सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

मोबाइल

पौने एक भएछ रात अहिले खै के भयो के भयो ?
यो कस्तो लत भो नशा नयनको निद्रा नलाग्ने भयो ।
खोज्दै खोज्दिनथेँ हराउन सके सुत्थेँ मजाले बरु ।
यो मोबाइलले मनै लुटिदियो के भन्नु खै के अरु ?

आँखा चिम्म हुँदैन जोड बलले के कान सुन्ला अरू ।
खानै भुल्दछ लठ्ठ मस्त मनले लाग्दैन भोकै बरु ।
एक्लै फिस्स गरेर पागल बनी हाँसी बसी यो चरु ।
यो मोबाइलले म बिग्रिन पुगेँ के भन्नु खै के अरु ?

हेरूँ लाग्छ नहेर्नु खै म कसरी हेर्छन् सबैले अनि ।
आफ्नो छैन भने अनाहक छिटै हेप्छन् अरूले पनि ।।
खोल्नैपर्छ जहाँतहीँ समयको जोगाउँदै आबरु ।
यो मोबाइलले बिरक्तिनँ पुगेँ लेख्तै छु मैले अरू ।।

राम्रा शब्द सुनूँ भनेर कहिले हेरी महात्माहरू ।
केही याम बिताउँदा छल गरी पस्छन् दुरात्माहरू ।।
अर्काे च्यानल आइहाल्छ छिनमै हेरूँ कि अन्तै सरूँ ?
यो मोबाइल भूतझैँ भइदियो बाँकी भनूँ के अरू ?

के साना र वयस्क वृद्ध सबको उस्तै छ पारा यहाँ ।
यो फोस्रो चलभासको भर परी झार्छाैं कि तारा यहाँ ?
साँच्चै हो कलिका र पुष्प बनियो बोक्ने म आफू तरु ।
यो मोबाइलको फसेँ कुलतमा बोलूँ म खै के अरू ?

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १५:३५