सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछानेले भने, ‘देशको लागि म घाँडो भएको भए मारिदिए भैगो !’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पासपोर्ट दुरुपयोगको मुद्दाका विषयमा आक्रोश र दिक्दारी व्यक्त गरेका छन् । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएपछि पत्रकारसँग लामिछानेले सर्वोच्च अदालतमा दर्ता गर्न लागिएको पासपोर्ट मुद्दाका विषयमा आक्रोश र दिक्दारी प्रकट गरेका हुन् ।

उनले हरेक न्यायीक प्रक्रियालाई स्वीकार्ने र स्वीकार्दै आएका समेत बताए । ‘मैले न्यायीक प्रक्रियालाई कहिल्यै प्रभावित पारेको छैन र पार्ने छैन । अदालतको फैसलाले लेखिदिएको छ कि, सन् २०१८ मै सकिएको भनेर,’ उनले भने, ‘त्यसलाई पनि कसैले व्याख्या गरिदियो भने त एउटै उपाय छ । म घाँडो नै भएको हो भने त मारिदिए भैगो ।’

त्यस्तै उनले चितवन–२ मा प्रधानमन्त्रीको भित्रि समर्थन छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले त्यस्तो केही नभएको बताए । ‘मलाई कसैको समर्थन छैन । कसैसँग गठबन्धन नगरी चुनाव आफ्नो बलमा जित्नुपर्छ भनेर लागेका छौं । कसैले समर्थन गर्छ भने हामी धन्यवाद भन्छौं,’ लामिछानेले भने ।

सभापति लामिछानेले वैशाख १० गते हुने उपनिर्वाचनबाट उत्साहित र आशावादी रहेको समेत बताएका छन् । सभापति लामिछाने चितवन २ मा यसअघि मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागे पनि आफू उत्साहित र आशावादी रहेको बताए ।

‘पहिले यही प्रक्रियाबाट गएको, अहिले फेरि यही प्रक्रियामा जाँदा केही अनौठो लागेको छ,’ उनले भने, ‘राजनीतिक जीवनमा, मान्छेको जीवनमा भइरहने घटना हुन् ।’ आफूले जीवनमा यस्ता किसिमका परिस्थितिहरुको सामना गर्दा केही अनौठो लागेको बताउँदै उनले भने, ‘म एकदमै आशावादी छु, उत्साहित छु ।’ निर्वाचन कार्यालयले चितवन २ मा मनोनयन दर्ता गर्नका लागि दलहरुलाई ताकिएको समय तालिका अनुसार बिहान १० बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १३:०२