपा)बाट उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह, राष्ट्रिय स्वतन्त्रा पार्टी (रास्वपा)बाट रमेश खरेल लगायतले उम्मदेवारी दर्ता गरेका छन् । योसँगै बारा–२ मा हरुवाहरुबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

जनताले पाँच वर्ष संसद् नपस्न दिएको जनादेश विपरित नेताहरूले चोर बाटोबाट संसद् पस्ने कोसिस गरेका हुन् । गत मंसिर ४ को निर्वाचनमा जनताले पाँच वर्ष संसद प्रवेश नगर्न दिएको जनादेश लत्याउँदै उनीहरू चोरबाटोबाट संसद् प्रवेश गर्न लागेका हुन् ।

उपेन्द्र यादव गत निर्वाचनमा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । मधेस आन्दोलनको नेतृत्व गरेर उदाएका यादवलाई मधेसकै अर्का उदीयमान नेता सीके राउतले १८ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए ।

पराजितहरूसँग भिड्न लागेका अर्का पात्र हुन्, शिवचन्द्र कुशवाह । उनी गत मंसिर ४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट पराजित भएका थिए । गत निर्वाचनमा उनी जसपाका उम्मेदवार रामसहायप्रसाद यादवसँग ३५४ मात्रै मत अन्तरले पराजित भएका थिए । रामसहाय उपराष्ट्रपति बनेपछि बारा–२ मा उपनिर्वाचन हुन लागेको हो ।

बारा–२ मा काठमाडौं–१ बाट हारेका रमेश खरेलले समेत उम्मेदवारी दिएका छन् । उपनिर्वाचन लड्न नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेल गत शनिबार मात्रै रास्वपामा समाहित भएका थिए । खरेल मङ्सिरको चुनावमा काठमाडौं–१ मा पाँचौ भएका थिए । यसरी करिब पाँच महिनाअघि मात्रै जनताले नरुचाएका नेताहरू फेरि चुनावी प्रतिष्पर्धामा जाँदैछन् ।

एक ठाउँका जनताको मत नपाएर पराजित भएका व्यक्तिहरू निर्वाचन क्षेत्र होस् वा पार्टी परिवर्तन गरेर निर्वाचनमा भाग लिनु जनमतको अवमूल्यन हो । जनताबाट अस्वीकृत भएका नेताहरूलाई दलहरूले नै उपनिर्वाचनमा उम्मेदवार बन्नु लोकतन्त्रको उपहास भएको केहीले टिप्पणी गर्न थालेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १६:३८