सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय सरकारको बेवास्ता

खजुरामा पालिका गौरवका आयोजना निर्माण अलपत्र

पालिकाबाट बजेट विनियोजन भएर काम सुरु भएपछि उत्साहित भएका स्थानीय अहिले निराश बनेका छन् ।

खजुरामा निर्माणाधीन अस्पताल भवन ।

बाँकेको खजुरा गाउँपालिकामा निर्माण सुरु गरिएका पालिकाका गौरवका आयोजना निर्माण अलपत्र परेका छन् ।

पालिकाका गौरवका आयोजनाका रुपमा निर्माण थालिएका १५ शैय्याको अस्पताल, शीत भण्डार, बहुउद्देश्यीय सभा हल लगायत २० वटा योजना निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र परेका छन् ।

२०७८ साल भदौ ३० गते सम्पन्न हुने गरी निर्माण अगाडि बढाइएको शीत भण्डार निर्माण अझै अधुरो रहेको छ । रविना–अभियान–जुगल जेभी तीनकुनेले छ करोड १४ लाख रुपैयाँको लागतमा निर्माणको जिम्मा लिए पनि आयोजना निर्माण हुन सकेको छैन ।

आर्थिक वर्ष २०७७–०७८ मा सुरु भएको १५ शैय्याको अस्पताल, शीत भण्डार, बहुउद्देश्यीय सभा हलको काम हालसम्म सम्पन्न हुन सकेको छैन । सडक र नालीसहितका २० वटा योजना निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र परेका छन् ।

ती योजना समयमै सम्पन्न हुन नसक्दा विकास निर्माणका योजनाप्रति सर्वसाधारणले गरेको आशा निराशामा परिणत भएको छ । पालिकाबाट बजेट विनियोजन भएर काम सुरु भएपछि उत्साहित भएका स्थानीय अहिले निराश बनेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीका अनुसार पालिकामा सञ्चालित अधिकांश गौरवका आयोजनाको निर्माणमा ढिलाइ भएको छ । पालिकाले बढी लागतका योजनालाई गौरवको आयोजनाका रूपमा समावेश गरेको छ ।

‘आर्थिक वर्ष २०७५–०७६ देखिका योजनासमेत निर्माण सम्पन्न नभएको अवस्था छ,’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘निर्माण व्यवसायीले समयमा नै काम नसक्दा निर्माणका लागि आएको पैसा फ्रिज हुने र पालिकालाई अनावश्यक दायित्व बढ्दै गएको छ ।’

पुराना योजना मात्रै नभई चालु आर्थिक वर्षका योजनाको समेत सन्तोषजनक प्रगति देखिएको छैन । चालु आवमा २६ योजना ठेक्का प्रक्रियाबाट सञ्चालन हुने गरी सम्झौता भएकोमा केही योजना कार्यान्वयन भएका छैनन् ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले ठेक्का लिने तर समयमै काम नगर्ने परिपाटी बन्न थालेको भन्दै यसबाट समग्र विकास निर्माण प्रभावित भएको बताए । उनले ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई अबका दिनमा कडाइका साथ कारबाही गरिने बताए ।

विकास निर्माणका काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई छिटो काम अघि बढाउन सचेत गराउँदै पत्राचार गरिएको छ । तत्कालै निर्माण अघि नबढाए खरिद ऐन र प्रचलित कानुन अनुसार कारबाहीको प्रक्रियामा जाने चेतावनी उनले दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार ०९:३२