सूचनाको शक्ति - The Power Of Information

        

रूसद्वारा राष्ट्रसंघको सुरक्षा परिषदकाे अध्यक्षता ग्रहण

रुसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदकाे अध्यक्षता ग्रहण गरेको छ ।

युक्रेनले अन्य सदस्य मुलुकहरुलाई रुसको विरोध गर्न आग्रह गरे पनि रुसले गत शनिबारबाट सुरक्षा परिषदकाे अध्यक्षता ग्रहण गरेको हो । सुरक्षा परिषदका १५ सदस्यले पालै पालो एक-एक महिनाको लागि अध्यक्षता लिने प्रचलन अनुसार रुस स्वतः परिषदकाे अध्यक्ष बनेको हो ।

यसअघि फेब्रुअरी २०२२ मा अध्यक्ष ग्रहण गरेकै समयमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । रुसले सुरक्षा परिषदकाे नेतृृत्व गरेको विषयलाई युक्रेनले भने अहिलेसम्मकै हास्यास्पद प्रहसन भन्दै कटाक्ष गरेको छ ।

युक्रेनको गुनासोको वावजुद पनि अमेरिकाले काउन्सिलको स्थायी सदस्य रुसलाई अध्यक्ष बन्नबाट रोक्न नसक्ने बताएको थियो । अमेरिकासहित बेलायत, फ्रान्स, रुस र चीन सुरक्षा परिषद्का स्थायी सदस्य मुलुक हुन् ।

अध्यक्षता ग्रहण गरे लगत्तै राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्जियाले विश्वमा एक ध्रुवीय समीकरण बदल्न नयाँ रोल क्रम र व्यवस्थाको खाँचो रहेकोले सुरक्षा परिषदमा आवश्यक बहस चलाउने जानकारी गराएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतवार ०८:२०