सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीबाट एसइईमा ८५ हजार परीक्षार्थी सहभागी

आजदेखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा लुम्बिनी प्रदेशबाट ८५ हजार ४२४ परीक्षार्थी सहभागी भएका छन् । नियमित साधारणतर्फ ८० हजार १६५, प्राविधिक धारतर्फ दुई हजार ९५७ र ग्रेडवृद्धितर्फ दुई हजार ३०२ परीक्षार्थी सहभागी छन् ।

लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका अनुसार एसइईमा प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी रुपन्देहीबाट १८ हजार ७८३ तथा सबैभन्दा कम पूर्वी रुकुमबाट एक हजार ९८ परीक्षार्थी सहभागी छन् भने दाङबाट १३ हजार ४४८ र बाँकेबाट आठ हजार ८८६ विद्यार्थी सहभागी रहेका छन् ।

यस्तै कपिलवस्तुबाट आठ हजार ६९९, बर्दियाबाट सात हजार ६८२, पश्चिम नवलपरासीबाट छ हजार ६२, पाल्पाबाट चार हजार ५४६, गुल्मीबाट चार हजार ७२२, अर्घाखाँचीबाट तीन हजार २७५, रोल्पाबाट चार हजार ५१ र प्यूठानबाट चार हजार १७२ परीक्षार्थी सहभागी भएको निर्देशनालयका सूचना अधिकारी माधव पोखरेलले जानकारी दिए ।

एसइई परीक्षालाई मर्यादित, अनुशासित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न प्रदेशका १२ वटै जिल्लामा ३३४ परीक्षा केन्द्रमा ३३४ केन्द्राध्यक्ष र ५७७ सहायक केन्द्राध्यक्ष खटाइएको प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निर्देशक यमबहादुर केसीले जानकारी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार ११:५८