सूचनाको शक्ति - The Power Of Information

        

तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन

उपनिर्वाचनका लागि आज मनोनयन दर्ता

दलहरूलाई यस्तो छ आयोगको १० बुँदे निर्देशन

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको रिक्त रहेका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । चितवन–२, तनहुँ–१ र बारा–२ मा वैशाख १० गते उपचुनाव हुँदैछ ।

निर्वाचन आयोगले राजनीतिक दलहरूका लागि उक्त चुनावलक्षित १० बुँदे निर्देशन जारी गरेको छ । उपनिर्वाचनको उमेदवारी मनोनयनको पूर्वसन्ध्यामा आइतबार आयोगले दलहरूलाई निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनय दर्ता गर्न सकिने जानकारी दिएका छन् ।

उनका अनुसार उमेदवारी मनोनयन गर्न जाँदा दलहरूले उमेदवार, समर्थक प्रस्तावकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान पाउने छैनन् ।

त्यसैगरी, मनोनयनपत्र पेस गर्न जाँदा बाजागाजासहित जान नपाउने विज्ञप्तिमा उल्लेख छ । उमेदवारको पहिचान, लोगो, टिसर्ट, ज्याकेट पनि लगाउन पाइने छैन ।

यस्तो छ आयोगको १० बुँदे निर्देशन

१. निर्वाचनमा उमेदवारको मनोनयनपत्र पेस गर्न जाँदा उमेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने ।

२. उमेदवारको मनोनयनपत्र पेस गर्न जाँदा बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता २०७९ विपरीतका ब्यानर, चिह्न र झण्डासहित जान नहुने ।

३. उमेदवारको मनोनयको समयमा उमेदवारको पहिचान झल्किने लोगो, टीका, चिह्न, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने ।

४. उमेदवारको मनोनयनको समयमा मनोनयन गर्न जाँदा र मनोनयन स्थलमा उमेदवारको पक्षमा नारा, जुलुस, भाषण र प्रतिस्पर्धीलक्षित गालिगलौज र टिकाटिप्पणी नगर्ने नगराउने ।

५. उमेदवारको मनोनयनको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पति प्रयोग गर्न नहुने ।

६. नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत् तत् हैसियतमा रही उमेदवारको मनोनयनमा सहभागी हुन नहुने ।

७. उमेदवारको मनोनयनका समयमा बालबालिककाको प्रयोग गर्न गराउन नहुने ।

८. मनोनयनका क्रममा संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उमेदवारलाई आफ्नो सवारीसाधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने ।

९. हेलिकप्टर प्रयोग गरी राजनीतिक दल वा उमेदवारले उमेदवारी मनोनयन गर्न जान नहुने ।

१०. नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले उमेदवारी मनोनयनको क्रममा राजनीतिक दल वा उमेदवारसँग सहभागी हुन नहुने ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार ०६:५६